आइएमई मोटर्सले हस्तान्तरण गर्याे ८ वटा विपद् सामुहिक उद्वार भेहिकल



काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई ८ वटा विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेकाे छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजना कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनु अघिबाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको विपद् उद्वार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्वार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने बताए ।

अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ । यसमा रहेको उपकरणले मिनी अस्पताल नै बनाएको छ । भेहिकलहरूमा मिनी/अस्पताल प्रकारका उपकरणहरूले उपलब्ध छन् ।

एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन् ।


क्लिकमान्डु