राइड सेयरिङ एप इनड्राइभरको सेवा काठमाडौंमा शुरु, शुल्क बार्गेनिङ गर्न सकिने



काठमाडौं । अन्तर्राष्ट्रिय राइड सेयरिङ सेवा इनड्राइभरले काठमाडौंमा आफ्नो सेवा शुरु गरेको छ ।

यसअघि पनि काठमाडौंमा बाइक तथा ट्याक्सीहरुले इनड्राइभर सेवा शुरु गरिसकेका बेला कम्पनीले काठमाडौंमा यो सेवा उपलब्ध गराएको जनाएको छ ।

इनड्राइभर काठमाडौंमा पहिलदेखि सञ्चालनमा रहेको पठाओ र टुटल जस्तै सेवा हो तर यसमा भने उपभोक्ताले मूल्यमा मोलमोलाइ गर्न सक्नेछन् । जस्तो कि कुनै ठाउँमा जानको लागि एपबाट रिक्वेष्ट पठाएपछि एकै पटक धेरै चालकको विभिन्न मूल्यको अफर आउँछ । एपमा न्यूनतम मूल्य पनि तोकिएको हुन्छ । उक्त मूल्ये जसले सस्तोमा लैजाने अफर गर्छ त्यही सेवा लिन सकिन्छ ।

साथै, ग्राहकले पनि आफ्नो मूल्य सुझाउन सक्ने कम्पनीले जनाउको छ । अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरुभन्दा अलग रहेको भन्दै इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा दिएको छ ।

चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेशन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको सख्याका आधारमा छनोट गर्न सक्नेछन् ।

इनड्राइभरको सेवा काठमाडौंमा शुरु गर्न पाउँदा खुसी लागेको इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले बताइन । यो सेवा छिट्टै अन्य सहरमा पनि शुरु गर्ने उनको भनाइ छ ।

इनड्राइभरको सेवा शुरु भएको अवसरमा सेवा सञ्चालनमा आएको ६ महिनासम्म चालकसँग कुनै कमिसन नलिने कम्पनीले जनाएको छ । यसले गर्दा उपभोक्तालाई अझ सस्तो पर्ने छ । इनड्राइभरको सेवा काठमाडौंमा चलेका अन्य राइड सेयरिलङ सेवा प्रदायकको भन्दा तुलनात्मक रुपले कम हुने जनाएको छ । इनड्राइभरले हालसम्म नेपालमा ४ हजारभन्दा बढी चालकहरुलाई साइन अप गरिसकेको नन्दाले बताइन ।

राइड रिक्वेस्ट बूक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्ट लगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रविष्ट गर्नुपर्नेछ।

सिस्टममा रजिस्टर भएका चालकहरुले तुरुन्त नोटिफिकेशन प्राप्त गर्ने र त्यसपछि अर्डर स्विकार गर्ने, अस्विकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन् । इनड्राइभर ग्लोबल आईटी तथा यातायात प्लेटफर्म हो । इनड्राइभर विश्वकै सबैभन्दा तीव्र रुपमा वृद्धि भइरहेको अनलाइन राइडहेलिङ सेवा हो ।

यसका सेवाहरु विश्वभरका ४२ देशका ६ सय शहरमा उपलब्ध छन्। कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ । इनड्राइभरले अन्तरसहर यातायात, फ्रेट तथा कार्गो सेवा तथा विभिन्न सहरमा डेलिभरीलगायतका अन्य सेवा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

इनड्राइभरको मुख्यालय अमेरिकास्थित क्यालिफोर्नियाको माउन्टेन भ्यूमा रहेको छ भने यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरुमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ । यसले १ हजार ७०० जनालाई रोजगारी दिएको छ ।
२०२१ को शुरुवातमा इनड्राइभरले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बण्ड क्यापिटलको १५ करोड डलर लगानी सहित यूनिकर्न स्टाटस प्राप्त गरेको थियो । यो प्रक्रियामा कम्पनीको मूल्यांकन १ अर्ब २३ करोड डलर गरिएको थियो ।


क्लिकमान्डु