प्रधानमन्त्री सहमत भए कर्मचारीको तलब बढ्ने, बृद्धभत्ता पाउने उमेर घट्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अन्तिम परामर्श गरेपछि मात्र बजेटमा कर्मचारीको तलब बढाउने तथा बृद्ध भत्ता बढाउने निर्णय बजेट निर्माणमा संलग्न टोलीले गर्ने भएको छ ।

अहिले बजेट निर्माणलाई अन्तिम रुप दिने काम अर्थमन्त्रालयमा चलिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार ल्याउन लागेको बजेटको लागि अर्थसचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुस्कर, बजेट महाशाखा प्रमुख चक्र बुढा र अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीको टीमले काम गरिरहेको छ ।

बजेट निर्माणमा संलग्न टोलीले कर्मचारीको तलब न्यूनतम १० प्रतिशत बढाउने तथा बृद्धभत्ता पाउने उमेरलाई ६५ वर्ष घटाउने तयारी गरेको छ ।

तर, अहिलेसम्म तलब बढाउने बृद्धभत्ता पाउने उमेर घटाउने कुरा राखिए पनि कति गर्ने विषयमा प्रधानमन्त्रीसँग परामर्श गरेपछि अन्तिम टुंगो लाग्ने स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्षमा झार्ने निर्वाचन अगाडि नै घोषणा गरेका थिए ।

देउवाले ५ वर्ष अगाडि प्रतिनिधिसभाको निर्वाचन हारेपछि बृद्धभत्ता पाउने उमेरलाई ६५ वर्षमा झारेका थिए ।

तर, केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि देउवाको निर्णयलाई उल्टाएका थिए ।

सरकारले पूर्वाधार क्षेत्रमा विशेष प्राथमिकता दिने गरेर बजेट ल्याउने छ । तर, पपुलर हुने कार्यक्रमहरुको बारेमा अर्थमन्त्री शर्माले प्रधानमन्त्रीसँग परामर्श गरेर अन्तिम निर्णय लिनेछन् ।


क्लिकमान्डु