दुई वर्षमा क्लासिक टेकको १२२%को छलाङ, भायानेटलाई उछिन्दै बन्यो चौथो इन्टरनेट कम्पनी



काठमाडौं । नेपालमा तीन दर्जनभन्दा धेरै इन्टरनेट सेवा प्रदायक सञ्चालनमा रहे पनि झन्डै आधा दर्जन कम्पनीबीच मात्रै ग्राहक बनाउने तीव्र प्रतिस्पर्धा छ ।

ग्राहकको संख्या थप्ने होडबाजीमा वर्ल्डलिंकले बजारमा एकछत्र राज गरिरहेका बेला क्लासिक टेकले छलाङ मारेको छ ।

ग्राहक सदस्यका हिसाबले नेपालका टप ५ कम्पनी इन्टरनेट सेवा प्रदायकबीच ग्राहक संख्या थप्ने होडबाजीलाई तुलना गर्ने हो भने क्लिासिक टेक सबैभन्दा अगाडि छ ।

क्लासिक टेकले २०७६ फागुनदेखि २०७८ फागुनसम्मको अवधिमा आफ्ना ग्राहकको संख्यामा १२१.५९ प्रतिशतले वृद्धि गरेको छ । यी पाँचमध्ये अन्य कुनै पनि कम्पनीले यति तीव्ररुपमा ग्राहक थप्न सकेका छैनन् ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७८ फागुन महिनाको एमआइएस रिपोर्टअनुसार क्लासिक टेकका ग्राहक संख्या २ लाख १२ हजार पुगेका छन् ।

दुई वर्षअघि उसका ग्राहक संख्या ९५ हजार ६ सय थिए ।

क्लासिक टेकले कोरोना संक्रमणको दुई वर्षमा सबैभन्दा धेरै ग्राहक थप्दै अग्रहणी केही कम्पनीलाई पछि पारेको छ । दुई वर्षअघि आफूभन्दा धेरै अघि रहेको भायानेटलाई क्लासिक टेकले पछि पारेको छ । त्यस्तै, सुबिसुको नजिक नजिक पुगेको छ ।

दुई वर्षअघि २०७६ फागुनमा भायानेटका ग्राहक १ लाख ३ हजार हुँदा क्लासिक टेकका ग्राहक ९५ हजार ६ सय थिए । २०७८ फागुनमा आइपुग्दा भायानेटका ग्राहक संख्या १ लाख ६२ हजार ३ सय हुँदा क्लासिक टेकका ग्राहक २ लाख ११ हजार पुगेका छन् ।

त्यस्तै, सुबिसुभन्दा क्लासिक टेक इन्टरनेट १० हजार ग्राहकले मात्र पछि छ । दुई वर्षअघि सुविसुका ग्राहक १ लाख १७ हजार ग्राहक थिए भने क्लासिक टेकका ग्राहक ९५ हजार ६ सय थिए ।

त्यस्तै, ग्राहकको हिसाबले सबैभन्दा ठूला इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकका ग्राहक ६ लाख २४ हजार छन् भने दोस्रो स्थानमा रहेको नेपालल टेलिकमका ग्राहक २ लाख ९९ हजार रहेका छन् ।

दुई वर्षको अवधिमा क्लासिक टेकपछि सबैभन्दा धेरै ग्राहक वृद्धि गर्ने कम्पनी सुबिसु बनेको छ । उसले ८९.४८ प्रतिशतले ग्राहक वृद्धि गरेको छ । त्यस्तै, वल्र्डलिंकले ५९.३५ प्रतिशत र भायानेटले ५७.५६ प्रतिशतले ग्राहक थपेको छ ।

नेपालमा अहिले ५७ वटा इन्टरनेट सेवा प्रदायकहरु सञ्चालनमा छन् । ५७ वटा इन्टरनेट सेवा प्रदायकहरु २० लाख ४२ हजार ग्राहक बनेका छन् ।

दुई वर्षअघि २०७६ फागुनमा ४० वटा इन्टरनेट सेवा प्रदायक सञ्चालनमा थिए । उक्त समयमा यी कम्पनीमा जोडिएका ग्राहकको संख्या १० लाख ८७ हजारभन्दा धेरै थिए ।

दुई वर्षको अवधिमा इन्टरनेट ग्राहकको संख्या ८७.८३ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारी संक्रमणकालमा इन्टरनेटमा आधारित उद्योग व्यवसाय, स्कुल, कलेज, कार्यालय, वैठकहरु सञ्चालन भएपछि इन्टरनेट ग्राहक संख्या तीव्ररुपमा बढेको देखिन्छ ।


क्लिकमान्डु