मोबाइल र मोटरसाइकलमा थप कडाई, ३०० डलरभन्दा महँगो मोबाइल आयात गर्न रोक



काठमाडौं । सरकारले मोबाइल र मोटरसाइकलको आयातमा थप कडाइ गरेको छ ।

गत, वैशाख १३ गते सरकारले ६०० अमेरिकी डलरभन्दा महँगो मोबाइल फोन र २५० सीसीभन्दाबढी क्षमताका मोटरसाइकल आयात गर्न प्रतिबन्ध लगाएको थियो ।

असार ३१ गते राजपत्रमा प्रकाशित सूचनामा भने ३०० अमेरिकी डलर भन्दा बढी मूल्यका मोबाइल फोन र १५० सीसी भन्दा बढी क्षमताको मोटरसाइकल आयातमा रोक लगाइएको छ ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि विलाशी वस्तुको आयातमा थप कडाइ गर्ने निष्कर्षमा सरकार पुगेको हो ।

गत वैशाख १३ गतेदेखि १० वस्तु आयातमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्म निरन्तरता दिइएको छ ।

मोबाइल र मोटरसाइकलमा कडाइ गरेको सरकारले साउन १ गतेभन्दाअघि खुलेका प्रतितपत्र (एलसी) का आधारमा भने आयात गर्न दिने छ ।

साउन १ गतेभन्दा अगाडि ३०० डलरदेखि ६०० अमेरिकी डलरसम्म मोबाइल फोन आयात गर्न भन्दै प्रतितपत्र (एलसी ) खोलेका वस्तुमा भने प्रतिबन्ध लाग्ने छैन ।

यस्तै, साउन १ गतेभन्दाअघि १५० देखि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न भन्दै प्रतितपत्र (एलसी ) खोलेका वस्तुमा पनि प्रतिबन्ध लाग्ने छैन ।

तर, साउन १ गतेदेखि भने ३०० डलरभन्दा महँगा फोन र १५० सीसीभन्दाबढी क्षमताको मोटरसाइकल आयात गर्न एलसी खुल्ने छैन ।

यसअघि आपूर्ति मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनका साथै सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), मोबाइल सेट (६०० अमेरिकी डलर भन्दा बढी मूल्यका) ,रंगिन टेलिभिजन (३२ इञ्चभन्दामाथि) जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन बाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरू र तास आयात गर्न असार मसान्तसम्म प्रतिबन्ध लगाएको थियो ।

यसपटक माेबाइल र मोटरसाइकल बाहेकका अन्य वस्तुमा भने कुनै परिवर्तन गरिएको छैन ।


क्लिकमान्डु