चिनियाँ अदालतको आदेश: मेलम्चीमा डुबेको डेढ अर्ब रुपैयाँ हिमालयन र बीओकेले फिर्ता पाउने



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा फसेको पैसा हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बिओके)ले फिर्ता पाउने भएका छन् ।

चीनको हेनान प्रदेशको उच्च अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश दिएको हो ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा चीनको चाइना रेल्वेले पाएको थियो । जसको ग्यारेन्टी चीनको चाइना कन्सट्रक्सन बैंकले ग्यारेन्टी दिएको थियो । त्यसको काउन्टर ग्यारेन्टी नेपालका हिमालयन बैंक र बिओके बसेका थिए ।

चाइना रेल्वेले सम्झौताअनुसार मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीवापतको रकम नेपाली बैंकले पाएका थिएनन् ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले चीनको उच्च अदालतबाट मुद्दा जितेको जानकारी दिए ।

‘हामीले चीनमा तल्लो तहबाट नै काउन्टर ग्यारेन्टीवापतको पैसा फिर्ता पाउनको लागि मुद्दा जितेका थियौं, सोमबारमात्रै माथिल्लो अदालतबाट समेत जितेका छौं, अब पैसा फिर्ता आउने छ,’ राणाले भने ।

यो फैसलासंगै बैंकले काउन्टर ग्यारेन्टीवापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।

हिमालयन बैंकले भने ६६ लाख डलर ग्यारेन्टी दिएको थियो । चाइना रेल्वेले मेलम्चीसँगको २०६९ मा तोडेपछि राष्ट्र बैंकले हिमालयन तथा बिओकेबाट पैसा ‘एअरमार्क’ गरेर राखेको थियो ।

चाइना रेलवे १५ ब्युरोले ठेक्का तोडेपछि मेलम्ची आयोजनाले काठमाडौं जिल्ला अदालतमा ग्यारेन्टी रकमको दाबी गर्दै हिमालयन तथा बिओकलाई बिपक्षी बनाएर मुद्दा दायर गरेको थियो ।

राष्ट्र बैंकले हिमालयन र बिओकेको एअरमार्क गरेर राखेको पैसा भने मेलम्ची खानेपानी आयोजनालाई फिर्ता दिएको थियो ।

दुबै बैंकले आफ्नो नाफाबाट उक्त रकम आयोजनालाई भुक्तानी गरिसकेका छन् । र, सो रकम बराबर प्रोभिजन पनि गरिसकेका छन् ।

मुद्दा जितेसँगै दुबै बैंकको नाफा बढ्ने छ र लगानीकर्ताको लाभांश पनि बढ्ने छ ।

यस्तो थियो घटना

ठेकेदार चाइना रेल्वे ग्रुप अफ कम्पनीले भागेर चीनको अदालतमा मुद्दा दायर गरेको थियो । ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीनस्थित न्यायालयले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाडूलाई र हिमालयन दिन नपर्ने आदेश जारी गरेको थियो ।

मेलम्ची आयोजनाले भने काउन्टर ग्यारेन्टी बस्ने दुई बैंकले रकम तिर्नुपर्ने दाबी गरेको थियो । तर, चाइना रेल्वेबाट पैसा नआएकाले आयोजनालाई रकम तिर्नू नपर्ने भन्दै हिमालयन बैंक र बैंक अफ काठमाण्डूले पुनरावेदन अदालत पाटनमा मेलम्ची आयोजनाको दाबी विरुद्ध ‘निषेधाज्ञा’ को माग गर्दै पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गराएका थिए ।

तर, अदालतले चिनियाँ अदालतबाट मुद्दाको अन्तिम अन्तिम टुङगो नलाग्दासम्म आयोजनाले क्षतिपूर्ति दाबी गरेको रकम ‘एयरमार्क’ लगाएर राष्ट्र बैंकमा राख्न आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार दुबै बैंकले २०६९ माघमा काउन्टर ग्यारेन्टी बापतको १ अर्ब ५१ करोड रुपैयाँ ‘एयरमार्क’ गरी राष्ट्र बैंकमा जम्मा गरिसकेका छन् ।

पुनरावेदन अदालतको आदेश चित्त नबुझेपछि बैंकहरुले सर्बोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्बोच्च अदालतका न्यायाधीशद्धय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको सयुक्त इजलासले दुबै बैंकले हालेको रिट २०७५ मा खारेज हुने फैसला गरेका थिए ।

२०७५ फागुन ३ गते चिनियाँ अदालतले यो मुद्दाको फैसला गर्ने कार्यतालिका थियो । दुबै बैंकले कानूनी परामर्शताता चीन पठाएका थिए ।

