जीवन बीमा कम्पनीलाई अध्यक्ष सिलवालले भने- ‘पुँजी पुर्याउन नसक्नेहरु मर्जरमा जानू’



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले तोकिएको समयमा नै पुँजी वृद्धि गर्नु पर्ने बताएका छन्

बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मर्जर वा प्राप्तिमार्फत् पुँजी वृद्धि गर्नेतर्फ कम्पनीहरूले ध्यान दिनुपर्ने बताएका हुन् ।

‘बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पूँजी बढाउनुपर्यो । नसक्नेले आफू जस्तै अरूसँग मर्जरमा जानुपर्यो,’ अध्यक्ष सिलवालले भने, ‘पँुजी वृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।’

लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्तीमार्फत पुँजी वद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने अध्यक्ष सिलवालले बताए ।

उनले पुँजी वृद्धिका लागि हकप्रद सेयरलाई प्राथमिकतामा नराख्न समेत आग्रह गरेका छन् ।

‘बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्यो,’ उनले थपे, ‘सूचना प्रविधिमैत्री हुनुप¥यो । शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्यो । दाबी भुक्तानी समयमै हुनुपर्यो । लगानीको प्रतिफल पनि बढ्नु पर्यो ।’

समितिले बीमा कम्पनीहरूको चुक्ता पँुजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उनले बताए । कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नैपर्ने उनको भनाइ छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पँुजी वृद्धिका लागि थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताए ।

कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेशकुमार लाल र जीवन बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।


क्लिकमान्डु