वित्तीय व्यवस्थापन एप्लिकेसन सरकारलाई हस्तान्तरण



काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्थानीय सरकारको लागि तयार पारिएको वित्तीय व्यवस्थापन सफ्टवेयर सुत्र नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् ।

महालेखा नियन्त्रक सुमन अर्यालले उक्त वित्तीय व्यवस्थापन सफ्टवेयर ग्रहण गरेका छन् । सुत्र सरकारको पहल र बेलायतको आर्थिक सहयोगमा विकास गरिएको सफ्टवेयर हो । यसले सबै स्थानीय सरकारहरूलाई उनीहरूको सार्वजनिक वित्त व्यवस्थापन गर्न मद्दत गर्दछ।

यस अघि स्थानीय सरकारहरूले कार्यक्रम र गतिविधिहरूको योजना बनाउने, गतिविधिहरूका लागि रकम विनियोजन गर्ने, आय(व्ययको अभिलेख राख्ने र महालेखा नियन्त्रकको कार्यालयमा विभिन्न ढाँचामा प्रतिवेदन तयार गरी बुझाउने कार्यहरू झन्झटिलो एक्सल पानाहरुमा गर्थे ।

अब सुत्र मार्फत, तिनीहरूले राजस्व अनुमान गर्न, बजेट तयार गर्न, बजेट स्वीकृत गर्न, विभिन्न स्रोतहरूबाट प्राप्त कोषको विवरणराख्न,खर्च लेखा राख्न र रिपोर्टिङ गर्न साथै लैङ्गिक र सामाजिक समावेशीकरण’तथा ‘जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन’ गतिविधिका लागि बजेट विनियोजन र सञ्चालन भएरनभएको जाँच गर्न सक्नेछन् ।

सुत्रले धुलिखेल नगरपालिकाको प्रभावकारिता र पारदर्शितामा थप सुधार गर्न कसरी मद्दत गरेको छ भन्ने आफुले प्रत्यक्ष अवलोकन गरेको राजदूत पोलिटले बताए । नेपालका ७५३ स्थानीय सरकारहरूमा सार्वजनिक वित्तीय व्यवस्थापनमा जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्ने स्वदेशी एप्लिकेसन हुनु नेपालका लागि गौरवको विषय भएको बताए । सुत्रले वित्तीय तथ्यांकको गुणस्तर सुधार गर्न सहयोग गरेको छ ।

महालेखा नियन्त्रक सुमन अर्यालले सुत्रले सार्वजनिक वित्त व्यवस्थापनमा संघीय र स्थानीय सरकारको समय र पैसा दुवै बचत गरेको बताए छ । सामान्यतया, संघीय सरकारलाई अनुगमन गर्न सजिलो भएको र स्थानीय सरकारहरूको लागि दैनिक सेवा प्रवाह र रिपोर्टिङ गर्न प्रभावकारी भएको उनको भनाइ छ ।


क्लिकमान्डु