अपडेटः भरतपुरमा रेनु दाहालले एमालेका विजय सुवेदीसँगको मतान्तर घटाइन्



चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका लागि कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर घटाउन थालेकी छन् ।

माओवादी अध्यक्ष प्रचण्डकी छोरी समेत रहेकी दाहालले ५० को मत अन्तरलाई घटाएर ३७ मा झार्न सफल भएकी छन् ।

पछिल्लो अपडेट अनुसार एमालेका सुवेदीले ४१ सय ८१ मत ल्याएका छन् भने माओवादीकी रेनुले ४१ सय ४४ मत ल्याएकी छन् । उनीहरुबीचको मतान्तर ३७ मा झरेको छ ।

यसअघिको अपडेटमा सुवेदीले रेनुको भन्दा ५० मत बढी ल्याएका थिए । ६ वटा महानगरमध्ये भरतपुरमा सुवेदी र दाहालबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १७ सय ५३ मत प्राप्त गरेका छन् । पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका कारण रेनुलाई निकै कठिन देखिएको छ ।

भरतपुरमा एमालेले राप्रपासँग गठबन्धन गरेको छ ।

उपमेयरमा भने कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४८ सय २८ मत प्राप्त गरेका छन् । एमाले राप्रपा गठबन्धनकमा तर्फबाट उपमेयरको उम्मेदवार रहेकी राप्रपाकी हिमला गुरुङले ३२ सय ८७ मत प्राप्त गरेकी छन् ।

स्वतन्त्र उम्मेदवार पवित्रा जोशीले जम्मा ३७ मत प्राप्त गरेकी छन् ।

यसअघिको निर्वाचनमा पनि रेनुले हार्ने भएपछि माओवादी कार्यकर्ताले मतपत्र च्यात्ने र चपाउने कार्य गरेका थिए । दोस्रो पटक भएको निर्वाचनमा मात्रै रेनुले जितेकी थिइन् । यो पटक पनि माओवादीबाट मतगणना जोगाउन सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

अघिल्लो चुनावमा मतगणनामा बसेका रेणुका प्रतिनिधिले मतपत्र च्यात्ने र चपाउने गरेका कारण यो चुनावमा गणनास्थलमा दलका प्रतिनिधिलाई प्रवेश दिइएको छैन । तारजालीले बलियोसँग बारेको बारभित्र कर्मचारीहरुले मत गन्छन् । तारजाली बाहिर बसेका दलका प्रतिनिधिलाई देखाउँछन् ।

रेनु माओवादी अध्यक्ष प्रचण्डकी छोरी समेत हुन् । मौन अवधिमा समेत प्रचण्डले चितवनमै बसेर निर्वाचन आचार संहिताविपरित रेनुको पक्षमा भोट मागेका थिए ।

त्यतिमात्रै होइन, रेनुलाई गठबन्धनका तर्फबाट भोट माग्नका लागि गरिएको आमसभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकैअघि कांग्रेसीहरुले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जानसक्ने खतरा रहेको भन्दै मतदातालाई धम्क्याएका थिए ।


क्लिकमान्डु