एफएमसीजी वस्तु बिक्री गर्ने ४ कम्पनीले एक वर्षमा गरे साढे ४० अर्बको कारोबार



काठमाडौं । दैनिक उपभोग्य वस्तु अर्थात् फास्ट-मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) वस्तु बेच्ने ४ कम्पनीले एक वर्षमै साढे ४० अर्बरुपैयाँको कारोबार गरेको छ ।

एफएमसीजी वस्तु अन्तर्गत दैनिक उपभोग्य वस्तुहरु पर्छन । जसमा बिस्कुट, भुजिया, चकलेट, ट्यालेटरिज, वेभरेज, तरकारी, प्याकेज्ड फूड, कस्मेटिक, ओभर द काउन्टर ड्रग्सलगायतका वस्तु पर्छन् ।

यी सामान बिक्री गर्ने ४ कम्पनीले सन् २०२१ मा ४० अर्ब ५७ करोड ७५ लाख रुपैयाँको कारोबार गरेका हुन् ।

नेपाली बजारमा दर्जनभन्दा बढी एफएमसी कम्पनीहरू छन् । उक्त कम्पनीहरू आन्तरिक उत्पादनसँगै आयात गरेर बजारमा वस्तु बिक्री वितरण गर्दै आएका छन् ।

त्यसमध्ये रेटिङ एजेन्सी नेपालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एफएमसीमा आबद्ध ४ कम्पनीले मात्रै सन् २०२१ मा उच्च रुपमा कारोबार गरेका छन् ।

प्राप्त तथ्याङ्कअनुसार बजारमा ब्रिटानिया ब्रान्डका विभिन्न वस्तु बिक्री गर्ने युनाइटेड डिस्ट्रिब्यूटर नेपाल, डाबर नेपाल, काठमाडौं मार्केटिङ र ट्रेडिङ हाउस लिमिटेड र बोटलर्स नेपालले मात्रै ४० अर्ब बढीको कारोबार गरेका छन् ।

युनाइटेड डिस्ट्रिब्यूटर नेपाल प्रालि
ब्रिटानियालगायत अन्य विभिन्न ब्रान्डका खाद्य वस्तु बिक्री गर्ने युनाइटेड डिस्ट्रिब्यूटर नेपाल प्रालिले एकै वर्ष १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

बजारमा बिस्कुट, भुजा, हर्लिक्स, रेडबुल, केलग्सलगायत अन्य विभिन्न ब्रान्डका वस्तु बिक्री गर्दै आएको कम्पनीले सन् २०२१ मा १२ अर्ब २३ करोड १० लाख रुपैयाँ बराबरको खाद्य वस्तुको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२० मा ९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०१९ मा ९ अर्ब ३३ करोड ४० लाख रुपैयाँ बराबर कारोबार गरेको थियो ।

साथै, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा ७ अर्ब २६ करोड ६० लाखको कारोबार हुने जनाएको छ ।

नेपालका लागि केन्द्रीय कार्यालय खिचापोखरीमा रहेको यस कम्पनीले विभिन्न देशबाट खाद्य वस्तु आयात गरी बिक्री वितरण गर्दै आएका छन् । जसमा १२ वटा कम्पनीले उत्पादन गरेको ७० वटा ब्रान्डका १३ सय ५० भन्दा बढी प्रकारमा खाद्य वस्तु बिक्री वितरण गर्दै आएका छन् ।

विशाल ग्रुप अफ कम्पनीअन्तर्गत सञ्चालनमा रहेको युनाइटेड ट्रेडर्सले विगत २ दशकदेखि नेपालमा निरन्तर खाद्य वस्तु आयात गरी उपभोक्तालाई बिक्री गर्दै आएको छ

अनुज अग्रवाल अध्यक्ष र विवेक अग्रवाल प्रबन्ध निर्देशक रहेको यस कम्पनीले बारा, पर्सा र काठमाडौंमा गरी तीन ठाउँबाट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

६५० भन्दा बढी शाखा रहेको यस कम्पनीको वस्तु देशभर नै बिक्री वितरण हुने गरेको कम्पनीको भनाइ छ ।

