अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन २ बजे बुझाइने



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठिन समितिले शुक्रबार सभामुखमार्फत् संसद समक्ष प्रतिवेदन बुझाउने भएको छ । समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले आज दिउँसो २ बजे प्रतिवेदन बुझाउन लागिएको जानकारी दिए ।

अर्थमन्त्रीको रुपमा बजेट निर्माण अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको नीतिमा चलखेल गरेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन भएको थियो । उक्त समितिले आज छानबिनमाथिको प्रतिवेदन संसदमा बुझाउन लागेको हो ।

जनार्दन शर्माले बजेट निर्माणको अघिल्लो दिन जेठ १४ गते राती अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको आरोप लागेको थियो । अर्थमन्त्रालयले सूचना हक अन्तर्गत सीसीटिभी हेर्न माग भएको निवेदनमा डिलिट भएको पत्र दिएको थियो ।

त्यसपछि भने प्रतिनिधिसभामा भएको दबाबका कारण अर्थमन्त्री शर्माले असार २३ गते पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभाले शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

१० दिनको समयभित्र संसदीय समितिले छानबिन प्रतिवेदन दिनुपर्ने थियो । त्यसमा थपिएको ७ दिनको समय शुक्रबार सकिन लागेको छ ।

समितिको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन लेखनको काम सम्पन्न गरिसकेको र सभामुख अग्निप्रसाद सापकोटालाई आज बुझाउँदैछ ।

१७ दिन लगाएर समितिले गरेको अध्ययनमा शर्मामाथि लागेको आरोप पुष्टि प्रमाण भेटाउन सकेको छैन । समितिले शर्मालाई सफाइ दिने गरेर प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको स्रोतको भनाइ छ ।

प्रतिवेदनमा एमालेका सदस्यहरुले भने फरक मत राखेका छन् । समितिले एमालेको फरक मत सहितको प्रतिवेदन सभामुखलाई बुझाउने छ ।

संसदीय समितिले जनार्दन शर्मा सहित बजेटमा निर्माणमा संलग्न भएका अर्थसचिव,राजस्व सचिव सहित उच्च अधिकारीसँग बयान लिएको थियो । जसमा सबैले अनाधिकृत व्यक्ति संलग्न भएको कुरा स्वीकार गरेका थिएनन् ।

यस्तै, समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेज समेत माग गरेको थियो । यस्तै, समितिले गृहमन्त्रालयलाई सिंहदरबार छिर्ने दुई गेटको सीसीटीभी फुटेज समेत मागेको थियो । १७ दिनको अध्ययनको क्रममा शर्मा विरुद्ध प्रमाण नभेटिएपछि उनले सफाइ पाएको समितिका एक सदस्यले बताए ।


क्लिकमान्डु