एक वर्षमा साढे ८ हजार युनिट बिक्यो रोयल इन्फिल्ड मोटरसाइकल, साढे ६ अर्बको कारोबार



काठमाडौं । एक वर्षमा नेपालमा साढे ८ हजार युनिट रोयल इन्फिल्ड मोटरसाइकल बिक्री भएको छ ।

आधिकारिक विक्रेता विवेक अटोमोबाइलका अनुसार सन् २०२१ मा ८ हजार ७ सय ६३ युनिट मोटरसाइकल बिक्री भएको हो ।

जुन अघिल्लो वर्षको तुलनामा २ हजारभन्दा बढी अर्थात् करिब ५७ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२० मा ६ हजार १३३ मोटरसाइकल बिक्री गरेको थियो ।

कम्पनीले बिक्रीबाट सन् २०२१ मा ६ अर्ब ५७ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । जबकी सन् २०२० मा ४ अर्ब १८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०१९ मा ४ अर्ब १९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कोरोना महामारीपछि दुईपांग्रे सवारी साधनमा आकर्षण बढेसँगै कम्पनीको बिक्री पनि बढेको हो । सन् २०२० मा ०.१७ प्रतिशतले कारोबार घटेको कारोबार सन् २०२१ मा उच्च माग हुँदा कारोबार बढेको कम्पनीको भनाइ छ ।

कोरोना महामारीपछि बजारमा आर्थिक गतिविधिहरु बढेको, सस्तो ब्याजदरमा कर्जा उपलब्ध भएको तथा कोरोना संक्रमणको जोखिमबाट बच्न समेत मानिसहरु दुई पाग्रे सवारी साधनमा आकर्षित हुँदा रोयल इन्फिल्डको बिक्री समेत बढेको हो ।

कम्पनीले सन् २०२१ मा ५७ करोड ४० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । जबकी कम्पनीले सन् २०२० मा ३९ करोड ९० लाख रुपैयाँमात्रै नाफा कमाएको थियो ।

त्यसैगरी, बजारमा कम्पनीको सवारी साधन उच्च माग भएकाले सन् २०२२ को ६ महिनाको अवधिमा ३ अर्ब ३२ करोड ६० लाख रुपैयाँको कारोबार गर्ने अनुमान गरेको छ । साथै, जनवरीसम्ममा ५ हजार ५८५ वटा सवारी साधन बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु