ओरेण्टल को-अपरेटिभका सुधिर बस्नेतले निक्षेपकर्ताको पैसा जग्गा दिएर फिर्ता गर्ने



काठमाडौं । ओरेण्टल को–अपरेटिभले निक्षेपकर्ताको सम्पती फिर्ता गर्ने भएको छ ।

ओरेण्टल को–अपरेटिभले सूचना जारी गर्दै सम्पती फिर्ता गर्ने भएको हो । ओरेण्टलले प्रकाशित गरेको सूचनामा ओरेण्टल को–अपरेटिभ सहकारी संस्थाका निक्षेपकर्ताहरुलाई सहकारीको तर्फबाट निक्षेप बापत भक्तपुर साविक गुण्डु गाविस हाल सुर्यविनायक नगरपालिका–७ मा रहेको जग्गा वितरण गरि निक्षेप फरफारक गर्न लागेको हो ।

यसको लागि अनलाईन मार्फत दायित्व माग गरेकोमा प्राप्त भएको दायित्व तथा पेश गर्न छुट निक्षेपकर्ताबाट अझै पनि प्राप्त हुने दायित्वका आधारमा सम्पूर्ण निक्षेपकर्तालाई उक्त जग्गा बितरण गर्ने भएको छ । यसको लागि जग्गाको प्लानिङ्ग नक्सा तयार गरिसकिएको जनाइएको छ । नक्सा वितरणको सहकारी विभाग मार्फत स्वीकृति लिइ, भुमी व्यवस्था तथा सहकारी मन्त्रालयमा पेश गरिएको को–अपरेटिभले जनाएको छ । उक्त नक्सा स्वीकृत तथा कित्ताकाटको अनुमति प्राप्त भई आएपछि साँवा निक्षेपबाट राफसाफ हुने जग्गा वितरण गरिने भनिएको छ ।

त्यसको लागि १० वटा शर्त रहेका छन् । त्यस्ता शर्तमा निक्षेपकर्ताहरुलाई अनलाईन फर्म भर्दा निक्षेपकर्ताले प्राप्त गरेको अनलाईन दर्ता नम्बरको आधारमा सिलसिलेवार रुपमा जग्गा वितरण गरिनेछ ।

जग्गा वितरणको क्रममा अत्याधिक दबाब पर्न सक्ने हुँदा कित्ता रोज्न पाईने छैन, गोला प्रणाली लागु गरिने छ । कम निक्षेप भएका निक्षेपकर्ताहरुको हकमा निजहरु मिलि संयुक्त रुपमा जग्गा लिनु पर्नेछ ।

कुल निक्षेपको आधारमा मिलि आएकाहरुको संयुक्त नाममा वा मिलि आउनेको सहमतीमा मिलि आउने मध्ये कुनै एकको नाममा जग्गा पास गरि दिईने छ । साथै एकाघर परिवारको निक्षेपलाई एउटै निक्षेप मानिने छ। कुनै निक्षेपकर्ताले आफ्नो निक्षेप वापत पाउने रकम वापत जग्गा खरिद गर्ने मानिस खोजि ल्याएमा प्रकृया पुरा गरि निक्षेप बराबरको जग्गा दिई जग्गाको मुल्य निक्षेपकर्ताले प्राप्त गर्ने गरि जग्गा पास गरि दिईने छ । तर निक्षेपकर्ताले पाउने साँवा निक्षेप भन्दा जग्गाको मूल्य बढि भएमा निक्षेपकर्ताले प्राप्त गर्ने बाहेकको रकम सहकारी संस्थाको कृषि विकास बैकमा रहेको खातामा जम्मा गरेको भौचर पेश गर्नु पर्नेछ । खाता नम्बर जग्गा वितरण स्थलमा उपलब्ध गराईनेछ ।

निक्षेप, संस्थाको दायित्व तथा जोखिम व्यवस्थापन लगायतको रकम समेतबाट हुने कुल रकम र वितरण योग्य जग्गा तथा जग्गाको आकार र प्रकारको आधारमा मुल्य निर्धारण गरिने छ । लाग्ने राजश्व तथा जग्गा वितरणमा संलग्न ‘ल’ फर्म तथा अन्य जस्तै फोटोकपी लगायतको दस्तुर निक्षेपकर्ता स्वयमले बुझाउनु पर्नेछ ।

साविकको निक्षेपकर्ताको मृत्यू भई ईच्छाएको व्यक्ति भएमा निजको नाममा जग्गापास गरि दिने लगायतको आवश्यक कार्यविधि तथा कागजातको बिषयमा जग्गा वितरणमा संलग्न ‘ल’ फर्मले तय गरि वितरण स्थलबाट जानकारी गराउने छ । जग्गा वितरण प्रकृयामा सहभगी हुन नचाहानेहरुलाई जग्गा लिन चहानेहरुको मनोभावना विपरितको क्रियाकलाप नगरि दिनु हुन साथै जग्गा वितरण कार्यबाट जग्गा लिन चाहानेहरुलाई जग्गा वितरण गरि बाँकी हुने जग्गालाई लिलाम बिक्रि गरि प्राप्त हुने रकम जो जे हुन्छ दामसाहीले बितरण गरिने छ । तर निक्षेपकर्ताले पाउने साँवा भन्दा बढि पर्ने गरि दामासहिमा पनि दिईने छैन, कम हुन आएमा पनि हिसाब बाँकी नहुने गरि जो, जे रकम प्राप्त हुन्छ सोमा निक्षेप राफसाफ भएको मानिनेछ ।

यस संस्थासँग सम्बन्धित रहेका अन्य सहकारी संस्थाका निक्षेपकर्ता तथा हाउजिङ्ग कम्पनीहरुमा बुकिङ्ग गरि लगानी गर्नु भएका लगानीकर्ताहरुका सम्बन्धमा पुनः सुचना प्रकाशित गरिने छ । कम भन्दा कम निक्षेप रहेका निक्षेपकर्ताहरुको निक्षेप रकम फिर्ता सम्वन्धमा अर्को सुचना प्रकाशित गरि वितरणको मिति तोकिनेछ ।

अनलाईन फर्म भर्न असमर्थ भई छुट हुनु भएकाहरुको हकमा माथिको प्लानिङ्ग सम्बन्धित निकायबाट स्वीकृत भई आए पश्चात् ‘ल’ फर्मको सम्पर्क कार्यालय खोलिने जानकारी पत्रिकामा प्रकाशित गरिने छ र सम्पर्क कार्यालय खुलेपछि सोही कार्यालयमा सम्पर्क गरि फर्म भर्न अनुरोध गरिएको छ ।


क्लिकमान्डु