अदालतमा उपस्थित चाइना रेल्वेका प्रतिनिधले उक्र रकम तिर्न आफूहरु तयार भएको बताएका थिए । त्यसपछि नेपाली बैंकको रकम उठ्ने सुनिश्चिता भएको हो ।

कुटनीतिक पहल पनि असफ

मुद्दा बिचाराधीन अवस्थामा रहेकै बेला नेपालका तर्फबाट उच्चस्तरीय कुटनीतिक पहल थालिएको थियो । अदालती प्रक्रियामार्फत भन्दा पनि कुटनीतिक पहलमार्फत रकम उठाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिँदै आएपछि परराष्ट्र मन्त्रालय र राष्ट्र बैंकले पनि रकम फिर्ता ल्याउन कुटनीतिक पहल गरेका थिए ।

चीनको औपचारिक भ्रमणका क्रममा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले मेलम्ची आयोजनामा काउन्टर ग्यारेन्टी बसेका नेपाली बैंकले भुक्तानी नपाएको भन्दै चिनियाँ अर्थमन्त्री लाउ ब्रिज र वाणिज्य मन्त्री गाओ होचेङसँग ‘कुटनीतिक हस्तक्षेप’ गर्न आग्रह गरेका थिए ।

चीनका अर्थमन्त्री र वाणिज्यमन्त्री दुबैले यस मुद्दालाई गंभिरताका साथ लिँदै नेपालस्थित चिनियाँ दुतावासमार्फत जानकारी लिएर आवश्कय कदम चाल्ने बताएका थिए ।

नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. युवराज खतिवडाले आयोजनाको मुख्य ग्यारेन्टी बसेको चाइना कन्स्ट्रक्सन्स बैंकले भुक्तानी नगरेको भन्दै चीनको केन्द्रिय बैंकका गभर्नरको ध्यानाकर्षण गराएका थिए ।

तर, यो कुटनीतिक पहल पनि सफल भएको थिएन ।

काउन्टर ग्यारेन्टीको रकम फिर्ता नपाएपछि नेपाल बैंकर्स संघले चाइना कन्स्ट्रक्सन्स बैंक र चाइना रेल्वे कम्पनीका लागि कुनैपनि नेपाली वाणिज्य बैंकहरु ग्यारेन्टी नबस्ने निर्णयसमेत गरिसकेको छ ।

आयोजना र ठेकेदारबीच के थियो सम्झौता ?

आयोजना विकास समिति र चाइना रेल्वेबीच सन् २००९ को फेब्रुअरीमा भएको सम्झौतामा सन् २०१३ को सेप्टेम्बरसम्ममा मेलम्चीको रिवर्मागदेखि राजधानीको सुन्दरीजलसम्म २६.५ किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने उल्लेख छ । तर, सम्झौताअनुसार निर्माण सम्पन्न गर्नुपर्ने समयसम्म ठेकेदारले जम्मा ६ किलोमिटर मात्रै सुरुङ खनेको थियो ।

समितिले सन् २०१५ सम्मका लागि समययावधि थप गरिदिएको थियो । तर, उसले एकतर्फी ठेक्का तोडेको पत्राचार गरी स्वदेश फर्किएको विकास समितिका अधिकारीहरु बताउँछन् ।

सम्झौता भंगआ-आफ्नै दाबी

बन्द हड्तालले काम गर्न नपाएको, सम्झौताअनुसार भुक्तानी दिन ढिलो गरेको, समयमा साइड उपलब्ध नगराएको बताउँदै आएको ठेकेदार कम्पनी चाइना रेल्वेले नेपाल सरकारले नै सम्झौता तोडेको दाबी गर्दै चिनियाँ अदालतमा मुद्दा दायर गरेको छ ।

यता आयोजना विकास समिति भने काम गर्न नसकेपछि कालोसूचीमा पर्ने डरले ठेकेदार कम्पनीले हतार–हतार एकतर्फीरुपमा ठेक्का सम्झौता तोडेको दाबी छ ।

आयोजनाको मूख्य लगानीकर्ता एसियाली विकास बैंकले पनि ठेकेदारले काम सुस्त गरेको भन्दै समयमै सम्पन्न गर्न पटक-पटक आग्रह गरेको थियो ।

कसको लगानी कति ?

आयोजनाको मुख्य लगानीकर्ता एशयाली विकास बैंक (एडीबी) हो । एडीबीको १३ करोड ७० लाख, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)को १ करोड ८० लाख, जापानकै अन्तराष्ट्रिय सहयोग बैंकले ४ करोड ७५ लाख, तेल निर्यातक राष्ट्रहरुको संगठन (ओकेप) को १ करोड ३६ ला, नर्डिक विकास फन्डको १ करोड ४ लाख र नेपाल सरकारको ९ करोड ६ लाख ४० हजार अमेरीकी डलर लगानी रहेको छ ।


क्लिकमान्डु