एफक्यानले अमर्यादित शब्द प्रयोग गरेको भन्दै बीमक संघद्वारा छलफल बहिष्कार



काठमाडौं । नेपाल बीमक संघले स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) र नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)सँग भएको छलफल बहिस्कार गरेको छ ।

संघले मंगलबार बीमा समितिमा भएको न्युनतम दररेट सम्बन्धी निर्देशिका पुनरावलोकन गर्न बसेको छलफल बहिष्कार गरेको हो । बीमा समितिको कार्यालयमा बसेको बैठकमा एफक्यानका अध्यक्षले तल्लो स्तरको अमर्यादित शब्दहरू प्रयोग गरेको आरोप संघले लगाएको छ ।

संघले विज्ञप्ती जारी गर्दै एफक्यानका प्रतिनिधिले अमर्यादित शब्दहरू प्रयोग गर्ने, बाहुवलको प्रदर्शन गर्ने, सामान्य मर्यादा समेत नगरेको आरोप लगाएको छ ।

एफक्यानका अध्यक्ष जस्तो गरिमामय पदमा आसिन व्यक्तिबाटै विधि र पद्धती अनुसार नियामक निकायलाई चल्न नदिई सर्वपक्षिय बैठकमा अमर्यादित शब्द प्रयोग गर्नु अराजकताको सीमा नाघेको संघले जनाएको छ ।

बीमक संघका पदाधिकारीहरुले पटक पटक मर्यादित पहल गर्दा पनि एफक्यानका अध्यक्षले तल्लोस्तरको अमर्यादित शब्दहरू प्रयोग गरी आरोप लगाएका करण बैठक बहिस्कार गर्न बाध्य भएको संघले जनाएको छ ।

‘बीमा समितिको कार्यालयमा बसेको बैठमा बीमक संघका पदाधिकारीहरूले पटक पटक जहाँ अफ्ठयारो छ सो विषयमा वार्ता गरी समस्या फुकाउन मर्यादित पहल गर्दा गर्दै एफक्यानका अध्यक्षले तल्लोस्तरका अमर्यादित शब्दहरू प्रयोग गरी आरोप लगाएको कारणले बैठक बहिष्कार गरी निस्कन बाध्य भयौं,’ संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सभ्य र मर्यादित तरिकाले छलफल गरि निकास निकाल्न बीमक संघ सधै तयार रहेको जनाउदै अराजकता र असभ्यताको पृष्ठपोषण कहिले पनि नगर्ने जनाएको छ ।

हाइड्रो तथा इन्जिनियरिङ बीमामा अत्यधिक दर बढाएको भन्दै निर्माण व्यवसायी र स्वतन्त्र उर्जा उत्पादक संघ(इप्पान)ले विरोध जनाउँदै आएका थिए । सो विषयमा इप्पान र नेपाल निर्माण व्यवसायी महासंघबीच छलफल हुँदै आएको थियो ।


क्लिकमान्डु