कडाइ गर्ने नीति हुँदा पनि जेठ महिनामा मात्रै १ खर्ब ५८ अर्ब बढीको आयात



काठमाडौं । सरकारले लिएको उच्च आयातमा कडाइ गर्ने नीति असफल भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको भन्दै कडाइ गर्ने नीति लिएको थियो । तर, नीति लिएको ५ महिना बितिसम्क्दा पनि आयात घटेको छैन । जसले गर्दा आयातमा कडाइ गर्ने नीति असफल भएको हो ।

राष्ट्र बैंकले गत पुस र माघमा परिपत्र जारी गर्दै ४७ वटा वस्तुको आयातमा प्रतितपत्र ९एलसी०मा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्ने नीति लिएको थियो ।

नीति लिएको ५ महिनाको अवधिमा आयात झनै बढेको सरकारी तथ्याङ्कले उल्लेख गर्दछ । कडाइ गर्ने नीति लिनुभन्दा अगाडि मासिक रुपमा १ खर्ब ६० अर्बभन्दा बढी मूल्य बराबरको आयात हुँदै आएको थियो । सोही आकारका जेठ महिनामा आयात भएको छ ।

वैशाखमा चालु आर्थिक वर्षको सबैभन्दा कम आयात भएको थियो । तर, जेठमा करिब २१ अर्ब रुपैयाँ बढी मूल्यबराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले नेपालले वैशाख महिनामा १ खर्ब ३७ अर्ब ९९ करोड ११ लाख रुपैयाँको वस्तु आयात गरेकोमा जेठमा १ खर्ब ५८ अर्ब ५७ करोड ५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । चैत महिनामा नेपालले १ खर्ब ५७ अर्ब ९२ करोड ७१ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

त्यसैगरी, नेपालले साउनमा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँको, भदौमा १ खर्ब ६३ अर्ब ७८ करोड ५३ लाख रुपैयाँको, असोजमा १ खर्ब ६४ अर्ब ६१ लाख रुपैयाँको, कात्तिकमा १ खर्ब ७१ अर्ब ७७ करोड १० लाख, मंसिरमा १ खर्ब ८८ अर्ब ११ करोड ३९ लाख रुपैयाँ, पुसमा १ खर्ब ६० अर्ब ९३ करोड ४४ लाख, माघमा १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख रुपैयाँको, फागुनमा १ खर्ब ६१ अर्ब २७ करोड ४ लाख रुपैयाँको आयात गरेको थियो ।

नेपालले ११ महिनाको अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड २३ करोड ९४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । १७ खर्बको वस्तु आयात गर्दा सबैभन्दा बढी नेपालले डिजेल आयात गरेको छ । नेपालले ११ महिनाको अवधिमा १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाखको डिजेल आयात गरेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यस्तै, सोही अवधिमा नेपालले ६२ अर्ब ९१ करोड ९८ लाख रुपैयाँको पेट्रोल, ५९ अर्ब १६ करोड ६ लाखको एलपी ग्यास र ५३ अर्ब २५ करोड ५१ लाख रुपैयाँको आइरन आयात गरेको छ ।

त्यस्तै, ४८ अर्ब ७८ करोड ४६ लाख रुपैयाँको मोबाइलफोन, ३८ अर्ब ६ करोड ६९ लाखको पाम तेल, ३६ अर्ब ५९ करोड ६५ लाखको कोइला, ३४ अर्ब ४५ करोड ९९ लाख रुपैयाँको सुन र ३२ अर्ब ६९ करोड ९४ लाखको भ्याक्सिन आयात गरेको तथ्याङ्कले देखाउँदछ ।


क्लिकमान्डु