बिद्युतीय गाडीमा बिवाइडीले जित्यो टेस्लालाई, इभीमा विश्व लिडर बन्दै



काठमाडौं । सन् २०२२ मा एनल मस्कको विद्युतीय गाडी उत्पादक कम्पनी टेस्लाले विश्व बजारमा अग्रहणी रहँदै व्यापार शुरु गरेको थियो । र, तीव्ररुपमा फैलिएको चिनिया बजारबाट पनि राम्रो प्रतिफल ल्याइरहेको थियो ।

तर, पछिल्लो ६ महिनामा विद्युतीय गाडी उत्पादन गर्ने चिनिया कम्पनी बिवाइडी टेस्लाको सबैभन्दा ठूलो प्रतिस्पर्धी कम्पनी बनेको छ । जसले अमेरिकी बजारसमेत अग्रस्थानमा लिएको छ । उसले हाइब्रिड मोडलका गाडीमा पनि बर्चश्व जमाउँदै गएको छ ।

अमेरिकी धनाढ्य वारेन बफेटको कम्पनीको लगानीसमेत रहेको बिवाइडीले पछिल्लो ६ महिनामा ६ लाख ४१ हजार ३ सय ५० युनिट विद्युतीय गाडीहरु बिक्री गरिसकेको छ । जुन गत वर्षको तुलनामा ३१५ प्रतिशतले धेरै हो ।
यस अवधिमा टेस्ला गाडीको बिक्री ५ लाख ६४ हजार ७ सय ४३ गोटा भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४६ प्रतिशतले वृद्धि हो ।

उच्च वर्गले मन पराइरहेका टेस्ला गाडीको बिक्रीलाई उछिन्दै बिवाइडीले पनि त्यस्ता मोडलका विद्युतीय गाडीको बिक्रीलाई ह्वात्तै बढाएको छ ।

‘सन् २०२२ को पहिलो ६ महिनामा हाम्रो बिक्री ६४०००० युनिटबाट माथि लागेको छ,’ बिवाइडी कम्पनीको ट्वीटमा लेखिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना महामारीले पनि बिवाइडीको बिक्रीमा धेरै असर नगरको कम्पनीले जनाएको छ । अप्रिल र मेमा टेस्लाको सांघाई प्लान्टबाट भने आफ्नो उत्पादनमा कमी आएको थियो ।

चिनिया विद्युतीय गाडीले विश्व बजारमा लिएको अग्रतालाई सबैले चासोपूर्वक हेरेका छन् । सन् २०२१ मा चीनमा विद्युतीय गाडीको बिक्री ३.३ मिलियन युनिट अर्थात् ३३ लाख युनिट बिक्री भएको थियो । त्यसमध्ये केही ६ लाख ८ हजार युनिट अमेरिकी ग्राहकले किनेका थिए ।

अमेरिकी बजारमा उच्चस्तरका विद्युतीय गाडी बिक्री गर्ने चिनिया सरकारको आक्रमक नीतिका कारण यो बिक्री बढेको बताइएको छ । तर, चिनिया बजारमा पनि साना, मध्यस्तरका विद्युतीय गाडीको बिक्री पनि बढेको छ । बिवाइडीको हान इभी सिरिजका बिवाइडी गाडीको मूल्य झन्डै ३२ हजार ८ सय डलर रहेको थियो ।

अमेरिकामा तुलनात्मकरुपमा सस्ता गाडीको उपलब्धता एक चुनौतीको रुपमा रहेको छ, जहाँ ब्याट्री पावर भएको विद्युतीय गाडीको औषत मूल्य ६४ हजार अमेरिकी डलर रहेको छ । यसमा अमेरिकी कम्पनी टेस्लाको बाहुल्यता रहेको छ ।

‘चीनमा बढ्दै गएका विद्युतीय कम्पनीहरुले स्थानीय र विदेशी बजारमा जोडबल लगाइरहेका छन्,’ जर्मनी बैंकको एक विश्लेषक इडिसन युले आफ्नो रिसर्चमा भनेका छन्, ‘स्थानीय बजारमा लिप मोटर, होजोन निटा, डब्लुएम मोटर, बिवाइडी र अन्य कम्पनीबीच प्रतिस्पर्धा बढेको देखिन्छ । बजारमा प्रवेश गरेका नयाँ कम्पनीले बजार हिस्सा ओगट्न जोडतोडका साथ लागिरहेका छन् ।’

