टोयटाको यात्रुबाहक बस बिक्री गर्ने इस्ट लिङ्कको आम्दानी रिबाउन्ड हुँदै, यसवर्ष २ अर्बभन्दा बढी आम्दानी हुने



काठमाडौं । बागमती प्रदेशमा टोयटाको यात्रुबाहक बस बिक्री गर्दै आएको इस्ट लिङ्क मोटर्स प्रालिको आम्दानी रिबाउन्ड हुँदै गएको छ ।

कोरोना महामारीका कारण ४४ प्रतिशतले घटेको आम्दानी पुनः रिबाउन्ड हुँदै गएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२१ मा २७ प्रतिशतले बढी आम्दानी गरेको छ । कम्पनीका अनुसार सन् २०२१ मा १ अर्ब ३६ करोड ४० लाख रुपैयाँको आम्दानी गरेको छ ।

कम्पनीले सन् २०२० मा १ अर्ब ७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । जसमा सो वर्षको तुलनामा सन् २०२१ मा कम्पनीले २७ प्रतिशतले बढी आम्दानी गरेको हो । त्यस्तै, कम्पनीले सन् २०१९ मा १ अर्ब ९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कोरोना महामारीका कारण आम्दानी कम भएको कम्पनीले सन् २०२२ को ७ महिनाको अवधिमा २ अर्ब २२ करोड १० लाख रुपैयाँको व्यापार गर्ने अनुमान गरेको छ ।

टोयाटाको नेपालको लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर सिण्डिकेट प्रालिको डिलरसिप रहेको यस कम्पनीको केन्द्रिय कार्यालय लैनचौरमा रहेको छ भने लैनचौर र कुपण्डोलमा शोरुम रहेको छ ।

कम्पनीको आम्दानी रिबाउन्ड भएसँगै नाफामा पनि सुधार आएको जनाएको छ । कम्पनीले सन् २०१७ मा २.६ र २०२० मा ३.४ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले बिक्री गर्ने सवारी साधनमध्ये प्रिमियम मूल्यको मोडलमा प्राडो, फरच्यूनर र हाइलक्स रहेको छ । सो सवारी साधनबाट मात्रै कम्पनीले आम्दानी गरेकोमध्ये ८३ प्रतिशत हिस्सा रहेको जनाएको छ । सन् २०२० मा उक्त सवारी साधनको आम्दानीको हिस्सा ७५ प्रतिशत थियो ।

नारायणप्रसाद पौडेल, राजेन्द्र विक्रम पौडेल र धनञ्जय रेग्मीको सेयर रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ७५ करोड ५० लाख रुपैयाँको रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलार्य एफोर रेटिङ दिइएको हो ।


क्लिकमान्डु