विदेशी मुद्रा जोगाएर देश टाट पल्टिनबाट बचाउन कसले के गर्नुपर्छ ?



अर्थतन्त्र टाट पल्टिएपछि श्रीलंकाका जनताले अहिले सिटामोलसमेत किन्न पाएका छैनन् । देशसँग कागज किन्ने पैसा नहुँदा श्रीलंकाका विद्यालयहरुले विद्यार्थीको परीक्षासमेत लिन पाएका छैनन् ।

हालैमात्र श्रीलंकाले अत्यावश्यक क्षेत्र बाहेकलाई पेट्रोलियम पदार्थ बिक्री नगर्ने घोषणा गरेको छ । जसअनुसार सीमित सरकारी अधिकारी, अस्पताल, बैंक, बीमा, दमकल, एम्बुलेन्स, अत्यावश्यक सेवाको सूचीमा पर्ने उद्योग तथा संस्था तथा सीमित सार्वजनिक सवारीसाधनका लागि मात्रै सरकारले पेट्रोलियम पदार्थ बिक्री गर्छ ।

एकछिन् सोच्नुहोस् त तपाईं श्रीलंकाको नागरिक हुनुहुन्छ र तपाईंसँग निजी गाडी वा मोटरसाइकल छ । तर, तपाईंले पेट्रोलियम पदार्थ किन्न पाउनुहुन्न । तपाईंको खातामा करोडौं रकम छ । तर, तपाईंले आफूलाई मन परेको कुरा किन्न पाउनुहुन्न । अत्यावश्यक कुरा किन्न पनि सितिमिति पाउनुहुन्न । बच्चाका लागि दूध किन्न र आफ्ना लागि पाउरोटी किन्न पनि घन्टौं लाइन बस्नुपर्ने बाध्यता छ ।

अब तपाईंको मनमा प्रश्न उठ्छ कि यो अवस्था कसरी आयो ? एक वाक्यमा जवाफ हो- राष्ट्रको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति रित्तिएकाले ।

विगतमा श्रीलंकाका शासकहरुले अन्धाधुन्धा विदेशी ऋण लिएर महत्वाकांक्षी आयोजनाहरु बनाए । त्यसबेला विकास गरेको भन्दै वाहवाही पनि कमाए । तर, विदेशी ऋण लिएर बनाइएका आयोजनाहरुले विदेशी मुद्रा कमाएनन् ।

जब उक्त ऋणको सावाँब्याज विदेशी मुद्रामा तिर्नुपर्ने अवस्था आयो । तब, श्रीलंकाको ढुकुटीमा भएको विदेशी मुद्रा सकियो । अहिले शासकको अव्ययहारिक निर्णयको सजाय आम सर्वसाधारणले भोग्नु परिरहेको छ ।

श्रीलंककाले ५१ अर्ब डलर बराबरको विदेशी ऋण तिर्न नसक्ने घोषणा गरिसकेको छ । विभिन्न देश तथा संघ-संस्थासमक्ष आफ्नो उद्दार गर्न हारगुहार गरिरहेको छ । यद्यपि अहिलेसम्म कसैले ठोस परिणाम आउने खालको प्रतिवद्धतासमेत जनाएका छन् । जसकारण श्रीलंकामा झनै ठूलो संकट आउने अनुमान सहजै लगाउन सकिन्छ ।

हाम्रो देशमा पनि विकासका नारा दिएर केपी ओलीले वाहवाही कमाए । तर, धरहरा र भ्यूटावर बनाउन पनि विदेशी ऋण लिएको जनताले पत्तै पाएका छैनन् । ओलीले ३ वर्ष शासन गर्दा नेपालको सार्वजनिक ऋण २५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब रुपैयाँ पुग्यो । ओलीले आफ्नो छोटो साशनकालमा १० खर्ब रुपैयाँले सार्वजनिक ऋण बढाए । ओलीले सरकार छोड्दा ८ खर्ब १ अर्ब आन्तरिक ऋण र ९ खर्ब २८ अर्ब बाह्य ऋण पुग्यो । अब सरकारले विदेशी ऋणको सावाँब्याज पावत १ अर्ब अमेरिकी डलरभन्दा बढी तिर्नुपर्ने छ ।

यस्ता शासकका कारण हाम्रो देशको अर्थतन्त्रको अवस्था अहिले निकै जर्जर अवस्थामा पुगेको छ । अहिले नै समस्याको समाधान गर्नतर्फ ‘सिरियस एक्सन’ नलिने हो भने निकट भविष्यमै नेपालको हालत पनि श्रीलंकाको जस्तै हुने निश्चित भएको तथ्यांकहरुले देखाउँछन् ।

तपाईं/हाम्रो हाम्रो दैलोमा संकट आएर बसिसकेको छ । हामीले ढोका थुनेर बलियोसँग चुक्कुल लगाएनौं भने अवस्था श्रीलंकाको जस्तै हुन्छ ।

एकातिर देशभित्र पुँजी निर्माण नहुँदा बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता)को चरम अभाव छ भने अर्कातिर विदेशी मुद्राको सञ्चिति घट्दो अवस्थामा छ । आम सर्वसाधारण महंगीको मारमा पिल्सिएका छन् ।

