बेलवास-बेथरी सडकलाई राजमार्गमा जोड्न माग



बुटवल । बुटवल-१३ का मतदाताले बेलवास–बेथरी सडकखण्डलाई बेलवासको झोलुङगेपुलसम्म जोड्न माग गरेका छन् ।

पर्यटन मार्गको रूपमा निर्माणाधीन वेलवास–वेथरी सडकखण्डको नामसँग वेलवास जोडिए पनि सडक नहरपुरसम्म मात्रै विस्तार भएकाले त्यसलाई पूर्वपश्चिम राजमार्गको बेलवास झोलुङ्गेपुल चोकसम्म जोड्न उनीहरुले आग्रह गरेका हुन् ।

स्थानीय तह निर्वाचन प्रचारका लागि घरदैलो कार्यक्रममा पुगेका एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईसमक्ष स्थानीयवासीले बेलवास-वेथरी पर्यटन सडक निर्माण सम्पन्न हुने चरणमा रहेकाले यसलाई नहरपुरचोकबाट विस्तार गरेर राजमार्गसम्म ल्याउन माग गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुटवल, ऐतिहासिक नुवाकोटगढी, पाल्पा हुँदै पोखरा जाने यात्रुका लागि समेत यो सडक छरितो हुने भएकाले यसलाई छिटो राजमार्गसँग जोड्न उनीहरुले माग गरेका हुन् ।

उनीहरूले वडाका सबै टोलमा खुला व्यायामशाला निर्माण गर्न, पाणिनी उद्यानका लागि यथेष्ट बजेट विनियोजन गर्न, विपन्न परिवारका कम्तीमा एक जना सदस्यका लागि रोजगारीको व्यवस्था गर्न माग गरे ।

यसैगरी सामाजिक सुरक्षा भत्ता कार्यक्रम अत्यन्तै प्रभावकारी रहेकाले यसलाई अझ व्यवस्थित गर्न उनीहरुले माग गरेका छन् ।

वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाउन, उनीहरूको मनोरञ्जनका लागि खुला मनोरञ्जन क्षेत्र बनाउनसमेत मतदाताले आग्रह गरे ।

उनीहरुले टोलटोलमा सामूहिक लगानीमार्फत् सामूहिक आम्दानी हुने खालका कार्यक्रम ल्याउन उम्मेदवार भट्टराईसमक्ष आग्रहसमेत गरेका छन् ।

मतदाताका मागलाई सम्बोधन गर्दै उम्मेदवार भट्टराईले स्थानीयवासीले उठाएका मुद्दा आफूहरुले घोषणापत्रमा लिपिबद्ध गरेर सार्वजनिक गरेको भन्दै आम मतदाताका चाहनासँग आफ्नो घोषणापत्र मेल खाएकामा खुसी व्यक्त गरे ।

बेलवास–बेथरी सडकखण्डलाई राजमार्गसँग जोड्ने विषय छिट्टै सम्बोधन हुने उनले बताए ।

घरदैलो कार्यक्रममा एमालेका तर्फबाट उपप्रमुख पदका उम्मेदवार सावित्रा अर्यालले नगरवासीको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

बुटवल १३ बाट वडाध्यक्ष पदका उम्मेदवार शोभाखर पोखरेलले सुशासनलाई धयानमा राखेर इमान्दारिताका साथ वडावासीको चाहना पूरा गर्ने काममा लाग्ने प्रतिबद्धता जनाए ।


क्लिकमान्डु