भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा आकर्षण, कसरी होला दिगो ?



सरकारी निकायको सामान्य प्रयास र अग्रसरताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशको मुहार फर्न सक्ने आयोजना बन्न सक्छ ।

काठमाडौं । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलन्यास गर्दा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

त्यसबखत ठूलो आकारको अन्तर्राष्ट्रिय विमानस्थल भन्दा भारतका विभिन्न सहरमा उडान गर्ने गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना अनुसार भैरहवा विमानस्थल बिस्तारको काम शुरु गरिएको थियो ।

तर, भैरहवालाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नीति सरकारले लियो । जसले गर्दा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पनि सुविधा सम्पन्न विमानस्थल भैरहवामा बनेको छ ।

पूर्वनिर्धारित मितिभन्दा साढे ४ वर्ष ढिलो गरी भए पनि निर्माण सम्पन्न भएको विमानस्थलको व्यवसायीक सञ्चालन समेत सोमबारबाट शुरु भएको छ ।

एसियाली विकास बैंकको करिब ८ अर्ब रुपैयाँ ऋण लगानीमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थल बिस्तारका लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेर जग्गा अधिग्रहण गरिएको थियो । यस्तै, करिब कार्गाे भवन र अन्य पूर्वाधार विकासमा करिब २ अर्ब रुपैयाँ खर्च भईसकेको छ ।

हालसम्म करिब ३३ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले आर्थिक लाभ कहिलेबाट दिन्छ यकिन छैन । जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्दै भैरहवालाई हब बनाएर उडान गर्न वायुसेवा कम्पनी आग्रह गरेका छन् ।

निजी वायुसेवा कम्पनीलाई नयाँ विमानस्थलबाट उडान गर्न आग्रह गरेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भने विमानस्थलमा स्वागत गर्ने वातावरण बनाउन सकेनन् ।

बुद्ध पूर्णीमाको अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरियो । त्यसैदिन लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने भैरहवामा नभई हेलिकोप्टरबाट सिधै लुम्बिनी पुगे । प्रधानमन्त्री मोदीलाई भैरहवामा ल्याउन सकेको भए ७५ वर्षपछि नेपालले सञ्चालनमा ल्याएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रचारप्रसार हुन सक्ने थियो ।

सोमबार कुवेतको जजिरा एयरवेजले कुवेतबाट भैरहवासम्मको व्यवसायीक उडान शुरु गरेका छ । सोमबार बिहान ६२ यात्रुलाई भैरहवा ल्याएर आएको जजिराले १३६ जना यात्रुलाई कुवेत लगेको छ ।

भैरहवा कुवेतको उडान अवधी ४ घण्टा ३० मिनेटको छ । हाललाई जजिरा एयरवेजले सोमबार, बुधबार र शुक्रबार भैरहवाबाट उडान गर्न लागेको छ । यात्रुको संख्या बढ्दै जाँदा जजिराले भैरहवाबाट नियमित उडान समेत गर्न सक्छ ।

काठमाडौंबाट भन्दा भैरहवाबाट कुवेत जान सस्तो
कतार एयरवेजले कुवेत काठमाडौंको भाडा ५५० अमेरिकी डलरदेखि १ हजार डलरसम्म लिने गर्छ । यस्तै, कुवेत एयरवेज, इमिरेट्सको फ्लाई दुबईको भाडादर पनि कतारको जस्तै छ ।

मंगलबार कतार एयरवेजको वेवसाइटमा बुधबारका लागि काठमाडौं कुवेतको भाडादर ५७१.५ अमेरिकी डलर तोकिएको थियो । तर, भैरहवाबाट जजिरा एयरवेजले २४०.५ अमेरिकी डलरमा कुवेत लैजान्छ ।

काठमाडौंबाट कुवेत जानु भैरहवाभन्दा दोब्बर महंगो छ । जसले गर्दा भैरहवा विमानस्थल व्यवसायीक रुपमा सफल हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्दप्रसाद दाहाल बताउँछन् ।

