सहकारी विभागले ओरेयण्टल को-अपरेटिभका अध्यक्ष सुधिर बस्नेतलाई सोध्यो १५ दिने स्पष्टिकरण



काठमाडौं । सहकारी विभागले ओरेयण्टल को-अपरेटिभका अध्यक्ष सुधिर बस्नेतलाई १५ दिने स्पष्टिकरण सोधेको छ ।

सहकारी विभागका अनुसार बिहीबार अध्यक्ष बस्नेतलाई निक्षेपकर्तालाई जग्गा दिने भनेको पैसा कसरी र कहिले दिने भन्ने बारे जानकारी गराउनु भनेर १५ दिने स्पष्टिकरण सोधेको हो । विभागका अनुसार ओरेयण्टल पीडितको गुनासो सम्बोधन गर्न भन्दै उक्त स्पष्टिकरण सोधेको हो ।

बस्नेतले २०७८ चैत २९ गते ओरेयण्टल को–अपरेटिभले निक्षेपकर्ताको सम्पती जग्गा बिक्री गरेर फिर्ता गर्ने भनेर सुचना निकालेका थिए ।

ओरेण्टलले प्रकाशित गरेको सूचनामा ओरेयण्टल को–अपरेटिभ सहकारी संस्थाका निक्षेपकर्ताहरुलाई सहकारीको तर्फबाट निक्षेप बापत भक्तपुर साविक गुण्डु गाविस हाल सुर्यविनायक नगरपालिका–७ मा रहेको जग्गा वितरण गरि निक्षेप फरफारक गर्न लागेको जानकारी गराएको छ ।

सहकारीले जग्गाको प्लानिङ्ग नक्सा तयार गरिसकिएको पनि जनाइसकेको छ । नक्सा वितरणको सहकारी विभाग मार्फत स्वीकृति लिइ, भुमी व्यवस्था तथा सहकारी मन्त्रालयमा पेश गरिएको जनाइसकेको छ । उक्त नक्सा स्वीकृत तथा कित्ताकाटको अनुमति प्राप्त भई आएपछि साँवा निक्षेपबाट राफसाफ हुने जग्गा वितरण गरिने भनिएको छ ।

तर बस्नेतले अहिलेसम्म निक्षेपकर्तालाई उक्त जग्गा कसलाई कसरी, कहिलेसम्म दिने भनेर जानकारी गराएका छैनन् । बस्नेतले पटक–पटक सूचना नै निकालेर जग्गा दिने भनेपनि निक्षेपकर्ताले नपाएको गुनासो बढ्दै गएपछि विभागले स्पष्टिकरण सोधेको बताइएको छ । अब बस्नेतले विभागमा १५ दिन भित्र कहाँको कति जग्गा निक्षेपकर्तालाई कहिले दिने हो भनेर जानकारी गराउनुपर्ने छ ।


क्लिकमान्डु