यी ९ ठाउँमा जुनैबेला पनि इन्टरनेट बन्द हुनसक्छ: इन्टरनेट सेवा प्रदायक



काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक संघले मुलुकका विभिन्न ९ ठाउँमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्च स्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै इलाम, बिराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, दुहवी, लहान र डोटीमा कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जनाएको हो ।

प्राधिकरणले गैरकानुनी ढंगले इन्टरनेट प्लाइन्ट (डाटा सेन्टर, पीओपी) र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटीसमेतको विद्युत लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको संघले जनाएको छ ।

प्राधिकरणले यी स्थानमा विद्युत लाइन काटिनाले त्यहाँ ब्याकअप सिस्टमको प्रयोग भइरहेको संघले जनाएको छ । अहिले व्याकअप सिस्टमले गर्दा मात्रै उक्त स्थानहरुमा इन्टरनेट चलिरहेको छ ।

ब्याकअप सिस्टमले धान्न छोडेपछि यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

नेपाल सरकारको उच्च स्तरीय समितिको प्रतिवेदनअनुसार पोल भाडा तिर्न तत्पर रहेको पनि इन्टरनेट सेवा प्रदायक संघले जनाएको छ ।


क्लिकमान्डु