बढ्दो आयातले चुलिएको व्यापारघाटा पूर्ति गर्ने सीमित स्रोत हुनु नै हाम्रो देशको मुख्य समस्या हो । आयात बढ्दा हाम्रो ढुकुटीमा भएको विदेशी मुद्रा बाहिरिने क्रम उच्च छ । वैशाख मसान्तसम्ममा देशभित्रिनेभन्दा देशबाट बाहिरिने विदेशी मुद्राबीचको अन्तर अर्थात् भुक्तानी सन्तुलन २ खर्ब ८८ अर्ब रुपैयाँले ऋणात्मक छ । असार मसान्तसम्ममा यो ३ खर्ब रुपैयाँभन्दा बढीले ऋणात्मक हुने देखिन्छ ।

आम्दानी चारआना खर्च रुपैयाँ नै हाम्रो देशको अर्थतन्त्रको मूख्य समस्या हो । हामी विभिन्न स्रोतहरुबाट वर्षभरीमा ११/१२ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा आम्दानी गर्छौं । तर, १५/१६ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा खर्च गर्छौं । यसअघिका वर्षहरुमा रेमिट्यान्स र व्यापारघाटाको अन्तर खासै ठूलो थिएन । र, हामीले धानिरहेका थियौं । अब रेमिट्यान्स र व्यापारघाटाको ग्याप निकै ठूलो भइसकेको छ । त्यसैले हामी गम्भीर संकटको डिलमा पुगिसकेका छौं भन्ने हो ।

यसरी खर्च बढिरहँदा विदेशी मुद्रा आर्जनका नयाँ स्रोतहरु थपिएका छैनन् । जसकारण अहिले विदेशी मुद्रा खर्च गर्न मुठ्ठी कस्नुपर्ने बेला छ ।

यही कुरालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले विलासीको सूचीमा रहेका केही वस्तुहरुको आयातमा कडाइ गरेपनि त्यो प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन ।

भन्सार विभागको त्थ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १७ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । जबकी, गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको मात्रै आयात भएको थियो । आयातमा गरिएको कडाइका बाबजुत पनि गत वर्षको ११ महिनामा भन्दा यो वर्षको ११ महिनामा ३ खर्ब ८० अर्ब रुपैयाँले आयात बढी भएको छ । साढे १७ खर्बको वस्तु किन्दा हाम्रो देशले मुस्किलले २ खर्बको मात्रै सामान बिक्री गरेको छ ।

तर, यसबारे राजीनिक नेतृत्व र कर्मचारीतन्त्र बेखबरजस्तै छ । अर्थात्, उनीहरुले गरेका प्रयासहरुको अनुभूति जनतालाई छैन । अर्थमन्त्री, अन्य मन्त्रीहरु तथा प्रधानमन्त्रीले दिएका अभिव्यक्तिहरुले उनीहरु कतिसम्म गैरजिम्मेवार छन् भन्ने कुराको पुष्टि गर्छ । भाषणमा राष्ट्रभक्तिको दुहाई दिने बडेबडे नेताहरु व्यवहारमा भने ठीक उल्टो काम गर्नु यो देशको दुर्भाग्य हो । किनभने, हाम्रा नेताहरुलाई कसरी सत्तामा पुग्ने भन्ने मात्रै ध्याउन्न छ । सत्तामा पुगेर के गर्ने कुनै दृष्टिकोण छैन । ५ पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाले तपाईं हामीलाई सम्पन्न बनाउन यी काम गरे भनेर दिने एउटा पनि उदाहारण छैन ।

राजनीतिक नेतृत्व वास्तविकतामा होइन, खाली सस्तो लोकप्रियतामै रमाएको छ । त्यसैले त, सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा २४ प्रतिशतले बजेटको आकार बढाएको छ । वृद्धभत्ता पाउने उमेर घटाएर ६८ वर्षमा झारेको छ । २१ प्रतिशतले राजस्वको लक्ष्य बढाएको छ ।

बजेटको लक्षअनुसारको आर्थिक वृद्धि गर्न १० खर्ब भन्दा बढी ऋण प्रवाह हुनुपर्छ । जुन संभव नै छैन । अर्को कुरा १४ खर्ब राजस्व असूली गर्न २४ खर्ब रुपैयाँको हाराहारीमा आयात गर्नुपर्छ । १८ खर्बको आयात गर्दै त विदेशी मुद्रा सञ्चितिमा यो चाप परेको छ भने २४ खर्बको आयात त परको कुरा हो । यति कुरा पनि सोच्न नसक्ने अर्थमन्त्री र अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका छौं भन्दा तपाईं हामीले कसरी पत्याउने ?

