सबै जीवन बीमा कम्पनीले म्यादी बीमालेख जारी गर्न सक्ने, पुल प्रणाली खारेज



काठमाडौं । अबदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमालेख सबै जीवन बीमा कम्पनीले जारी गर्न पाउने भएका छन् ।

बीमा समितिले ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेसँगै इच्छुक कम्पनीले बीमालेख जारी गर्न सक्ने भएका हुन् ।

बीमा समितिले म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।

जीवन बीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरूबाट प्राप्त कार्यविधि बोजिम वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित रूपमा संचालन गर्नका लागि पुल प्रणाली लागू भएको थियो ।

सोही व्यवस्था बमोजिम कम्पनीहरूको सहमति अनुसार पुल प्रणालीमार्फत बीमालेख जारी हुँदै आएको छ ।

बीमा कम्पनीहरूले २०७५ माघ १ गतेदेखि पुलमार्फत बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका छन् ।

समितिले म्यादी बीमामा पुल प्रणाली साउन १ गतेदेखि खारेज गर्ने निर्णय गरेको हो ।

समितिले साउन १ गतेदेखि इच्छुक सबै जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न सक्ने व्यवस्था गरेको हो । तर, कम्पनीहरूले यस्तो बीमालेख अनलाइन माध्यमबाट मात्र जारी गर्न पाउनेछन् ।

साउन १ गतेदेखि लागु हुने गरी वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट नयाँ बीमालेख जारी नगर्ने र यसअघि जारी भएका सम्पूर्ण बीमालेखहरूको दायित्व समाप्त भएपश्चात पुल स्वतः खारेज हुने समितिले जनाएको छ ।

यसरी अनलाइन माध्यमबाट बीमालेख जारी गर्दा कम्पनीहरूले भुक्तानी सेवा प्रदायकलाई उपलब्ध गराउने सेवा शुल्क वापतको रकम अन्य बीमालेख अनलाइनमार्फत जारी गर्दा लाग्ने शुल्क भन्दा बढी तोक्न पाउने छैनन् । साथै, भुक्तानी सेवा शुल्क वापतको रकम निर्धारित बीमाशुल्कमा समावेश गर्न नपाइने समितिले बताएको छ ।

समितिकाअनुसार वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय सुरू गर्नुअघि समितिलाई जानकारी दिनुपर्ने छ । र, व्यवसाय बन्द गर्नुपरे पनि सोको कारणसहित समितिमा जानकारी गराउनुपर्ने छ ।

समितिकाअनुसार आर्थिक वर्ष ०७८÷७९ को बीमांकीय मूल्यांकन साविककै व्यवस्था बमोजिम नेपाल पुनर्बीमा कम्पनीले नै गर्ने भएको छ ।

पुल अन्तर्गत रहेको दायित्वको दाबी रकम बीमालेख जारी गर्ने बीमा कम्पनीले नै यथाशिघ्र भुक्तानी गर्नुपर्ने छ । र पुलमा सहभागी सबै बीमा कम्पनीकहरूले आफ्नो हिस्सा बमोजिमको दायित्व बहन गर्नुपर्ने छ ।

बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय सम्बन्धी विवरण प्रत्येक त्रैमास समाप्त भएको मितिले ७ दिनभित्र नेपाल पुनर्बीमा कम्पनीलाई अनिवार्य पठाउनु पर्ने र सोको जानकारी समितिलाई समेत पठाउनुपर्ने छ ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य बीमा हो । सरकारले नै अनिवार्य गरेको हुनाले पुलको व्यवस्था गरिएको थियो । जो नेपाली रोजगारीका सिलसिलामा विदेश जान्छन्, ती सबैले वैदेशिक रोजगार म्यादी बीमा गर्नैपर्छ ।

कानूनमा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बैदेशिक रोजगारीमा जाने नेपालीहरूको अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु