बतास ग्रुपले बेच्यो ४ अर्बका गाडी, ३३% ले बढ्यो आम्दानी



काठमाडौं । मारुती सुजुकीको आधिकारिक बिक्रेता बतास ब्रदर्स प्रालिको आम्दानी ३३ प्रतिशतले बढेको छ ।

मारुती सुजुकी, महिन्द्राको निजी सवारी-व्यवसायिक सवारी-ट्याक्टर र टीभीएसको दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्दै आएको कम्पनीको आम्दानी सन् २०२० को तुलनामा २०२१ मा ३३.३३ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२१ मा ४ अर्ब ११ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ३ अर्ब ८ करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा ४ अर्ब २६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ३ अर्ब ३० करोड २० लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ७९ करोड २० लाख रुपैयाँको रेटिङ दिएको छ ।

जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ३६ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ४२ करोड ५० लाख रुपैयाँको रेटिङ दिएको इक्रा नेपालले जनाएको छ । कम्पनीले एफोर रेटिङ पाएको छ ।

विगत दुई दशकदेखि अटोमोबाइल क्षेत्रमा कारोबार गर्दै आएको बतास ब्रदर्श प्रालि बतास अर्गनाइजेशनको एक हिस्सा रहेको छ । कम्पनीले आन्तरिक बजारमा भोल्भो इचर सीभी र क्याटरपिलर ब्रान्डका निर्माण सामग्री बिक्री गर्दै आएका छन् । सन् २०२० मा कोभिड-१९ का कारण ३० प्रतिशतले आम्दानी घटेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा ५.४ प्रतिशतले नाफा कमाएको जनाएको छ । कम्पनीअनुसार २०२१ मा सबैभन्दा बढी टे्याक्टरबाट उच्च नाफा कमाएको छ । कम्पनीले विभिन्न सवारी साधन बिक्री गर्दै आएकोमा सन् २०२१ मा आम्दानी गरेकोमध्ये दुई पाङ्ग्रे सवारी साधनको हिस्सा ३४ प्रतिशत रहेको छ । त्यसपछि व्यवसायिक सवारीको २९ प्रतिशत, निजी सवारीको २६ प्रतिशत र ट्याक्टरको ११ प्रतिशत रहेको छ ।

कम्पनीले बजारमा रहेको दुई पाङ्ग्रे सवारी साधन बजाज, होन्डा र यामाहा र चार पाङ्ग्रे सवारी साधनमा हुन्डाई, किया र टाटाको डिलरसँग उच्च प्रतिस्पर्धा रहेको छ । तर, कम्पनीले बजारमा उच्च माग रहेको स्कुटर एटीओआरक्यू, महिन्द्रा बोलेरो र सुजुकी र ब्रेजाबाट मात्रै ६१ प्रतिशत आम्दानी गरेको छ । आनन्द राज बतास, शान्त राज बतास र बिपेन्द्र राज बतासको शेयर रहेको बतास ब्रदर्शको पोखरामा ३ वटा शोरुम र ४ वटा वर्कशप छन् ।


क्लिकमान्डु