विद्युतीय सवारीमा फेरि लगाइयो अन्तशुल्क, भन्सार दोब्बर हुँदा गाडी झन महंगो



काठमाडौं । सरकारले विद्युतीय गाडी प्रवद्र्धन गर्ने आफ्नै नीति विपरित भन्सार शुल्क वृद्धिसँगै अन्तशुल्क पनि लाग्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट विद्युतीय गाडीको अन्तशुल्क लाग्ने व्यवस्था गरेका छन् । यसअघि विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था थिएन । त्यस्तै, भन्सार करमा वृद्धि गरेको गरेको छ ।

यसअघि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीको कर बढाएको भन्दा व्यापक विरोध भएको थियो । विरोधपछि भने उनले उक्त करमा पुनरावलोकन गरेका थिए ।

सरकारले सार्वजनिक गरेको नयाँ कर अनुसार २ सय किलोवाटभन्दा बढी ३ किलोवाटभन्दा कमका विद्युतीय गाडीको अन्तशुल्क ६० प्रतिशत कायम गरिएको छ ।

त्यस्तै, १०० किलोवाटभन्दा बढी २ सयभन्दा कमको विद्युतीय गाडीको अन्तशुल्क ३० प्रतिशत लगाइएको छ ।

१०० किलोवाट विद्युतीय गाडीको अन्तशुल्क भने लगाइएको छैन ।

त्यस्तै, नयाँ बजेटले विद्युतीय गाडीको भन्सार शुल्क समेत बढाएको छ । जस्तो कि सरकारले मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार जीप, कार र भ्यान वस्तुको आयातमा २० प्रतिशत भन्सार शुल्क बढाएको छ । सरकारले हाल उक्त वस्तुको आयातमा ४० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो ।
आगामी आर्थिक वर्षमा उक्त वस्तु आयात गर्दा ६० प्रतिशत भन्सार शुल्क तिनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले मोटरको पिकपावर १०० किलोवाटभन्दा बढीको तर २०० किलोबाट ननाघेको कार, जीप र भ्यानबाहेक अन्य वस्तुको आयातमा ५ प्रतिशत भन्सार शुल्क बढाएको छ ।

हाल उक्त आयातित वस्तुको आयातमा १० प्रतिशत भन्सार महसुल छ । तर, सरकारले आगामी आर्थिक वर्षका लागि १५ प्रतिशत भन्सार शुल्क कायम गरेको छ ।

सरकारले बजेटमार्फत काठमाडौं उपत्यका लगायका सरहमा विद्युतीय गाडीलाई प्रवद्र्धन गर्ने घोषणा पनि गरेको छ । उसले बढाएको कर र नीतिमा भने मेल खादैन ।

विद्युतीय गाडी बिक्रेताका अनुसार सरकारले अन्तशुल्क तथा भन्सार बढाएपछि यसको ५० प्रतिशतसम्मले मूल्य बढ्ने देखिएको छ ।


क्लिकमान्डु