कम्पनीले विश्वव्यापी रुपमा पोक्टर एण्ड ग्याम्बल, ग्ल्याक्सोस्मिथक्लिन, ब्रिटानिया उद्योग, गुजरात को–अपरेटिभ मिल्क मार्केटिङ ब्रान्डका वस्तु आयात तथा वितरण गर्दै आएका छन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई अल्पकालिन कर्जाका लागि ७ अर्ब १२ करोड रुपैयाँको सुविधा दिएको छ ।

डाबर नेपाल प्रालि
डाबर ब्रान्डका विभिन्न जुस तथा हेल्थकेयरलगायत विभिन्न वस्तु बिक्री गर्दै आएको डाबर नेपालले सन् २०२१ मा १० अर्ब बढीको कारोबार गरेको छ । कोभिड-१९ का कारण खस्किएको कम्पनीले सन् २०२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँ कारोबार गरेको छ ।

सन् २०२० मा कोभिडले गर्दा ८ अर्ब ९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१८ मा १० अर्ब १ करोड र सन् २०१९ मा १० अर्ब २५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

पहिलो चरणको कोरोना महामारीमा घरमा बढी उपभोग वस्तुको माग भएकाले राम्रो आम्दानी गर्न सफल भएको कम्पनीको भनाइ छ । सो अवधिमा बढी खानाको प्रकार, जुस, नन-फुडको प्रकार र हेल्थ र ओरल केयर क्षेत्रमा राम्रो सुधार गरेको हो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को पहिलो अर्धवार्षिकमा ७ अर्ब बराबरको आम्दानी गर्ने अनुमान गरेको छ ।

डाबर इन्टरनेशल लिमिटेड अन्तर्गतको डाबर नेपालको सेयर ९७.५० प्रतिशत रहेको छ । डाबर भारत लिमिटेडको पूर्ण स्वामित्वमा रहेको डाबर इन्टरनेशनल सहायक कम्पनीको रुपमा रहेको छ ।

भारतको उपभोग्य वस्तुको सबैभन्दा अग्रणी स्थानमा रहेको डाबर कम्पनीले ३१ मार्च २०२१ (१२ महिनाको अवधि) मा ९५ अर्ब भारु बराबरको वस्तु बिक्री वितरण गरेको कम्पनीको भनाइ छ ।

१३६ वर्षको अनुभव र गुणस्तरीय उपभोग्य वस्तु उत्पादन गर्दै आएको डाबर एक आयुर्वेदिक वस्तु उत्पादनमा पहिलो स्थानमा रहेको छ । विश्वका सयभन्दा बढी देशमा आफ्नो बजार स्थापित भएको कम्पनीले २५० भन्दा बढी हर्बल/आयुर्वेदिक वस्तु उत्पादन गर्दै आएको छ ।

त्यसैगरी, ३० वर्षदेखि नेपालमा उत्पादन र व्यापार गर्दै आएको डाबरको नेपालभर ३ सयभन्दा बढी विक्रेता र १ लाखभन्दा बढी खुद्रा व्यवसाय छ ।

डाबर कम्पनीले उपभोक्ताका लागि फलफूलको जुस, च्यावानप्रास, ग्लुकोज, टुथ पेस्ट, हेयर तेल र टाइजेस्टिभ वस्तु (हजमोला), मह आदि उत्पादन गरी विक्री वितरण गर्दै आएको छ । उक्त ब्रान्डका वस्तु स्थानीयदेखि विश्व बजारमा ब्रान्डको रुपम परिचित रहेको कम्पनीको दाबी छ ।

कम्पनीले ‘रियल’ ब्रान्डका जुससँगै करिब ४० वटा प्रकारका रियल, एक्टिभ र ब्रस्ट जुस पनि उत्पादन गर्दै आएको छ ।

व्यक्तिगत केयर क्षेत्रमा बाटिका ब्रान्डका वस्तु, स्वास्थ्य क्षेत्रमा डाबर ब्रान्डका डाइजेस्टिभ वस्तु हजमोला, चकलेट र ट्याबलेट उत्पादन गर्दै आएको छ ।

