चुनावको समयमा डेटा खपत ह्वात्तै बढ्यो, दैनिक ८५३ टेराबाइटसम्म प्रयोग



काठमाडौं । वैशाख ३० गते मुलुकभर स्थानीय तह निर्वाचन २०७९ सम्पन्न हुँदै गर्दा आर्थिक गतिविधि बढेको छ ।

योबेला बैंकबाट पैसा बाहिरिने क्रम बढ्यो भने सूचना तथा सञ्चार प्रविधिको प्रयोग पनि अत्यधिक भएको छ । चुनावको बेलामा आम सर्वसाधरणदेखि कार्यकर्ता, नेता र दलहरुले पनि सामाजिक सञ्जालको प्रयोग धेरै गरे ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै डेटा खपत पनि ह्वात्तै बढेको छ । दूरसञ्चार कम्पनी नेपाल टेलिकमको तथ्यांकअनुसार चुनावको समयमा डेटा खपत दैनिक ८५३ डेराबाइटसम्म प्रयोग भएको छ ।

एक टेराबाइटमा १०२४ जिबी हुन्छ । त्यस हिसाबले हेर्दा एकदिनमा ८ लाख ७३ हजार ४ सय ७२ जिबी डेटा खपत भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार चुनाव सकिएको तेस्रो दिन अर्थात् जेठ १ गते सबैभन्दा धेरै डेटा खपत भएको थियो ।

‘जेठ १ गते सबैभन्दा धेरै डेटा खपत भएको देखिन्छ,’ अधिकारीले भने, ‘वैशाख २७ गतेको तुलनामा १३ प्रतिशतले बढी हो ।’

नेपाल टेलिकमले चुनाव हुनुअघि तीन दिनअघि वैशाख २७ गतेको तुलनामा चुनाव सकिएको तेस्रो दिन जेठ १ गते डेटा खपत १३ प्रतिशतले वृद्धि भएको थियो ।

चुनावको तीनअघिदेखि डेटा खपत क्रमशः बढेर चुनावको तेस्रो दिन उच्च विन्दुमा पुगेको थियो । त्यो क्रमशः घट्दै गएर अहिले नियमित अवस्थामा आइसकेको उनले बताए ।

डेटा खपत ह्वात्तै बढेको भए पनि भ्वाइस सेवामा भने खासै परिवर्तन देखिएको छैन । भ्वाइस सेवा अन्य सामान्य अवस्थामा जस्तै प्रयोग भएको उनले बताए ।

त्यस्तै, एनसेलमा पनि चुनावको समयमा डेटा खपत उल्लेख्य प्रयोग भएको जनाएको छ । योबेला एसएमएस, डेटा र भ्वाइस सेवामा वृद्धि भएको उसको भनाइ छ ।

चुनावअघि एनसेल स्थानीय चुनाव लक्षित अफरहरु ल्याएको थियो । एपबाट रिचार्ज गर्दा ५० एमबीदेखि ५०० एमबीसम्मको डेटा बोनस दिएको थियो ।

त्यस्तै नेपाल टेलिकमले पनि ९८ रुपैयाँमा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस, डेटा र एसएमएस अफर उपलब्ध गराएको थियो ।


क्लिकमान्डु