२०७७ साउनमा ११ अर्ब ६५ करोड डलर पुगेको विदेशी मुद्रा सञ्चितिले १२.७ महिनाको वस्तु र सेवा आयात गर्नपुग्थ्यो । गत वैशाख महिनामा केन्द्रीय बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार अहिले नेपालसँग ९ अर्ब २८ करोड डलर बराबरको विदेशी मुद्राको सञ्चिति छ । जसले साढे ६ महिनाको वस्तु तथा सेवा आयत गर्न पुग्छ । असारअन्तसम्ममा विदेशी मुद्राको सञ्चिति ८ अर्ब ६० करोड डलरसम्ममा पुग्ने केन्द्रीय बैंकको प्रक्षेपण छ । आयातमा गरिएको कडाइले मात्रै यो सम्भव भएको हो । आयात खुल्ला छाडिएको भए डेढदेखि दुई अर्ब डलर सञ्चिति घटिसकेको हुने थियो ।

उच्चदरमा आयात बढेकाले चालु आर्थिक वर्षको ११ महिनामै व्यापारघाटा करिब १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेकोछ । विदेशी मुद्राको सञ्चिति ३ खर्ब रुपैयाँले घटिसकेको छ । २०७७ साउनदेखि २०७९ वैशाखसम्मको २२ महिनामा विदेशी मुद्राको सञ्चिति २५.५३ प्रतिशतले घटेको छ ।

आयात बढेको अनुपातमा विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत रेमिट्यान्स बढेको छैन । प्रत्यक्ष वैदेशिक लगानी र वैदेशिक सहायतासमेत सो अनुपातमा बढ्न सकेको छैन ।

गत वैशाख मसान्तसम्मा रेमिट्यान्स जम्मा ०.२ प्रतिशतले बढेर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । डलरमा भने रेमिट्यान्स १.६ प्रतिशतले घटेको छ । जबकी, गत वर्षको सोही अवधिमा रेमिट्यान्स १९.२ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ६ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको छ । गत वर्षको यसै अवधिमा डलरमा रेमिट्यान्स १६.१ प्रतिशतले बढेको थियो । रेमिट्यान्स बढ्न सकेन भने अर्थतन्त्र हाम्रो नियन्त्रणभन्दा बाहिर जाने निश्चितजस्तै छ ।

समस्याउन्मूख अर्थतन्त्रको दीर्घकालीन समाधानका बारेमा तपाईं हामी धेरैले छलफल तथा बहस भइरहेको सुनिरहेकै छौं । नेताहरुका मीठा मीठा भाषण पनि सुनिरहेकै छौं । तर, दैलोमा आइपुगेको समस्या टार्न भोलिदेखि नै के गर्ने भन्नेबारेमा कसैले पनि चासो र चिन्ता व्यक्त गरेको देखिँदैन ।

दीर्घकालमा के गर्ने भोलिका फुर्सदिला दिनमा सोचौंला । तर, अहिलेको अवस्था भनेको आजैदेखि के गर्ने भन्ने हो । त्यसैले विदेशी मुद्रा जोगाएर देशलाई तत्कालका लागि टाट पल्टिनबाट बचाउन हामीमध्ये कसले के गर्न सक्छौं भनेर यो आलेखमा चर्चा गर्ने प्रयास गरिएको छ । यो आलेखमा ठूल्ठूला कुरा समावेश गरिएको छैन । अत्यन्तै ससाना कुरा गरे मात्रै पनि देशलाई आर्थिक संकटबाट बचाउन सकिन्छ तर सबैले इमानदार भएर प्रयास गर्नुपर्छ ।

सरकारले के गर्ने ?

सरकारले अत्यावश्यक बाहेकका कतिपय वस्तुको आयातमा निश्चित समयसम्मका लागि प्रतिबन्ध नै लगाउनुपर्छ । कृषिजन्य वस्तुको आयात क्रमशः घटाउनुपर्छ । नेपालले अहिले एक वर्षमा ४ खर्बको हाराहारीमा कृषि वस्तु विदेशीसँग किनेर खाँदै आएको छ । यसलाई घटाएर आगामी वर्ष २ खर्बमा मात्रै सीमित गर्नुपर्छ । र, कृषिमा आन्तरिक उत्पादन बढाउनतर्फ सरकारले विशेष जोड दिनुपर्छ । कृषिमा ऋण र अनुदान वर्षेनी बढे पनि उत्पादन भने घट्दै आउनु विडम्बना हो । निर्वाहमूखि कृषि प्रणालीलाई व्यावसायिक बनाउनुपर्छ । र, कृषि क्षेत्रमा बिचौलियाको अन्त्य गर्नुपर्छ ।

त्यस्तै, सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सरकारी खर्च कटौति गर्ने सुझाव अक्षरस पालना गर्नुपर्छ । पछिल्ला वर्षहरुमा सरकारको चालु खर्च बढीरहेको छ । जुन अर्थतन्त्रका लागि निकै ठूलो चुनौति हो । सरकारले चालु खर्च बढ्न नदिन कठोर कदम चाल्नुपर्छ ।

आयातमा भन्सार असूलेर स्रोत बटुल्ने अर्थमन्त्रीको प्राथमिकता नफेरिएसम्म यो देश उँभो लाग्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ । अझ सरकारमा बस्नेहरुलाई त भन्सारबाट आम्दानी बढायौं भन्दा लाज लाग्नुपर्छ । आन्तरिक उत्पादन बढाउने नीति लिँदै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । सस्तो लोकप्रियताका लागि हावादारी कार्यक्रम ल्याउने र बजेट छर्न बन्द गर्नुपर्छ ।

पर्यटन विदेशी मुद्रा कमाउने महत्वपूर्ण माध्यम हो । सरकारले आगामी वर्षलाई पर्यटन वर्ष घोषणा गरेर भिसाशुल्क मिनाह गरिदिए मात्रै पुग्छ । पर्यटकको संख्या बढाउन सकियो भने अर्बौं विदेशी मुद्रा कमाउन सकिन्छ ।

आइटी उद्योगमा ठूलो सम्भावना छ । आइटी उद्योगले सहजै अर्बौं विदेशी मुद्रा भित्र्याउन सक्छ । सरकारले आइटी व्यवसाय गरिरहेकाहरुसँग बसेर गम्भीर छलफल गरी सहज नीति बनाइदिए मात्रै पनि पुग्छ । आगामी आर्थिक वर्षको बजेटमा भने यसमा सरकारले १ प्रतिशतमात्रै कर लिने घोषणा गरेर राहतको आभाष दिलाएको छ ।

सरकारले तत्कालै श्वेतपत्र जारी गरेर देशको वास्तविक अवस्थाबारे जनतालाई प्रष्ट भन्नुपर्छ । संकट आउँदैन भनेर जनतालाई गुमराहमा राख्नु हुँदैन । देशका लागि परेका ठूल्ठूला संकट नेपालीहरु एकजुट भएर निस्तेज पारेको गर्विलो इतिहास साक्षी छ । सरकारको नेतृत्वमा यो संकटमा दुख झेलेर भएपनि नेपालीहरु इसलाई निस्तेज पार्न लाग्नेछन् । तर, सरकारले जनताको विश्वास जित्नु पहिलो शर्त हो ।

राजनीतिज्ञले के गर्ने ?

सरकार सञ्चालन गर्ने राजनीतिज्ञले हो । त्यसैले यो संकट टार्न राजनीतिज्ञको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । विदेशी मुद्राको संकट टार्न प्रधानमन्त्रीबाटै अभियान शुरु गर्नुपर्छ । प्रधानमन्त्रीले नै स्वदेशमा बनेका लुगाफाटो लगाउने र आम सर्वसाधारणलाई पनि विदेशबाट डलर खर्च गरेर ल्याइने वस्तुको प्रयोग सकेसम्म नगर्न आह्वान गर्नुपर्छ ।

प्रधानमन्त्रीले यस्तो अभियान सञ्चालन गरेपछि राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरु, सभामुख, विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्रीहरु, लोकप्रिय नेता तथा सांसदहरु सबैले यो अभियानलाई महाअभियानका रुपमा अगाडि बढाउनुपर्छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै उत्पादन भएका कपडा लगाएर देखाउन सक्नुपर्छ ।

आफूले नेपाली उत्पादन खाएर अरुलाई पनि नेपाली उत्पादन खान अभिप्रेरित गर्नुपर्छ । प्रचण्डले विदेशी सुट होइन, नेपालमै बसेका दौरा सुरुवाल वा कोटपाइन्ट लगाएर प्रमाणित गर्न सक्नुपर्छ । बुढानिलकण्ठ र खुमलटारमा विदेशी महंगा ह्वीस्की होइन, स्वदेशी मदिरा खपत गर्नुपर्छ । बालकाेटमा प्रयोग हुने वस्तुहरु पनि स्वदेशी नै हुनुपर्छ । बालकाेटको बार्दलीमा बसेर केपी ओलीले भाषणमा होइन, व्यवहारमा राष्ट्रियता देखाइदिए पुग्छ ।

भावी प्रधानमन्त्रीको दावी गर्ने गगन थापा र उनको पुस्ताले उपभोग गर्ने सामानहरु पनि स्वदेशी हुनुपर्छ । राजनीतिमा उदाएका बालेन शाहले विदेशबाट किनेर ल्याएको चस्मा खोलेर देखाउन सक्नुपर्छ भने रवि लामिछानेले आफ्नो शरीरबाट विदेशी ब्राण्डेड कपडा फुकालेर फाल्न सक्नुपर्छ । वैदेशिक रोजगारीमा गएकाहरुको पीर व्यथाको रिपोर्टिङ गर्न विदेशसम्म पुगेर चर्चा बटुलेका रवि लामिछानेले औपचारिक च्यानलबाट रेमिट्यान्स पठाइदिन आग्रह गर्दै फेरि एकपटक आफ्नै खर्चमा विभिन्न देश डुल्न सक्नुपर्छ ।

र, अर्को कुरा राजनीतिक दलहरुले आन्तरिक उत्पादन बढाउन आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिनुपर्छ । प्रशिक्षण मात्रै होइन, आफ्नै देशमा उत्पादन बढाउने काम गर्ने व्यक्तिलाई चुनावमा टिकट दिने उदारता देखाउनुपर्छ । ताकी, पैसाले टिकट किन्नका लागि जे गरेर भएपनि पैसा कमाउनुपर्छ भन्ने भावनाको अन्त्य होस् । राजनीति महंगो भएन भने समाज पनि सरल हुन्छ । सरल समाजमात्रै सभ्य हुनसक्छ । सभ्य समाजमा राष्ट्रियता बढी हुन्छ । जसले दीर्घकालसम्म मुलुकको अस्तित्व बचाइराख्न सक्छ ।

माथिल्लो राजनीतिक नेतृत्वबाट अभियानको शुरु भएपछि प्रदेश हुँदै स्थानीय तहसम्म स्वदेशी वस्तुको उपयोग गर्ने अभियानले सार्थकता पाउँछ । वडा सदस्य र अध्यक्षहरुले गाउँगाउँमा यसको कार्यान्वयनका साथै प्रचारप्रसार गर्छन् । यतिसम्मकी उनीहरुले कन्भिन्स गरे भने हुण्डीबाट आउने रेमिट्यान्स पनि केही मात्रामा घट्न सक्छ ।

विदेशमा रहेका दाजुभाईहरुलाई वडा अध्यक्ष र सदस्यहरुले सम्पर्क गरेर देशको अवस्थाको बारेमा जानकारी गराएर बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउँदा व्यक्ति र देशलाई हुने फाइदाका बारेमा बताउन सक्नुपर्छ । त्यसो गरे रेमिट्यान्स बढ्छ । रेमिट्यान्स बढे तत्कालको संकट टर्छ । सांसद र अन्य नेताहरुले पनि समाजलाई समस्याको जानकारी गराउँदै केही समय कम्प्रमाइज गर्न कन्भिन्स गर्नुपर्छ ।

व्यवसायीले के गर्ने ?

हाम्रो देशका व्यवसायीहरु उद्योगी होइन्, व्यापारीमा परिणत भएका छन् । विराटनगर जुट मिलबाट गोल्छा अर्गनाइजेशनले शुरु गरेको औद्योगिकरण अहिले व्यापारमा खुम्चिन थालेको छ । हाम्रा उद्योगीहरु उद्योग बन्द गरेर विदेशबाट सामान ल्याएर बिक्री गरेर रातारात अर्बपति भएका छन् ।

व्यापारीहरुले अर्बपति भएको होइन कि उद्योगी हुनुलाई गर्वको विषय बनाइदिनुपर्यो । चाउचाउ र चक्लेट ल्याएर बेच्ने व्यापारीहरुले ती वस्तु यहीँ उत्पादन गरिदिनुपर्यो । हेर्नुस् त नेपालका व्यवसायी विनोद चौधरीले उत्पादन गरेको वाइवाइ ब्राण्डको चाउचाउ विश्वभर लोकप्रिय बनेको छ । गरे सम्भव छ भन्ने उदाहारण वाइवाइ र गोल्डस्टार जुत्ता हुन् ।

चामल, तरकारी र फलफुल आयात गरेर बेच्ने व्यापरीहरुले यहीँको हजारौं विगाह जमिनमा खेतीपाती गर्न लगानी गरिदिए मात्रै पुग्छ । गाडीको आयात खोलिदिनुपर्यो भन्दै दिनरात लविङमा धाउनुको साटो अटोमावाइल्स व्यवसायीहरुले देशमै अटो एसेम्बल प्लान्ट स्थापना गर्ने फाइल बोकेर सरकारी कार्यालय धाइदिए मात्रै पुग्छ ।

चकलेट, चुइगम, विस्कुट उद्योग लगाउने झन्झट गर्नुभन्दा आयात गरेर बेच्छु अनि पैसा कमाउँछु भन्ने नसोचिदिए मात्रै पनि हुन्छ । हाम्रा मदिरा व्यवसायीहरुले विदेशी ब्राण्डेड र महंगा मदिरा ल्याएर बेच्नुभन्दा स्थानीय उत्पादनलाई गुणस्तरीय बनाएर विदेश निर्यात गरी देशमा डलर भित्र्याउँछु भन्ने सोचिदिए मात्रै पुग्छ ।

हालैमात्र सरकारले स्प्रिट एजिङसम्बन्धी नियमावली संशोधन गरेर ३ वर्षभन्दा माथि स्प्रिट एजिङ गर्न मिल्ने व्यवस्था गरिदिएकोछ । अब नेपाली उद्योगीले सगरमाथाको काख कालापथ्थरमा १८ वर्षसम्म स्प्रिट राखेर ब्राण्डेड सिंगलमाल्ट बिक्री गरेर विदेशी मुद्रा कमाउने पाउने भएका छन् ।

विदेशबाट सामान आयात गरेर कमाएको पैसाले नेता र कर्मचारीलाई घुस दिएर आफू अनुकुल नीति बनाउने ध्याउन्न छाडेर व्यवसायीहरुले उद्योग खोलेर रोजगारी दिएमात्र पुग्छ । र, नाफाभन्दा ठूलो देश हो भन्ने निश्छल भावनाले काम गरिदिएमात्रै पुग्छ ।

बैंकरले के गर्ने ?

हाम्रा बैंकरहरुले जता ऋण दिँदा सजिलो हुन्छ र छिट्टै नाफा कमाइन्छ भन्ने सोचिदिनु भएन । व्यापारीलाई भन्दा उद्योगीलाई कम्तीमा ५/६ प्रतिशत सस्तो ब्याजदरमा ऋण दिनुपर्यो । करोडौं तलबभत्ता खाने सीइओ साहेबहरुले १०/२० करोड लगानी गरेर अध्यक्ष वा सञ्चालक बनेकाहरुको स्वार्थ होइन, तपाईंको बैंकलाई विश्वास गरेर १००० रुपैयाँ निक्षेप राख्ने र कर्जा लिने ग्राहकको हितमा सोचिदिनुपर्यो ।

जनताको पैसाको दुरुपयोग गर्ने माध्यम बनिदिनु भएन, सदुपयोग गर्ने लिडर बनिदिनुपर्यो । आयातमा कडाइ गर्दा केही समय नाफामा प्रभाव परेजस्तो देखिए पनि दीर्घकालमा तपाईंको बैंकलाई पनि स्वदेशी उत्पादन प्रवर्द्धन गर्न दिएको ऋणले नै फाइदा हुन्छ । केन्द्रीय बैंकका उच्च अधिकारीहरुले पनि जागिरबाट अवकास पाएपछि कुन चाहीँ व्यवसायीको कम्पनी वा फार्ममा जागिर खान जाने भनेर सोचिदिनु भएन । यसरी अवकासपछिको जागिरको चिन्ताले यहाँ देश र जनताका लागि नभएर सीमित व्यापारीको स्वार्थ पूरा हुने गरी सर्वसाधारणको निक्षेपको प्रयोग भइरहेको छ ।

कर्मचारीले के गर्ने ?

राष्ट्र सेवक कर्मचारीहरुले उद्योग लगाउँछु भनेर आउने कुनै व्यवसायीलाई कानूनी छिद्र देखाएर अवरोध सिर्जना गरी घुस नमागिदिए मात्रै पुग्छ । उद्योग खोल्छु भनेर आउनेलाई कानूनमा समस्या भए संशोधन गर्न आफूभन्दा माथिल्लो निकायलाई कन्भिन्स गरिदिए पुग्छ ।

कर्मचारीहरुले कुन अड्डामा माल बढी पाइन्छ भनेर सरुवाका लागि नेता र मन्त्रीका निजी निवास धाउनुभन्दा नीति नियम बनाउने ठाउँमा सरुवा हुँदा गर्व ठानिदिनु पर्यो । व्यापारीलाई सहज गरिदिएर असूलीमा रमाउने अनि उद्योग खोल्नेलाई दुख दिने काम नगरिदिए मात्रै पुग्छ ।

लोकसेवा पास गरेर स्थायी जागिर खानुलाई नै जिन्दगीको सबैभन्दा ठूलो उपलब्धि ठानिदिनु भएन, जागिर खाएर जनताको सेवा कति गरेँ भनेर आफ्नो जजमेन्ट आफैं गरिदिनु पर्यो । अवकासपछि कुन विदेशी संस्थामा जागिर खान पाइन्छ भनेर विदेशीका स्वार्थमा नीति नियम बनाउनु भन्दा देश हितको स्वार्थमा नियम कानूनको मस्यौदा बनाइदिए मात्रै पुग्छ ।

वैदेशिक रोजगारीमा रहेकाले के गर्ने ?

तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ भने यो समय तपाईंले देश बचाउन सबैभन्दा ठूलो योगदान दिन सक्नुहुन्छ । तपाईंले विदेशमा दिनरात मिहेनत गरेर कमाएको पैसा बैंकिङ च्यानलबाट पठाइदिनु भयो भने मात्रै पनि देश आर्थिक संकटमा पर्नबाट बच्छ । तर, तपाईंले हुण्डी गर्नुभयो वा विदेशममै पैसा राख्नुभयो भने देशले ठूलो आर्थिक संकट झेल्नुपर्छ ।

नेपालमा रहेका तपाईंका सन्तान, श्रीमति, बाबुआमा तथा अन्य आफन्तहरुले चरम दुख पाउने छन् । यतिसम्म कि, औषधि किन्ने पैसा नभएर मर्नुपर्ने अवस्थासमेत आउनसक्छ । तपाईंको खल्तीमा जतिसुकै पैसा होस् देशको ढुकुटीमा पैसा भएन भने तपाईंले सिटामोलसमेत खान नपाईं मर्नुपर्ने अवास्था आउन सक्ने भएकाले अहिलेको अवस्थामा तपाईंको भूमिका धेरै नै ठूलो छ ।

तपाईंले विदेशमा दुख गरेर कमाएको विदेशी मुद्राकै कारण यो देश चलिरहेको छ । किनभने, नेपालको ७०/८० प्रतिशत विदेशी मुद्राको स्रोत तपाईंले पठाउने रेमिट्यान्स हो । तर, बिडम्बना सरकारले नै सम्झौता गरेर रोजगारीमा पठाएका कोरिया र इजरायलबाटै ९० प्रतिशत बढी रेमिट्यानस हुण्डीबाट आउँछ । तपाईंले हुण्डीबाट पैसा पठाउँदा तपाईंका आफन्तले यहाँ नेपाली रुपैयाँमा त बुझ्छन् । तर, देशको ढुकुटीमा विदेशी मुद्रा हुँदैन । त्यसैले २ ४ रुपैयाँको लोभ गरेर हुण्डी नगरिदिनुस् प्लिज । देश बचे न तपाईं हामी बाँच्ने हौं ।

ज्ब तपाईं परिवारलाई पैसा पठाउनुहुन्छ, पैसासँगै फजुल गर्च नगर्न सन्देश पनि पठाउनुहोस् । तपाईंले खाइनखाई जोगाएर पठाएको पैसा यहाँ तपाईंका परिवारले महंगा मोवाइल किन्न, सवारीसाधन किन्न, विदेशी लुगाफाटो वा अन्य वस्तु किन्न प्रयोग गरिरहेका छन् । तपाईंले पठाएको पैसा विभिन्न ठाउँमा लगानी गर्न सुझाव दिनुस् । अनिमात्र तपाईंको भविष्य उज्ज्वल छ । सँधै अर्काको देशमा बस्न सकिँदैन । मिल्छ भने थप २/४ घन्टा ओभरटाइम गरेर बढी पैसा कमाउनुहोस् । बैँस छँदा कमाएको पैसाले बुढेसकालसम्म पुर्याउनु छ भनेर सोचिदिनुस् ।

राष्ट्र बैंकले उच्च ब्याजदर दिएर वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । त्यहाँ लगानी गर्नुभयो भने कमाएको पैसा पनि सुरक्षित हुन्छ । र, प्रतिफल पनि राम्रो पाउनुहुन्छ । विदेशमा भएका नेपालीहरुले आफ्ना विदेशी मित्रहरुलाई एकपटक आफ्नो देश घुम्नका लागि आग्रह गर्नुस् । वा, आफू घर आउँदा सँगै लिएर आउनुस् ।

जनताले के गर्ने ?

यो समस्या सरकार एक्लैले टार्न सक्ने समस्या होइन । विदेशी मुद्राको संकट टार्न प्रत्येक नागरिकले आफ्नै संकट ठानेर साथ दिनुपर्छ । तपाईं हामीले कस्मरीको स्याउ र चाइनिज नास्पाति होइन, मुस्तांगको स्याउ र हाम्रै बारीमा फलेको नास्पाति खाइदिए पुग्छ । भारतबाट किनेर ल्याएको दाल चामल होइन, आफ्नै खेतबारीमा फलेको कोदो र फापर खान सक्नुपर्छ । विदेशबाट किनेर ल्याएको मासु होस् वा तरकारी दुई डाडुमात्रै कम खाइदिए पनि देशलाई ठूलो योगदान हुन्छ ।

सवारीसाधन किन्ने तयारी गरिरहनु भएको छ भने कम्तिमा ६ महिनादेखि डेढ/दुई वर्षसम्म उक्त पैसा बैंकमा राखेर चुप लागेर बसिदिए पुग्छ । त्यति नै समय पूरानो मोवाइल बनाउँदै चलाइदिए मात्रै पनि देशलाई ठूलो योगदान पुग्छ । विदेश घुम्ने योजना केही समयका लागि स्थगन गरिदिए पुग्छ । कोकाकोला र पेप्सीका ठाउँमा गाईंभैंसीको मोई पिइदिए पुग्छ । तपाईंहामीले हाम्रो उपभोग शैली मात्रै परिवर्तन गर्यौं भने देशको ढुकुटीमा अर्बौं डलर बचत हुन्छ । र, हामीले अत्यावश्यक वस्तु किन्न सक्छौं । आज प्रयोग नगर्दा पनि हुने वस्तु सोखका लागि किन्यौं भने भोलि आफ्नो जीवन बचाउनका लागि नभई नहुने वस्तु किन्ने विदेशी मुद्रा हुँदैन भन्ने कुरा अन्तरमनदेखि नै बुझिदिनुपर्छ ।

तपाईं हामी एक वर्षमा विदेशबाट ५० अर्बको चामल, ४० अर्बको शब्जी, २० अर्बको फलफुल, ६/७ अर्बको माछामासु किनेर खान्छौं । आगामी वर्ष यसलाई आधामात्रै गरिदिए पनि पुग्छ ।

हामी नेपालीहरु एक वर्षमा ५० करोडको चुइगम विदेशबाट किनेर खान्छौं । पहिलो कुरा चुइगम स्वास्थ्यका लागि लाभदायक छैन । चुइगम खान बन्द गर्दा देशको अर्थतन्त्रको स्वास्थ र तपाईंको स्वास्थ्य दुबै राम्रो हुन्छ । त्यस्तै, करिब ४० करोडको जुस किनेर खान्छौं । त्यसको साटो मोई खाने बानी बसालिदिए मात्रै पुग्छ । ६/७ अर्बको खैनी, चुरोट र गुड्का किनेर खान्छौं । पहिलो कुरा सुर्तीजन्य वस्तु खान छोडिदिनुहोस्, यदि छाड्नै सक्नुहुन्न भने पनि स्वदेशी उत्पादन उपभोग गरिदिनुहोस् ।

१० अर्ब रुपैयाँको त हामी कस्मेटिक आइटम र पर्फ्युममात्रै विदेशबाट किन्छौं । यी वस्तुको उपयोग नगरे पनि खासै फरक पर्दैन । ५० अर्ब बढीको पास्ता, नुडल्स, विस्कुट, ब्रेड र कुरकुरे किनेर खाजा खान्छौं । त्यसको ठाउँमा भुटेका मकै र साँधेको गुन्द्रुक खाइदिने हो भने स्वास्थ्य पनि राम्रो हुन्छ । पैसा पनि बच्छ ।

एक वर्षमा ६० अर्ब बढीको सुनचाँदी किनेर गरगहना लगाउँछौं । २ वर्ष गहना नलगाए पनि केही फरक पर्दैन । विवाह गर्दा सुनचाँदी प्रयोग गर्ने चलन हटाउने यो उपयुक्त समय हो । यो चलन हटाउने हो भने हाम्रा दिदीबहिनीहरुले सुनचाँदी दाइजो नल्याएको भनेर आफ्ना श्रीमान र आफन्तहरुबाट हिंसा सहनु पर्दैन ।

४ अर्ब बढीको मदिरा किनेर खान्छौं । सकेसम्म मदिरा नै नखाएको राम्रो खानै परे स्वदेशी तथा घरेलु मदिरा खाइदिए पुग्छ । ६ अर्बको घडी र क्यामेरा किन्छौं । मोबाइल भएपछि सायदै घडी र क्यामेराको काम छैन । क्यामेरोका हकमा व्यावसायिक प्रयोजनका लागि मात्रै केही समयका लागि किनेर प्रयोग गरिदिए पुग्छ । वा, सकिन्छ भने १ वर्षसम्म पुरानै बनाएर चलाउँदा पनि हुन्छ । ५० अर्ब बढीको मोबाइल किन्छौं । केही समय पूरानै मोवाइलले काम चलाउने हो भने त्यो बराबरको विदेशी मुद्रा जोगिन्छ । ३० करोडको त तास मात्रै किन्छौं । तास खेल्न छाडिदिनुहोस्, त्यसले परिवार र समाज कसैलाई पनि फाइदा गर्दैन । तपाईंले तास नखेलिदिँदा तपाईं र तपाईंको परिवारलाई मात्रै होइन देशलाई पनि राम्रो हुन्छ ।

साढे २ खर्ब बढीको पेट्रोलियम पदार्थ किन्छौं । पेट्रोलियम पदार्थको खपत घटाउन सकियो भने मोटो रकम विदेशी मुद्रा जोगिन्छ । नजिकै छ भने सवारीसाधनको साटो पैदल हिँड्नुहोस्, साइकल छ भने साइकल चढ्नुहोस्, सकेसम्म सार्वजनिक सवारीसाधन चढ्नुहोस् । तपाईं आफ्नै गाडी लिएर १००० किलोमिटर यात्रामा निस्किनुभयो भने २० हजार रुपैयाँको त पेट्रोल नै लाग्छ । तर, सार्वजनिक सवारीसाधन चढेर जानुभयो भने १० हजार रुपैयाँ पनि लाग्दैन ।

आफूले प्रयोग गरिरहेको निजी सवारीसाधनमा सकेसम्म लिफ्ट दिनुस् । कार्यालयहरुले एउटै टोलमा रहेका दुई वा सो भन्दा कर्मचारीलाई एउटै सवारीसाधनले ओसारपसार गरौं । एक वर्षमै कार जीप, भ्यान र मोटरसाइकल तथा स्कुटर किन्न ५० अर्ब बढी खर्च गर्छौं । यसाई पनि केही वर्ष कम्तिमा आधाभन्ढीले कटौती गर्न सकिन्छ ।

७० अर्ब रुपैयाँ बराबरको सवारीसाधनका पाटपुर्जा किन्छौं । सवारीसाधनको प्रयोग नै कम गरेको खण्डमा पाटपुर्जाको आयात पनि स्वतः कम हुन्छ । जुत्ता र तयारी कपडा मात्रै ४० अर्ब बढीको किन्छौं । नेपाली गार्मेन्ट उद्योग बजार नपाएर बन्द छन्, जुत्ता उद्योगले पनि विदेशसिँग प्रतिस्पर्धा गर्न गाह्रो परिरहेको छ । हामीले नेपाली कपडा र जुत्ता प्रयोग गर्ने हो भने पैसा पनि जोगिन्छ । र, नेपाली उद्योग पनि फस्टाउँछन् । विदेशी जुत्ताको ठाउँमा गोल्डस्टार लगाइदिए मात्रै पनि अर्बौं बच्छ ।

तपाईं खेतबारी बाँझै राखेर दलाली काम गर्नुहुन्छ भने त्यो काम आजैदेखि छाडिदिनुस् । खेतबारीमा गएर खनजोत गरी बालीनाली लगाउनु भयो भने भाउ पनि राम्रो पाउनुहुन्छ, देश पनि बच्छ ।

स्मरण रहोस् दक्षिण कोरियाका जनताले आफ्नो कपाल बेचेर विदेशी मुद्रा आर्जन गरी देश बचाएका थिए । हामी सबैले यो पटक गम्भीर भएर देशको संघारमै आइसकेको संकट टार्न लाग्यौं भने मात्रै हाम्रो भविष्य उज्ज्वल छ । हामी नेपाली वीर मात्रै छैनौं, ठूलो मन भएका र बुझकी पनि छौैं । देशका लागि मर्न त तयार हुन्छौं भने स साना कुरामा कम्प्रमाइज नगर्ने भन्ने कुरै हुँदैन ।

आउनोस् जनस्तरबाटै अभियान चलाऔं कि विदेशी मुद्रा बचाउन अबको केही महिना र वर्ष कम्प्रमाइजको समय ।


पुष्प दुलाल