वर्षमा ८ हजार थान खपत हुने मोटरसाइकल आयात रोक्दा सरकारलाई कति फाइदा होला ?



काठमाडौं । उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले आयातमा कडाइ गर्दै लगेको छ । हालसम्म सरकारले विभिन्न ४८ वटा वस्तुको आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाइसकेको छ ।

केही दिनअघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० वटा वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइसकेको छ । जसमध्ये सरकारले २५० सीसी क्षमताभन्दा माथिको मोटरसाइकल आयात पनि रोकेको छ ।

पछिल्ला तीन वर्षयता दोब्बरले बढेको यस्ता मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएसँगै वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी बचत हुने सरकारको अनुमान छ ।

तर यस्ता मोटरसाइकलको हिस्सा निकै कम भएकाले पूर्णप्रतिबन्धको कुनै औचित्य नभएको नेपाल अटोमोबाइल एशोसिएसनका महासचिव सुरेन्द्र कुमार उप्रेतीको भनाइ छ ।

‘२५० सीसीभन्दा माथिको मूल्यका मोटरसाइकल कम आयात हुन्छ । सो मोटसाइकल आयातमा रोक लगाए सरकारलाई कुनै फाइदा छैन,’ उनले भने ।

विशेषगरी दैनिक प्रयोग गर्नेभन्दा बढी घुमफिर गर्न चाहने व्यक्तिहरूले प्रयोग गर्ने हुँदा यस्ता मोटरसाइकलको हिस्सा कम भएको उनको भनाइ छ ।

उनका अनुसार विशेषगरी यस्ता मोटरसाइकलको प्रयोग पर्यटकहरूले बढी प्रयोग गर्छउन् । त्यसबाहेक केही सौखिनहरु पनि यसका उपभोक्ता छन् । क्षमता अनुसार मूल्य पनि बढी हुने भएकाले माग अनुसार मात्रै आयात भइरहेको उनको भनाइ छ ।

काभिडकै समयमा करिब तेब्बरले बढ्यो आयात
कोभिड महामारी शुरु हुनुभन्दा अघिसम्म वार्षिक ३ हजारको हाराहारीमा रहेको यस्ता मोटरसाइकलको आयात त्यसपछि भने ह्वात्तै बढेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ३ हजार ६६७ वटा मोटरसाइकल आयात हुँदा ५९ करोड रुपैयाँ र आव २०७५/७६ मा ३ हजार १५५ वटा मोटरसाइकल आयात हुँदा ५४ करोड रुपैयाँ विदेश गएको देखिन्छ ।

तर आर्थिक वर्ष २०७७/७८ मा ८ हजार १२८ वटा मोटरसाइकल आयात हुँदा १ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ बाहिरिएको थियो । साथै चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६ हजार ३१३ वटा २५० सीसी क्षमताभन्दा माथिमा मोटरसाइकल आयात भएका छन् । जसबाट १ अर्ब १४ करोड ४० लाख रुपैयाँ नेपाल बाहिर गएको छ ।

यस्ता छन् आयात हुने २५० सीसीभन्दा माथिका मोटरसाइकल
नेपालमा २५० सीसीभन्दा माथिका मोटरसाइकलको संख्या निकै कम भए पनि पछिल्लो समय भने बढ्दो क्रममा रहेको देखिन्छ ।

नेपालमा एक दर्जनभन्दा बढी ब्राण्डका २५० सीसीभन्दा माथिका मोटरसाइकल खरिद बिक्री हुँदै आएका छन् ।

जसमा यामाहा एफटू र एफजेटएस, सुजुकी जिक्सर एसएफ, बेनेली टीएनटी, होन्डा सीआरएफ र होन्डा सीबीआर छन् ।

त्यस्तै, क्रसफायर जीआरसेभेन, सीएफ मोटो, केटीएम ड्यूक, इटालजेट बुकानरलगायत अन्य ब्रान्डमा मोटरसाइकल आयात तथा बिक्री हुँदै आएको छ ।

बजारमा उक्त ब्रान्डको मोटरसाइकलको मूल्य साढे ४ लाखदेखि करिब १३ लाख रुपैयाँसम्म मूल्य कायम गरिएको छ ।


अरिष्मा मोक्तान