डाबर नेपालले आन्तरिक बजारमा मात्रै नभएर उल्लेख्य निर्यात गर्दै आएको छ । कम्पनीले वार्षिक ६ अर्बभन्दा बढी रकम बराबरको निर्यात गर्दै आएको छ ।

नेपालको वैदेशिक व्यापारमा ठूलो योगदान रहेको डाबर नेपाल एक प्रमुख निर्यातकर्ता रुपमा रहेको छ । सन् २०२१ मा डाबरको मात्रै ६ अर्ब ८५ करोड २० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । जुन नेपालले सन् २०२० मा निर्यात गरेको वस्तुको ४.९ प्रतिशत हिस्सा हो ।

कम्पनीका अनुसार सन् २०२१ मा ३१ प्रतिशतले आफ्नो निर्यात बढेको जनाएको छ । डाबर नेपालले सन् २०२१ मा मात्रै ६० प्रतिशत निर्यातबाट आम्दानी गरेको उल्लेख गरेको छ ।

कम्पनीको खानाको प्रकारबाट ७० प्रशितत आम्दानी भएको छ भने बाँकी व्यक्तिगत केयर, हेल्थ केयर, डाइजेस्टिभबाट आम्दानी गरेको छ । कम्पनीले मुख्य जुस र डाइजेस्टिभ वस्तु निर्यात गर्दै आएको छ ।

त्यस्तै, रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ६ अर्ब ६० करोड रुपैयाँ अल्पकालिन कर्जाका लागि रेटिङगरेको छ ।

बोटलर्स नेपाल
नेपालमा कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले उत्पादन तथा बिक्री गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेड कम्पनीले सन् २०२१ मा १४ अर्ब ७५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीअनुसार बोटलर्स नेपाल तराईले सन् ६ अर्ब ३१ करोड ७० लाख रुपैयाँ र बोटलर्स नेपालले ८ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमै ८ अर्ब २५ करोड १० लाख रुपैयाँको कारोबार गर्ने अनुमान गरेको छ ।
बोटलर्स नेपाल बालाजुले २०१९ मा ९ अर्ब ६८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२० मा कोरोनाका कारण करिब ३ अर्ब रुपैयाँले कम भइ ६ अर्ब ९९ करोड ४० लाख रुपैयाँ कारोबार गरेको थियो ।

त्यस्तै बोटलर्स नेपाल तराईले सन् २०१९ मा ५ अर्ब ८१ करोड १० लाख रुपैयाँ र सन् २०२० मा ४ अर्ब ८४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

इक्राले गरेको रेटिङअनुसार कम्पनीले १२ देखि १५ महिनामा कोरोनाको असरलाई कम गर्दै व्यापार रिबाउन्स भइरहेको जनाएको छ । बोटलर्स नेपाल तराईले ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ र बोटलर्स नेपालले ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँ गरी ६ अर्ब ६४ करोड ६० लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

काठमाडौं मार्केटिङ र ट्रेडिङ हाउस प्रालि
बिकानो ब्रान्डको भुजियालगायत अन्य एफएमसीजी वस्तु बेच्ने काठमाडौं मार्केटिङ र ट्रेडिङ हाउस प्रालिले सन् २०२१ मा २ अर्ब ८९ करोड २५ लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा २ अर्ब ६४ करोड १५ लाख रुपैयाँको र सन् २०१९ मा २ अर्ब ५१ करोड २९ लाख रुपैयाँको कारोबार गरेको थियो ।

विभिन्न देशबाट खाद्यान्न, टोइलेट्रिज, कस्मेटिक्स, ओटीसीको मेडिकेसन विदेशी ब्रान्डको वस्तु, कोलगेट–पामोलिभ, रिकिट बेन्कीसर, बिकानो र टिफीनी ब्रान्डको फास्टु मुभिङ कन्जुमर वस्तु आयात गरी बिक्री वितरण गर्दै आएको छ ।

बल्लभ राज सिग्देलको ३६ प्रतिशत, विजय राज सिग्देलको १५ प्रतिशत र समिर विक्रम थापाको ४९ प्रतिशत सेयर रहेको कम्पनीलाई इक्रा नेपालले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ६ करोड रुपैयाँको रेटिङ गरेको छ ।


अरिष्मा मोक्तान