सक्नेले पुँजी पुर्याउनु, नसक्ने मर्जरमा जानूः समिति अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले तोकिएको समयमा नै पुँजी वृद्धि गर्नु पर्ने बताएका छन् ।
बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मर्जर वा प्राप्तीमार्फत पुँजी वृद्धि गर्नेतर्फ कम्पनीहरूले ध्यान दिनुपर्ने बताएका हुन् ।
‘बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पूँजी बढाउनुपर्यो । नसक्नेले आफू जस्तै अरूसँग मर्जरमा जानुपर्यो,’ अध्यक्ष सिलवालले भने, ‘पँुजी वृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ।’
लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्तीमार्फत पुँजी वद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने अध्यक्ष सिलवालले बताए ।
उनले पुँजी वृद्धिका लागि हकप्रद सेयरलाई प्राथमिकतामा नराख्न समेत आग्रह गरेका छन् ।
‘बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्यो,’ उनले थपे, ‘सूचना प्रविधिमैत्री हुनुप¥यो । शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुपर्यो । दाबी भुक्तानी समयमै हुनुप¥यो । लगानीको प्रतिफल पनि बढ्नु पर्यो ।’
समितिले बीमा कम्पनीहरूको चुक्ता पँुजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उनले बताए । कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नैपर्ने उनको भनाइ छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पुँजी वृद्धिका लागि थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताए ।