सहमतिप्राप्त गरेका बीमा कम्पनीले समितिको स्वीकृति बिना प्रक्रिया रद्द गर्न नपाउने



काठमाडौं । गाभ्ने, गाभिने तथा प्राप्तिका लागि सैद्दान्तिक सहमति प्राप्त गरेका बीमा कम्पनीहरूले प्रक्रिया आफू खुशी भंग नगर्न नपाउने भएका छन् ।

समितिको कम्पनी ऐन तथा मर्जर सम्बन्धी निर्देशिका अनुसार मर्जर सम्बन्धी प्रकृया शुरू भइ सैद्दान्तिक सहमति प्राप्त भएका तथा सहमतिका लागि निवेदन दिन इच्छुक कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो ।

गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सैद्दान्तिक सहमति प्राप्त गरेका बीमा कम्पनीहरूले मर्जर तथा एक्वीजिसन प्रकृयालाई मनासीव कारण सहित बीमा समितिको स्वीकृति नलिई आफुखुशी भंग गर्न नपाउने भएका हुन् ।

तर, बीमा कम्पनीले मानसीव कारण खुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा एक्विजिसन समितिको सहमतिसहित निवेदन पेश भएमा बीमा समितिले सैद्दान्तिक सहमति रद्द गर्न सक्ने व्यवस्था भने समितिले गरिदिएको छ ।

मर्जरपश्चात बन्ने बीमा कम्पनीमा सर्वसधारणको ३० प्रतिशत सेयर स्वामित्व हुने भएको छ ।

समितिले आज परिपत्र जारी गर्दै मर्जर पश्चात बन्ने बीमा कम्पनीहरूमा सर्वसाधारणको सेयर स्वामित्व न्यूततम ३० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको हो ।

समितिले मर्जर सम्बन्धी प्रकृया शुरू भइ सैद्दान्तिक सहमतिप्राप्त भएका तथा सहमतिका लागि निवेदन दिन इच्छुक कम्पनीहरूलाई जारी पुँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणको हुने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

समितिका अनुसार सर्वसाधरण सेयर जारी गरीसकेका वा गर्न बाँकी रहेका कम्पनीहरू समेत एक आपसमा गाभ्ने, गाभिने वा प्राप्तिका लागि योग्य मानिने छन् ।

तर, मर्जर तथा प्राप्तिपछि कायम हुने बीमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गर्नुपर्ने र नपुगेको अंश सर्वसाधारणमा सेयर जारी गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।

समितिका अनुसार मर्जर पश्चात कायम हुने बीमा कम्पनीहरूले बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए अनुसार हुनुपर्ने छ ।


क्लिकमान्डु