इसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त



काठमाडौं । इसेवा प्रा.लि.को अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष कुवँरले नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक अनुभव सगालेका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज ( हाल स्टाण्डर्ड चाटर्ड ) बैंक लिमिटेडबाट बैंकिङ्ग करियर सुरु गरेका थिए । त्यसपछि उनले नेपाल बैंक र सिटिजन्स् बैंक इन्टरनेशनलमा काम गरेका थिए । पछि बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

सन् २०२० को जुलाईमा ग्लोबल आइएमई बैंंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिएका उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिम सम्बन्धी तालिम प्रदान गर्दै आएका छन् ।

इसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त अध्यक्ष कुवँरले डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको बताए । डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा आफुलाई निकै खुशी लागेको बताए ।


क्लिकमान्डु