कोरोना बीमा गर्ने ३७ हजार बीमितको ६ अर्ब १६ करोड भुक्तानी भएनः महालेखापरीक्षक कार्यालय
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले कोरोना बीमा गरेका बीमितमध्ये ३७ हजार १ जनाले भुक्तानी पाउन नसकेको निष्कर्ष निकालेको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनको सारांशअनुसार सो संख्याका बीमितले ६ अर्ब १६ करोड ६२ लाख भुक्तानी पाएका छैनन् ।
कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको समयमा बीमा समितिले २०७७ जेठदेखि महामारीको बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यस प्रयोजनका लागि बीमा समितिले कोरोना बीमा मापदण्ड, २०७७ जारी भएको थियो ।
निर्देशिकाको व्यवस्थाअनुसार नेपाल सरकारलाई दायित्व पर्ने अवस्था सिर्जना भएको महालेखापरीक्षको कार्यालयको भनाइ छ ।
प्रतिवेदनअनुसार कोरोना बीमामा २०७७/७८ मा १ लाख १४ हजार ६३३ जनाको बीमा दाबीवापत अनुमानित १० अर्ब ९७ करोड ७३ लाख रहेकोमा ७७ हजार ६३२ जनाको ४ अर्ब ८१ करोड ११ लाख भुक्तानी भएको छ ।
प्रतिवेदनअनुसार दाबीमध्ये ३७ हजार १ जनाको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ भुक्तानी हुन सकेको छैन ।