१८ प्रतिशतमा पुग्यो स्वास्थ्य बीमा, प्रदेश १ को सहभागिता उच्च, कुन प्रदेशको अवस्था कस्तो ?



काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम कुल जनसंख्याको १८.६४ प्रतिशत जनतामा पुगेको छ ।

स्वास्थ्य बीमा बोर्डकाअनुसार हालसम्म १८ लाख ३५ हजार ७२० घरधुरीका ५६ लाख २९ हजार ६२० जनामा स्वास्थ्य बीमाको पहुँच पुगेको हो ।

‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्दै सरकारले २०७२ चैत २५ मा स्वास्थ्य बीमा कार्यक्रम ल्याएको थियो । स्वास्थ्य बीमामार्फत आफ्ना नागरिकहरूको स्वास्थ्य उपचारको अधिकार सुनिश्चित गर्ने सरकारको लक्ष्य थियो ।

उक्त कार्यक्रम देशभरका ७७ वटै जिल्लामा विस्तार भएको छ ।

तथ्यांकअनुसार कार्यक्रममा प्रदेश १ को सहभागिता उच्च देखिएको छ । हालसम्म यस कार्यक्रममा प्रदेश १ का १८ लाख १४ हजार ४३७ जना सहभागि भएका छन् । जुन कुल बीमितको ३२.२३ प्रतिशत हो ।

प्रदेश १ पछि बागमती सहभागिता अन्य प्रदेशको तुलनामा बढी छ । यस कार्यक्रममा हालसम्म ११ लाख २२ हजार भन्दा धेरैले सहभागिता जनाएका छन् । जुन कुल बीमित संख्याको १९.९३ प्रतिशत हो ।

यस्तै, यस कार्यक्रममा लुम्बनी प्रदेशका ८ लाख ६४ हजार जना, गण्डकी प्रदेशका ६ लाख ९० हजार, सुदुरपश्चिम प्रदेशका ४ लाख ६४ हजार जना सहभागि भएका छन् ।

यस्तै, यस कार्यक्रममा मधेश प्रदेशबाट ३ लाख ६४ हजार र कर्णाली प्रदेशबाट ३ लाख १९ हजार जना सहभागि भएका छन् ।

कार्यक्रममा पुरूषको तुलनामा महिला सहभागिताको आकर्षण बढ्दो छ । हालसम्ममा २६ लाख २१ हजार पुरूष सहभागी भएका छन् । जुन कुल बीमितको ४३.३४ प्रतिशत हो । भने २९ लाख ७ हजार महिला सहभागि भएका छन् । कुल बीमित संख्यामा महिलाको संख्या ५१.६४ प्रतिशत हो ।

कार्यक्रममा सहभागि भएका मध्ये १४ वर्ष उमेर समूहका बीमितको संख्या १० लाख, १५ देखि १९ वर्ष उमेर समूहका बीमितको संख्या १३ लाख ४० हजार, ३० देखि ३९ उमेर समूहका बीमितको संख्या ७ लाख ७३ हजार, ४० देखि ५९ उमेर समूहका बीमितको संख्या १२ लाख २१ हजार र ६० वर्षदेखि माथिका बीमितको संख्या १२ लाख ९३ हजार छ ।

हालसम्म स्वास्थ्य बीमा कार्यक्रमबाट १२ अर्ब ४९ करोड रूपैयाँ बराबरको बीमाुशल्क संकलन भएको छ ।

कुल बीमाशुल्क संकलनमा प्रदेश १ को योगदान ३०.१५ प्रतिशत, मधेश प्रदेशको योगदान ६.८२ प्रतिशत, वागमती प्रदेशको योगदान १८.४७ प्रतिशत, गण्डकी प्रदेशको योगदान १३.९८ प्रतिशत, लुम्बिनी प्रदेशको योगदान १६.३९ प्रतिशत, कर्णाली प्रदेशको योगदान ४.६५ प्रतिशत र सुदुरपश्चिम प्रदेशको योगदान ९.५५ प्रतिशत छ ।

स्वास्थ्य बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ । प्रति ५ जनाको परिवारले वार्षिक ३५०० रूपैयाँ तिनुपर्ने हुन्छ । परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७०० रूपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ ।

बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रूपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

स्थानीय गाउँ, नगर, उप तथा महानगरपालिकाका प्रत्येक वडामा एक÷एक जना दर्ता सहयोगी नियुक्ति गरी बीमा दर्ता र नवीकरण गर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु