अर्थमन्त्रीको निर्देशन: बजेट केन्द्रित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदा बनाउनु



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट केन्द्रित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन निर्देशन दिएका छन् ।

राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल गरी सुझावहरू सङ्कलन गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारको मुख्य उद्देश्य गरिबी न्यूनीकरण भएकाले गरिबी न्यूनीकरणमा ठोस योगदान पुग्ने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन समितिलाई निर्देशन दिएका हुन् ।

आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रूपमा प्रस्तुत गरिएकाले सोही अनुसार निर्देशित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन निर्देशन दिए ।

अर्थमन्त्री शर्माले लघुवित्त र लघुबीमालाई तालमेल गरी दुबैलाई सँगसँगै जनता नठगिने किसिमले दूरदराजका गरीव एवम् साना किसानसम्म पु¥याउन निर्देशन दिए ।

ठूला टावरका साथै सरकारी र निजी क्षेत्रका संरचनाहरुको समेत बीमा गर्ने र कृषि तथा पशुपन्छी बीमाको दाबी सजिलै पाउने गरी कृषि तथा पशुपन्छी बीमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री शर्माले राष्ट्रिय पुँजी निर्माण र उत्पादनमा बीमालाई परिचालन गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरे ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्बद्ध सबै सरोकारवालाहरुको सुझाव र बीमा सम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन एवम् अभ्यास समेतका आधारमा राष्ट्रिय बीमा नीतिको मस्यौदा तयार गरिएको जानकारी दिए । राष्ट्रिय बीमा नीति आएपछि सोही नीति अनुरुप प्रदेश र स्थानीय बीमा नीति तर्जूमा हुने विश्वास व्यक्त गरे ।

कार्यदल गठन

राष्ट्रिय बीमा नीतिका सम्बन्धमा प्राप्त सुझावहरूलाई समेटेर व्यवस्थापिका संसद्मा प्रस्तुत बीमा विधेयकसँग तादात्म्य मिलाउने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई परिमार्जन गरी अन्तिम रूप दिन एक कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको अध्यक्षतामा गठित कार्यदलका सदस्यहरूमा अर्थ मन्त्रालय, कानून तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिववहरू तथा बीमा समितिका निर्देशक रहेका छन् ।


क्लिकमान्डु