बीमा कम्पनीको लगानी विविधिकरण हुन सकेन, ७०% मुद्दती निक्षेपमा सीमित



काठमाडौं । बीमा समितिले जारी गरेको ‘बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५’ लाई बीमा कम्पनीहरूले उल्लंघन गरेका छन् ।

समितिले लगानीको दायरा फराकिलो बनाए पनि सो व्यवस्थाअनुसार कम्पनीहरूले विविधिरण गर्न नसेकेका हुन् ।

बीमा समितिले बीमकको लगानीसम्बन्धी निर्देशिका २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।

तर, लगानीको दायरा फराकिलो भए पनि बीमा कम्पनीको लगानी भने अझै पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै सीमित भएको हो ।

बीमा कम्पनीहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि लगानीका क्षेत्रहरू पनि बिस्तार गर्नुपर्ने कम्पनीहरूले माग गर्दै आएका थिए । सोहीबमोजिम समितिले लगानी निर्देशिका नै जारी गरेको थियो । लगानी निर्देशिका जारी भएको ३ वर्ष बित्दा पनि सो बमोजिम कम्पनीहरूले आफ्नो लगानीलाई विवधिरण नगरेका हुन् ।

बीमा कम्पनीहरूको मुख्य आम्दानीको स्रोत नै बीमितबाट संकलित रकम लगानीबाट प्राप्त हुने प्रतिफल हो । बीमितबाट संकलित बीमाशुल्कलाई कम्पनीहरूले उद्योग, व्यवसाय, बैंकको निक्षेपलगायत अन्य विभिन्न क्षेत्रमा लगानी गर्छन् । त्यसबाट हुने प्रतिफल नै बीमा कम्पनीहरूको मुख्य आम्दानी हो ।

समितिले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार बीमा कम्पनीहरूको कुल लगानीको ७०.७३ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा सीमित छ । ७० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थामा केन्द्रित हुँदा प्राथमिकताका क्षेत्रमा बीमा कम्पनीहरूले लगानी गरेका छैनन् ।

४१ वटा बीमा कम्पनीहरूले ५ खर्ब ३७ अर्ब ५ करोड ९३ लाख रूपैयाँ कुल लगानी गरेका छन् । कुल लगानीमध्ये कम्पनीहरूले यस अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३ खर्ब ७९ अर्ब ८५ करोड २७ लाख रूपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ७०.७३ प्रतिशत हो ।

जसमध्ये कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ६७.७४ प्रतिशत, विकास बैंकको मुद्दती निक्षेपमा २.६४ प्रतिशत र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ०.५३ प्रतिशत लगानी गरेका छन् ।

कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ३ खर्ब ६३ करोड ७९ लाख रूपैयाँ, विकसा बैंकको मुद्दती निक्षेपमा १४ अर्ब १९ करोड ६४ लाख रूपैयाँ र फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा २ अर्ब ८३ करोड ६१ लाख रूपैयाँ लगानी गरेका छन् ।

यस अवधिमा पुनर्बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८७.९२ प्रतिशत, जीवन बीमा कम्पनीले ६८.४१ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरूले ८२.७६ प्रतिशत लगानी गरेका छन् ।

अन्य क्षेत्रको तुलनामा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरिएको लगानी सुरक्षित हुने हुनाले कम्पनीहरू यसैतर्फ केन्द्रित हुने गरेको सरोकारवालाहरू बताउँछन् ।

समितिद्वारा जारी लगानीसम्बन्धि निर्देशकाअनुसार बीमा कम्पनीहरूले घर जग्गामा कुल लगानीको न्यूनतम ५ प्रतिशतसम्म लगानी गर्न पाउँछन् । तर, ४१ बीमा कम्पनीमध्ये एउटा कम्पनीले मात्रै घर जग्गामा लागानी गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले मात्रै घर जग्गामा लगानी गरेको हो । तेस्रौ त्रैमाससम्मको अवधिमा नेशनल लाइफले ३६ करोड २४ लाख रूपैयाँ लगानी गरेको छ । जुन कम्पनीहरूले गरेको कुल लगानीको ०.०७ प्रतिशत मात्रै हो ।

लगानी निर्देशिकाअनुसार कम्पनीहरूले नेपाल सरकारको बचतपत्रमा न्यूनतम ५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ । तर, कम्पनीहरूले कुल लगानीको ०.४९ प्रतिशत मात्रै लगानी गरेका छन् ।

नेपाल पूर्वाधर बैंकको मुद्दती निक्षेपमा कम्पनीहरूलाई न्यूनतम ४० प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था समितिले गरिदिएको छ । तर, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीले भने यस क्षेमा लगानी नै गरेका छैनन् ।

जीवन बीमा कम्पीहरूले पनि २५ करोड रूपैयाँ मात्रै लगानी गरेका छन् । जुन कुल लगानीको ०.०५ प्रतिशत मात्रै हो ।

समितिले प्रत्येक कम्पनीलाई सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने सीमा तोकिदिएको छ । यस अवधिमा कम्पनीहरूले कुल लगानीको १.९२ प्रतिशत लगानी गरेका छन् ।

क, ख र ग बर्गको बैंक तथा वित्तीय संसथाको अग्राधिकार सेयर र ऋणपत्रमा कम्पनीहरूले कुल लगानीको ५.६८ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा ४.४५ प्रतिशत, कृषि, पर्यटन र जलस्रोतलगायतका पूर्वाधारमा ७.७१ प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ०.०७ प्रतिशत र अन्य लगानीमा ७.९६ प्रतिशत लगानी गरेका छन् ।

हरेक कम्पनीहरूले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा बढिमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोतलगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत र म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था समितिले गरिदिएको छ ।

यस्तै, कम्पनीहरूले वाणिज्य बैंकका मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, विकास बैंकको मुद्दती निक्षेपमा बढीमा २० प्रतिशत र फाइनान्स तथा वित्त कम्पनीमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।


क्लिकमान्डु