प्रभु क्यापिटलको मोबाइल एप लन्च, के-के पाइन्छ सुविधा ?



काठमाडौं । प्रभु क्यापिटलले प्रदान गर्ने विभिन्न सेवाहरुलाई छिटो, छरितो तथा सहज बनाउन ‘प्रभु क्यापिटल डिजिटल एप’
सञ्चालनमा ल्याएको छ ।

उक्त मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता तथा मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन सकिने छ ।

यस्तै हितग्राही खाता तथा मेरो सेयरको नविकरण शुल्क भुक्तानी गर्न, मेरो सेयरको पासवर्ड परिवर्तन गर्न निवेदन तथा हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सकिने छ ।

मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनका लागि उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि रहेको छ ।
मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसूचकको अवस्थाका बारेमा जानकारी लिन सकिने छ ।

ओम्निच्यानल प्रविधि प्रयोग गरेर बनाइएको एपबाट ग्राहकले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाइसीका लागि समय लिई भिडियो केवाइसी सम्पन्न गर्न सक्नेछन् ।

साथै आफ्नो डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो सेयर सम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिन सकिनेछ ।
यो प्रविधिको प्रयोगबाट प्रभु क्यापिटलका ग्राहकहरुले प्रभु क्यापिटलबाट प्राप्त गर्ने अन्य विभिन्न सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुका साथै विभिन्न सेवाहरु प्राप्त गर्न सक्ने बताइएको छ ।


क्लिकमान्डु