निक्षेप आकर्षित गर्न बैंकहरुको नयाँ स्किम, बीमा सुविधासहित १० गुणासम्मको प्रतिफल



काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव भएका बेला वाणिज्य बैंकहरुले साना निक्षेपकर्ताहरुलाई आकर्षित गर्न अनेकन अफरहरु सार्वजनिक गर्न थालेका छन् ।

विगतमा अत्यधिक कर्जा प्रवाहका कारण अहिले ऋण दिन नसक्ने अवस्थामा पुगेपछि बैंकहरुले निक्षेप संकलनमा नयाँ तरिका अपनाएका हुन् ।

छरिएर रहेका साना निक्षेपलाई एकत्रित गर्दै दीर्घकालमा आकर्षक प्रतिफल दिने भन्दै उनीहरुले दीर्घकालीन मुद्दति निक्षेपका योजना सार्वजनिक गर्न प्रतिष्पर्धा गरिरहेका छन् ।

मुद्दति निक्षेपमा ब्याजदरसँगै निःशुल्क डेबिट तथा क्रेडिट कार्डको सुविधाका साथै बीमाको सुविधा समेत समावेश गरेका छन् ।

हालसम्म यस्ता योजना गर्ने बैंकमा एनआईसी एशिया, ग्लोबल आइएमई, सिभिल, कुमारी, सानिमा बैंक छन् । यी बैंकहरुले अवधिक अनुसार २ देखि १० गुणासम्म प्रतिफल दिने बताइरहेका छन् ।

यस्ता योजनाले दीर्घकालीन बचत गर्न चाहनेहरुलाई आकर्षित गर्न सकिने उनीहरुको विश्वास छ । यस प्रकारको योजनाले स–सानो पुँजी प्रणालीमा आउने अपेक्षा छ ।

‘बैंकहरुले १ वर्षे अवधिको निक्षेप लिएर १५ वर्षका लागि ऋण दिइरहेका छौं,’ सिभिल बैंकका सीइओ सुनिल पोखरेलले भने, ‘त्यस्तो खालको मिसम्याचलाई कम गर्न यसप्रकारको योजना आवश्यक छ ।’

यसप्रकारको योजनाले बीमाले दिनेभन्दा बढी लाभ दिने उनको दाबी छ । खासगरी बालबालिकाको भविष्यलाई हेरेर गरिने बचतमा यसले फाइदा दिने उनको भनाइ छ ।

‘अहिले ५ लाख रुपैयाँ राख्यो भने ६ वर्षमा पछि १० लाख रुपैयाँ हुन्छ भने बचतकर्ताहरु आकर्षित हुन सक्छन्,’ उनले भने ।

एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने पनि यो योजना सबैका लागि उपयोगी हुने बताउँछन् । उनले बैंकहरुले यसप्रकारका विशिष्ट मुद्दती खाता योजना ल्याउन लागेको बताउँछन् ।

‘विशिष्ट प्रकारको मुद्दति खाता हो, जसमा सर्वाधिक ब्याजदर पाइन्छ, तोकिएको अवधि पूरा भएपछि १० गुणासम्म प्रतिफल पाइन्छ,’ उनले भने ।

कुन बैंकको कस्तो छ योजना

एनआइसी एशिया बैंक
‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’मा सहभागी हुने ग्राहकले ६ वर्ष ४ महिना २५ दिनमा दोब्बर, १० वर्ष २ महिना १४ दिनमा तीन गुणा, १२ वर्ष ११ महिना २ दिनमा चार गुणा, १५ वर्ष १३ दिनमा पाँच गुणा रकम उपलब्ध गराउने अफर ल्याएको छ ।

साथै, १६ वर्ष ९ महिना ६ दिनमा ६ गुणा, १८ वर्ष २ महिना २४ दिनमा ७ गुणा, १९ वर्ष ६ महिना १ दिनमा ८ गुणा, २० वर्ष ७ महिना १५ दिनम ९ गुणा, २१ वर्ष ७ महिना १७ दिनमा १० गुणा रकम फिर्ता पाउने बैंकको भनाइ छ ।

बैंकको योजनाबाट विशेष गरी विप्रेषण आर्जक र उनीहरूका परिवारले बढी फाइदा पाउने बैंकको दाबी छ । सामान्य व्यक्तिगत बचत खाता धारकहरूले ६ वर्ष ४ महिनामा दोब्बर रकम पाउँदा रेमिट्यान्स खाता हुनेले ५ वर्ष १० महिना १४ दिनमै दोब्बर रकम पाउने बैंकको अफरमा उल्लेख छ ।

विप्रेषण आर्जकहरूले ९ वर्ष ४ महिना १० दिनमा तीन गुणा रकम पाउँदा १९ वर्ष १० महिना २ दिनमा १० गुणा रकम पाउने बैंकको दाबी छ ।

बैंकले व्यक्तिगत र रेमिट्यान्स आर्जकका लागि मात्र नभइ यो योजना संस्थागत निक्षेपकर्तालाई समेत लक्षित गरेको छ ।

संस्थागत निक्षेपमा ७ वर्ष २ महिना २७ दिनमा दोब्बर, ११ वर्ष ८ महिना ९ दिनमा तीन गुणा, १४ वर्ष १० महिना २९ दिनमा चार गुणा हुँदै २५ वर्ष ४ महिना २३ दिनमा १० गुणा निक्षेप रकम फिर्ता हुने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकम तथा सो अवधिसम्म पाकेकको ब्याज रकमको ९० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्ने व्यवस्था रहेको छ । यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकहरुको अत्यन्त उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ ।

यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यस्तो खाता १० हजारमै खोल्न सकिने छ । बैंकका अनुसार यो ४ जनालाई ५ वर्षसम्म ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत योजना हो । बीमामा सहभागी हुनेले ४० लाखसम्मको घातक रोग बीमा, ४० लाख सम्म्को दुर्घटना बीमा, ४ लाख सम्मको औषधी उपचार बीमा (ओपीडीमा ८० हजार र अस्पताल भर्ना खर्च ३ लाख २० हजार) सम्मको सुविधा पाउन सकिने छ ।

यो योजनामा सहभागी हुँदा कर्जा सम्बन्धी ३ वटा फाइदा रहेको छ । तनि वटा फाइदा छन् । जसमा ब्याजदरमा विशेष सहुलियत, प्रशासनिक शुल्कमा विशेष सहुलियत र पूर्व स्वीकृत कर्जा सुुविधा छ ।

यो योजनामा सहभागी हुनेले ५ लाखसम्मको क्रेडिट कार्ड निःशुल्क पाउनेछन् भने ५ वर्षसम्म निःशुल्क डेबिट कार्य÷मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कसनै पनि एटिएमबाट निःशुल्क रकम निकाल् सकिने सुविधा रहेको छ । यस्तै स्वीप इन स्वीप आउन सुविधा साथै अन्य २४ सर्वश्रेष्ठ योजना रहेको बैंकले जनाएको छ ।

सिभिल बैंक

सिभिल बैंकले पनि आकर्षक मुद्दती योजनाहरु ‘दोब्बर प्लस र तेब्बर प्लस’ ल्याएको छ । यी मुद्दति योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो कमाइलाई तोकिएको अवधिसम्म जम्मा गर्दा दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा पाउने बैंकको दाबी छ ।
यस योजनामा सहभागी हुनेहरुले दश लाखसम्मको जीवन बीमा सुबिधा र दश लाखको दुर्घटना बीमा सुबिधा पाउनेछन् । ६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार मुद्दती अवधिकोबीचमा कुनै कारणबस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण लिन सकिने छ ।

कुमारी बैंक
कुमारी बैंकले पनि व्यक्तिगत खातावाललाई लक्षित गर्दै कुमारी धनवृद्धि मुद्दति योजना ल्याएको छ । १० गुणासम्म प्रतिफल पाउन सक्ने बैंकले जनाएको छ । निक्षेपकर्ताले जम्मा गरेको सावाँ रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्म प्रतिफलप्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।

५ वर्ष १० महिना २५ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी, १० वर्ष २ महिना १६ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको तेब्बर, १२ वर्ष ११ महिना ९ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ४ गुणा र २१ वर्ष ७ महिना १८ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको १० गुणासम्म प्रतिफल पाउनेछन् । समयावधि सकिएपछि तोकिएको समयावधि सकिनु अघि रकम आवश्यक परेको खण्डमा मुद्दति निक्षेप कर्जा योजना समेत लिन सकिने छ ।

ग्लोबल आईएमई
ग्लोबल आइएमई बैंक पनि मुद्दति निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने ‘ग्लोबल आईएमई चक्रवर्ती मुद्दति योजना’ ल्याएको छ ।

ठूला–ठूला सपनाको साना–साना आधार, साना–साना बचतले गरौ ठूलो सपना साकार भन्ने नाराका साथ बैंकले यस्तो योजना ल्याएको छ । बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयभित्र मुद्दति निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ बढी हुने बैंकको तर्क छ ।

यस योजनामा निर्धारित ब्याजदरका लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुने र मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार हुनुपर्ने छ । ६ वर्ष ८ महिना (८० महिना)मा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दुई गुणा भुक्तानी, १० वर्ष ७ महिना (१२७ महिना) मा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको तीन गुणा, १३ वर्ष ४ महिना (१६० महिना) मा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ४ गुणासम्म प्रतिफल पाउनेछन् ।

सानिमा बैंक
सानिमा बैंकले सानिमा बम्पर धमाका मुद्दति खातामा न्यूनतम अवधिमा ५ गुणासमम प्रतिफल दिने योजना ल्याएको छ । निक्षेपकर्ताले जम्मा गरेको साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र ५ गुणासम्म प्रतिफल दिने योजना ल्याएको हो ।
बैंकले सानिमा रेमिट्यान्स धमाका मुद्दती खाता र सानिमा धमाका मुद्दती खातामा ५ गुणासम्म प्रतिफल दिने योजना ल्याएको छ ।
यसमा न्यूनतम मौज्दात ५० हजार हुनुपर्नेछ । रेमिट्यान्स धमाका मुद्दती खाता ६ वर्ष ७९ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दुई गुणा, ९ वर्ष १८ महिनामा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको तीन गुणा, ११ वर्ष ५८ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ४ गुणा र १३ वर्ष ४५ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ५ गुणासम्म सम्म प्रतिफल पाउनेछन् ।

यस्तै सानिमा धमाका मुद्दति खाता योजनामा ६ वर्ष ३२ दिन दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दुई गुणा, १० वर्ष १ महिनामा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको तीन गुणा, १२ वर्ष ६३ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ४ गुणा र १४ वर्ष ४५ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको ५ गुणासम्म प्रतिफल पाउनेछन् ।

यो योजनाका धेरै विशेषता पनि रहेका छन् । यो योजनामा सहभागी हुनेले मासिक ब्याज पाउनेछनु् । यस्तै परिपक्क भएपछि एकमुष्ट रकम पाउने छन् भने निक्षेपको ९० प्रतिशतसम्म कर्जा पाउनछन् । साथै, बैंकले निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउनेछ ।


सोभित थपलिया