काठमाडौंबाट कुवेत जाँदा मात्रै होइन कुवेतबाट काठमाडौं आउँदा समेत भैरहवा आउनुभन्दा महंगो छ । कतार एयरवेजमा कुवेतबाट काठमाडौं आउँदा बुधवारको भाडा २७७.५ अमेरिकी डलर छ । यता, जजिरा एयरवेजबाट भैरहवा आउने भाडा भने १८६.४४ अमेरिकी डलर छ ।

भैरहवाबाट कुवेत जाने र आउने भाडा सस्तो भएपछि बिहीबार कुवेतबाट भैरहवा हुने उडानको सम्पूर्ण टिकट र शुक्रबार बिहान भैरहवाबाट कुवेत हुने उडानको सम्पूर्ण टिकट बिक्री भइसकेको जजिरा एयरवेजको वेवसाइटमा उल्लेख छ ।

नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटमा जजिरा एयरवेजको विमान भैरहवा विमानस्थलमा अवतरण गर्छ । उक्त विमान राति २ः३० मा भैरहवामा कुवेतका लागि प्रस्थान गर्छ ।

अन्य वायुसेवा कम्पनी मात्रै होइन्, जजिरा एयरवेजको पनि काठमाडौं कुवेत र कुवेत काठमाडौं सेक्टरको भाडादर करिब १० हजार रुपैयाँ सस्तो छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ वर्षसम्म भैरहवामा उडान गर्ने वायुसेवा कम्पनीलाई ल्याण्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा शुल्कमा छुट दिएकाले टिकटको मूल्य सस्तो भएको हो ।

कुनै पनि विमानस्थलमा विमान अवतरण गर्दा निश्चित शुल्क बुझाउनु पर्छ । वायुसेवा कम्पनीलाई एयर ट्राफिक सेवा, सुरक्षा सेवा दिएवापत पनि विमानस्थल कार्यालयले शुल्क लिने गर्छ ।

एयरबस ३२० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा ७५० देखि ८०० अमेरिकी डलर ल्याण्डिङ, नेभिगेसन र सुरक्षा शुल्क लाग्ने विमानस्थलको राजस्व शाखाका शशी प्रधान बताउँछन् ।

प्रधानका अनुसार २ घण्टा बढी समय विमानस्थलमा विमान पार्किङ गर्दा ६ घण्टासम्मको ८४ डलर पार्किङ शुल्क समेत लाग्ने गर्छ ।

सरकारले यी सबै शुल्कका छुट दिँदा वायुसेवा कम्पनीले सस्तो मूल्यमा टिकट बिक्री गरेर यात्रुलाई आकर्षित गर्न सकेको गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक दाहाल बताउँछन् ।

‘नयाँ विमानस्थलमा वायुसेवा कम्पनी र यात्रुलाई आकर्षित गर्न केही छुट त दिनै पर्छ ,’ दाहालले भने, ‘पछिल्लो समय कैयौं वायुसेवा कम्पनीले भैरहवाबाट उडान गर्ने चासो देखाउनु भएको छ ।’

सरकारले केही विषयमा सहजीकरण गरे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेसर कम गर्न भैरहवाले महत्वपूर्ण योगदान दिने महाप्रबन्धक दाहालको भनाइ छ ।

‘हामीले तत्कालका लागि भैरहवाबाट खाडीका विभिन्न देशमा सिधा उडान गर्ने योजना बनाएका छौं,’ दाहालले भने, ‘त्यसका लागि सरकारले भैरहवाबाटै श्रम स्विकृती हुने, रुपन्देहीका नागरिकको मात्रै नभई देशभरका नागरिकको पासपोर्ट भैरहवाबाट बन्न सक्ने व्यवस्था गर्नु पर्छ ।’

भैरहवामा पासपोर्ट बन्ने र सहजै श्रम स्वीकृती मिल्ने व्यवस्था हुँदा वैदेशिक रोजगार व्यवसायी समेत भैरहवा पुग्ने दाहालको विश्वास छ ।

हब बन्दै भैरहवा
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु भएपछि स्वदेशी वायुसेवा कम्पनीले भैरहवालाई देशका विभिन्न सहरसँग जोड्ने क्रम पनि शुरु गरेको महाप्रबन्धक दाहाल बताउँछन् ।

‘केही समयभित्र देशका सबै प्रमुख गन्तव्यमा भैरहवाबाट उडान हुन्छ,’ दाहालले भने, ‘बुध्द एयर, सौर्य एयरले चासो देखाएका छन् ।’

हाल भैरहवामा बुध्द एयरले पोखरा र भरतपुर नियमित उडान गर्दै आएको छ । यस्तै सौर्य एयरले समेत भैरहवा–विराटनगरको परीक्षण उडान गरिसकेको छ ।

आगामी दिनमा बुध्द एयरले धनगढी, नेपालगञ्ज र जनकपुरलाई समेत भैरहवासँग जोड्ने योजना बनाएको छ ।

‘विदेशबाट भैरहवा पुगेर आफ्नो घर जाँदा फेरि काठमाडौं पुग्नुपर्ने अवस्था भयो भने मात्रै यात्रुको छनोटमा भैरहवा नपर्ने हो,’ महाप्रबन्धक दाहालले भने, ‘भैरहवाबाट नेपालका प्रमुख सहरको उडान शुरु हुँदा भैरहवामा अन्तर्राष्ट्रिय उडान बढ्ने हाम्रो अपेक्षा छ ।’

महाप्रबन्धक दाहाल आगामी असोजसम्म भैरहवाबाट दैनिक १० वटा अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम भएको बताउँछन् ।

भारतीय बजारको समस्या
सोमबार जजिरा एयरवेजको विमानबाट भैरहवामा अवतरण गर्ने व्यक्तिमा भारतीय नागरिक समेत रहेका थिए । तर, स्थलमार्गबाट भैरहवा पुग्ने उत्तरप्रदेश र विहारका भारतीय नागरिक भैरहवाबाट तेस्रो देश जान पाउने छैनन् ।

भारतीय राजदुतावास अध्यागमन विभागलाई पत्र लेख्दै नेपालको विमानस्थलबाट भारत यात्रा गर्ने नागरिकलाई आधार कार्डका आधारमा यात्रा गर्ने अनुमति नदिन आग्रह गरेको छ । नागरिकता, भोटर आईडी वा पासपोर्टका आधारमा मात्रै नेपालको विमानस्थलबाट भारतीय नागरिकले यात्रा गर्न पाउँछन् ।

स्थलमार्गमा नेपाल प्रवेश गरेर विमानबाट तेस्रो देश जाने भारतीय नागरिकलाई काठमाडौंस्थित भारतीय राजदुतावासको नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक हुन्छ । जसले गर्दा भैरहवाबाट भारतीय नागरिकलाई तेस्रो देश जान कठिन हुने विमानस्थलका महाप्रबन्धक दाहाल बताउँछन् ।

‘नेपाल सरकारले कुटनीतिक माध्यमबाट संवाद गरेर नेपालका विमानस्थलबाट भारतीय नागरिकले सहजै यात्रा गर्न सक्ने व्यवस्था गर्नुपर्छ,’ दाहालले भने, ‘सहजै एनओसी दिने व्यवस्था गर्न सकिए भैरहवाबाट उत्तर प्रदेश र बिहारका कैयौँ नागरिकलाई सेवा दिन सकिन्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही स्थलमार्गबाट नेपाल आएर तेस्रो देश जाने भारतीय नागरिकले एनओसी बुझाउनु पर्ने प्रचलन निकै पुरानो भएको बताउँछन् ।

‘आतंकवाद र लागु औषध नियन्त्रण सम्बन्धी नेपाल र भारतको सम्झौता अनुसार स्थलमार्गबाट यात्रा गर्ने यात्रुलाई केही कडाइ गरिएको हो,’ शाही भन्छन्, ‘दुई देशको सहमतिमा यसमा सहजीकरण गर्न सकिन्छ ।’


शरद ओझा