टेस्ला विजनेस मोडलबाट प्रभावित भएको ‘बिवाइडी निओ’ले चीनको बजारमा यस वर्ष स्थिर व्यापार गरेको छ । उसले इएस-७ एसयुभी नयाँ उत्पादनको रुपमा जोडेको थियो । जसको मूल्य ६९ हजार डलर रहेको छ ।

कम्पनीले यस वर्षको पहिलो ६ महिनामा १४ प्रतिशतले बिक्री बढाउँदै २५ हजार ५९ युनिट बिक्री भएको जनाएको छ ।

जर्मनी र टेक्सासमा नयाँ प्लान्ट लगाएपछि टेस्लाले सन् २०२२ को पहिलो ६ महिनामा बिक्री बढाउने अनुमान गरिएको थियो तर यी ठाउँमा उत्पादन क्षमता वृद्धि गरे पनि बिक्रीमा भने सुस्तता आएको छ ।

टेस्लाले सन् २०२१ मा विश्वभर ९ लाख ३६ हजार २७ युनिट मोडल ३, सेडान र वाई, एक्स एयिुभी बिक्री गरेको थियो । गत वर्षको टेस्लाको प्रतिस्पर्धी भनेको चीनको एसएआइसी र फक्सवागन थिए । एसएआइसीले गत वर्ष ६ लाख ९ हजार ७ सय ३० र फक्सवानले ४ लाख ५१ हजार १ सय ३१ विद्युतीय गाडी बिक्री भएको थियो ।

सन् २०२१ मा बिवाइडी चौथो स्थानमा रहेर ३ लाख २३ हजार १ सय ४३ युनिट बिक्री गरेको थियो । त्यसपछि हुन्डाइ मोटर्सले २ लाख १६ हजार ५ सय ६२ विद्युतीय गाडी बिक्री गरेको थियो ।

विश्वका मुख्य गाडी उत्पादकहरु भीडब्सल र हुन्डाइले टेस्लासँग प्रतिस्पर्धा गरिरहँदा नयाँ कम्पनीका रुपमा आएको बिवाइडीले युरोप र एसिया बजारमा आफ्नो बजार बिस्तार गर्यो । भविष्यको बजारलाई हेर्दा जेनेरल मोटर्स फोर्डको उद्देश्यले अमेरिकी बजारमा रहेको टेस्लाको हिस्सालाई अझ घटाउने देखिन्छ ।

जीएमले सन् २०२३ सम्म सस्तो दरको चेभ्रोलेट बोल्ट विद्युतीय गाडी उत्पादन गरेर आमउपभोक्तामा जाने योजना बनाइरहेको छ । जसको शुरुको मूल्य २६ हजार ५ सय ९५ डलर हुने प्रक्षेपाण गरिएको छ । त्यस्तै, प्रिमियर ग्राहकको लागि ६२ हजारको क्याडिल्याक क्लिरिक एसयुभी र १ लाख ९ हजार डलरको हुमर इभी उत्पादन गर्ने बताएको छ ।

फोर्डले नि ३९ हजार ९ सय ७४ सम्मको एफ-१५० उत्पादन तयारी गरेको छ र उसले ४३ हजार ८ सय ९५ मूल्य पर्ने मुस्ताङ म्याज–ई उत्पादन गर्ने भनेको छ । जसको मूल्य टेस्लाको मोडल ३ सेडानभन्दा सस्तो पर्छ । टेस्ला मोडल ३ सेडानको मूल्य ४६ हजार ९ सय ९० डलर रहेको छ ।

अमेरिकी बजारमा लक्जरियस यी विद्युतीय गाडी आउने लाइनमा छन् । जसले अमेरिकी र युरापको बजारमा प्रभाव पार्ने अनुमान गरिएको छ । यस कारणले पनि सन् २०२२ को अन्ततिर टेस्ला गाडीको मागमा अझ गिरावट आउने अनुमान गरिएको छ ।

त्यस्तै अमेरिकी बजारमा टेस्लाले नयाँ कम्पनीहरु लुसिड, फिस्कर इन्टरनेसनल र रिभियनसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने छ ।


क्लिकमान्डु