‘भैरहवाबाट श्रम स्वीकृती दिने व्यवस्था शुरु नभए जजिराको उडान बन्द हुनसक्छ’



काठमाडौं । सरकारले भैरहवाबाट श्रम स्वीकृती दिने व्यवस्था शुरु नगरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न कठिन हुने जजिरा एयरवेजले जनाएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि जजिरा एयरवेजका जनरल सेल्स एजेण्ट (जीएसए) सोसाइटी इन्टरनेशनलका अध्यक्ष रविचन्द्र सिंहले सधैं काठमाडौंबाट भैरहवा यात्रु लगेर अन्तर्राष्ट्रिय उडान गर्न नसकिने बताए ।

‘हामीले यात्रुहरुलाई ७५ हजार रुपैयाँ बस भाडा खर्च गरेर काठमाडौंबाट भैरहवा लगेर उडान शुरु गरेका हौं,’ सिंहले भने, ‘सधैं काठमाडौंबाट यात्रु लगेर उडान गर्ने भन्ने हुँदैन । त्यसैले भैरहवाबाटै श्रम स्विकृती दिने व्यवस्था गर्न सरकारसँग हाम्रो आग्रह छ ।’

हाल काठमाडौंमा श्रम स्वीकृती लिएका व्यक्तिलाई बसबाट भैरहवा लैजाने गरिएको छ ।

सिंह काठमाडौंबाट विमानमा यात्रुलाई भैरहवा लैजाने विषयमा समेत कुराकानी भइरहेको बताउँछन् ।

‘श्रम स्वीकृतका कार्यालय आउने समय निश्चित हुने रहेछ,’ सिंहले भने, ‘त्यसैले विमानबाट भैरहवा लैजाने विषयमा टुंगो लागेको छैन् ।’

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थललाई सफल बनाउन १ महिनासम्म काठमाडौंबाट यात्रु लगेर भए पनि उडान गर्न आफूहरु तयार भएको सिंहको भनाइ छ ।

‘आज मात्रै श्रममन्त्रीसँग यस विषयमा कुरा भएको थियो,’ सिंहले भने, ‘उहाँले तत्कालै भैरहवाबाट श्रम स्विकृती दिने व्यवस्था शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । त्यसैले भैरहवाको उडान नियमित हुन्छ भन्नेमा हामी आशावादी छौं ।’

जजिरा एयरवेजका भाइस प्रेसिडेन्ट रविन्द्रन भाराथनले सरकारी निकायले प्रतिवद्धता अनुसार सहयोग गरे आगामी तीन महिनाभित्र भैरहवाबाट नियमित उडान गर्ने बताए ।

‘नयाँ विमानस्थलमा जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै हामीहरु भैरहवा आएका हौं,’ भाराथनले भने, ‘हामीले सम्भाव्यता अध्ययन गर्दा भैरहवाबाट व्यापार हुन सक्ने देखेरै उडान शुरु गरेका हौं, तर यसका लागि सरकारी निकायले भने सहयोग गर्नुपर्छ ।’

कुवेतबाट जजिराले बेलायत, अष्ट्रिया, दोहा, ओमानलगायतका देशमा उडान गरिरहेकाले भैरहवाबाट सिधैं बेलायतलगायतका गन्तव्यका लागि टिकट काट्न सकिने भाराथनको भनाइ छ ।

हाल जजिरा एयरवेजसँग १७ विमान भएको भन्दै आगामी दिनमा जजिराले विमान र नयाँ नयाँ गन्तव्य समेत थप गर्ने भाराथनले जानकारी दिए ।

जजिराले भैरहवास्थित नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि व्यवसायीक उडान शुरु गरेको हो ।

हाल जजिराले सोमबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन भैरहवाबाट राति २ः३० बजे उडान गरिरहेको छ । जजिराले आज बुधबार विहान २ः३० बजे मात्रै १३० जना यात्रु बोकेर कुवेत पुगेको छ ।

सोसाइटी इन्टरनेशनलका अध्यक्ष सिंह रातिको समयमा उडान गर्दा यात्रुलाई केही असहज भएकाले उडान समय परिवर्तन गर्ने विषयमा कम्पनीले सोचिरहेको बताए ।


क्लिकमान्डु