एनसेलको नेटवर्कमा एक करोड १५ लाख ग्राहकले बोक्छन् स्मार्टफोन



काठमाडौं । मुलुकमा स्मार्टफोनको बजार तीव्र रुपमा बढेसँगै मोबाइल नेटवर्कमा यसको प्रयोग धेरै देखिन थालेको छ ।
निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा अहिले स्मार्टफोन प्रयोगकर्ता झण्डै १ करोड १५ लाख पुगेका छन् ।

यो संख्या भनेको एनसेलको कुल ग्राहक संख्याको ६८ प्रतिशत हो । एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०२२ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार एनसेलका कुल ग्राहकमध्ये ६८ प्रतिशतले स्मार्टफोन प्रयोग गरिरहेका छन् ।

उक्त विवरणअनुसार हाल एनसेलको कुल ग्राहक संख्या एक करोड ६८ लाख ८६ हजार रहेका छन् । यसमा ६८ प्रतिशत भनेको १ करोड १४ लाख ८२ हजार ४ सय ४८ हो ।

गत वर्ष सोही अबधिको तुलनामा एनसेल नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ता संख्या ३ प्रतिशतले बढेर ६८ प्रतिशत पुगेको हो । सन् २०२१ को पहिलो त्रैमासमा एनसेलको नेटवर्कमा ६५ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्थे ।

पछिल्लो पाँच वर्षमा नेपालमा एनसेलका स्मार्टफोन प्रयोगकर्ता २६ प्रतिशतले वृद्धि भएका छन् । उसको विवरणअनुसार सन् २०१६ मा उसका कुल ग्राहकमध्ये ४२ प्रतिशतले स्मार्टफोन बोक्थे । उक्त संख्या २०१७ मा ५२ प्रतिशत, २०१८ मा ५९ प्रतिशत र सन् २०१९मा ६२, २०२० मा ६५ र २०२१ मा ६६ प्रतिशत पुगेको थियो ।

आजियाटाले नेपालबाहेक मलेसिया, बंगलादेश, श्रीलंकामा पनि मोबाइल सेवा सञ्चालन गरेको छ । आजियाटाको लगानी रहेको दक्षिण एसियाका अन्य कम्पनीहरु जस्तै बंगलादेशको रोबी र श्रीलंकाको डायलगकै तुलनामा पनि एनसेलमा धेरै स्मार्टफोन प्रगोगकर्ताहरु रहेका छन् ।

सन् २०२२ को पहिलो त्रैमासिसम्ममा रोबीको नेटवर्कमा ५३ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन् भने डायलग ७३ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्छन् ।

त्यस्तै, मलेसियाको सेलकम र इन्डोनेसियाको एक्सएलमा ९३ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्छन् ।
नेपालमा स्मार्टफोनको प्रयोग तीव्ररुपमा फैलिरहेको छ । सस्तो र विदेशबाट ल्याउन सक्ने पहुँच भएपछि मुलुकका हरेक कुनामा स्मार्टफोनको पहुँच बढेको छ ।

साथै, फोरजीको विस्तार भएसँगै स्मार्टफोन र डाटा प्रयोग गर्ने उपभोत्ताको संख्या उल्लेख्य रुपमा बढिरहेको छ ।

एनसेलले मुलुकभर थ्रिजी र मुख्य सहरहरुमा फोरजी सेवा विस्तार गरेको छ । फोरजीको विस्तारसँगै स्मार्टफोनको प्रयोगकर्ता पनि वृद्धि हुँदै गएको एनसेलले जनाएको छ ।

हाल एनसेलका कुल ग्राहकमध्ये ५४.३ प्रतिशतले डाटा सेवा लिएको वित्ती विवरणमा उल्लेख छ । गत वर्षको पहिलो त्रैमासनमा कुल ग्राहकमध्ये ५० प्रतिशतले डाटा सेवा लिएका थिए । पछिल्लो विवरणअनुसार एनसेलले कुल आम्दानीको ३१ प्रतिशत डाटा खपत गर्छन् । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २४ प्रतिशत थियो ।

डेटाको खपत बढ्दै जाँदा एनसेलको कुल आयमा डाटाबाट हुने योगदान बढ्दै गएको जनाएको छ । स्मार्टफोनको मूल्य घट्नुको साथै डेटा प्याकमा सुविधाहरु आउँदा स्मार्टफोनको प्रयोग बढिरहेकोछ ।

यस प्रतिवेदन अनुसार एनसेलको नेटवर्कमा प्रति ग्राहक प्रति महिना इन्टरनेट खपत ३ हजार १ सय ८५ पुगेको छ । यो गतवर्ष सोहीको सोही अबधिमा २ हजार ७ सय ९८ थियो ।

एनसेलका मुलकभर थ्रिजी बिटिएस टावर ३ हजार २ सय ८१ र फोरजी बिटिएस टावर ३ हजार ७ सय १२ रहेका छन् ।

स्मार्टफोनको प्रयोग र डाटा खपत बढिरहेको भए पनि उनसेलको आम्दानीमा भने ह्रास आएको छ । सन् २०२२ को पहिलो त्रैमासको रिपोर्टअनुसार ९ अर्ब ७० करोड ९० लाख रुपैयाँ आम्दानी भएको छ । गत वर्षको सोही अवधिमा उक्त आम्दानी १० अर्ब ५३ करोड २० लाख रुपैयाँ थियो ।


क्लिकमान्डु