३७ प्रतिशत नेपालीमा पुग्यो जीवन बीमा



काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झण्डै ५ दशक भयो । तर, लामो समयसम्म यसको दायरा बढ्न भने सकेको थिएन ।

तर, पछिल्ला ४/५ वर्ष यता भने बीमाको व्यवसायसँगै पहुँच पनि बढेको तथ्यांकले पुष्टि गर्छ ।

५ वर्षअघि बीमाको पहुँच ७ प्रतिशत नेपालीमा मात्र पुगेको समितिको तथ्यांक छ । तर, अहिले ३७.३४ प्रतिशत नेपालीमा जीवन बीमा पुगेको छ ।

नेपालमा १ वर्षमै जीवन बीमाको पहुँच १०.१४ प्रतिशत विन्दुले बढेको हो । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार चैत मसान्तसम्म ३७.३४ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । गत आवको चैत मसान्तसम्म २६.७८ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो ।

यो पहुँच म्यादी, लघु म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमासहितको तथ्यांक हो ।

गत आवको चैतमसान्तसम्म ७९ लाख ५१ हजार ४६७ जना नेपाली बीमाको दायरामा थिए । चालू आवको चैत मसान्तसम्म आईपुग्दा त्यो संख्या १ करोड १२ लाख ४४ हजार ७५४ पुगेको छ ।

बीमाको पहुँचसम्बन्धी यो तथ्यांक सरकारले लिएको लक्ष्यभन्दा बढी हो । सरकारले चालू आवको असार मसान्तभित्र ३३.३३ प्रतिशत नेपालीमा जीवन बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको थियो ।

तर, पुस मसान्तभित्र नै बीमाको पहुँच ३५ प्रतिशत नेपालीमा पुगेको थियो ।

बीमा समितिले उपलब्ध गराएको चैत मसान्तसम्मको तथ्यांकअनुसार सरकारले लिएको लक्ष्य भन्दा बढी जनसंख्यामा बीमाको पहुँच पुगेको हो ।

समितिले केन्द्रीय तथ्यांक विभागले गरेको नेपालको अनुमानित जनसंख्याका आधारमा बीमालेखलाई गणना गरी बीमा पहुँच गणना गर्ने गर्छ ।

जीवन बीमा कम्पनीहरुले जारी गरेको कुल बीमालेखको संख्यामा पाँच प्रतिशत घटाएर समितिले बीमामा पहुँचको मूल्याङ्कन गर्छ ।

एउटै व्यक्तिले एकभन्दा बढीको संख्यामा पनि जीवन बीमालेख खरिद गर्छन् ।

बीमालेख दोहोरिने सम्भावना भएकाले समितिले कुल जारी बीमालेखमा पाँच प्रतिशत बीमालेख घटाएर बीमामा आएको जनसंख्या गणना समितिको भनाइ छ ।

जुन अभ्यास अन्र्तराष्ट्रिय अभ्यास नै हो ।

सोही बमोजिम समितिले कुल बीमालेखमा ५ प्रतिशत घटाएर बीमाको पहुँच गणना गरिने समितिको भनाइ छ ।

समितिका अनुसार पछिल्लो समय म्यादी बीमा गर्नेको संख्या बढ्दो छ । म्यादी बीमा अन्र्तगत ४३ लाख १४ हजार ७२१ वटा बीमालेख सक्रिय रहेको समितिको तथ्यांक छ । जुन कुल जीवन बीमालेखको ३६.५९ प्रतिशत हो ।

पछिल्लो समय म्यादी बीमालेखमा आकर्षण बढेपछि दायरा विस्तारमा थप सहयोग पुगेको बीमा समितिको भनाइ छ ।

अघिल्ला वर्षहरूमा सामूहिक बीमालेखलाई एउटा व्यक्तिको रूपमा गणना गरिन्थ्यो ।

तर, त्यसमा २ वा २ भन्दा बढी बीमितहरू आबद्ध भएका हुन्थे । जुन बीमाको पहुँच गणना गर्दा समावेश हुँदैनन् थिए ।

अथवा, यस भन्दा अघि भने सामूहिक रूपमा खरिद गरिएको म्यादी बीमालेखलाई एउटा बीमालेख भनेर गणन गरिन्थ्यो ।

यस वर्षदेखि भने सामूहिक बीमालेखमा आबद्ध भएका सबै बीमितलाई नै समावेश गरेर गणना गरिएको समितिको भनाइ छ ।

समितिका अनुसार म्यादी बीमालेख खरिद गरेको समूहमा जति बीमित छन्, तीनिहरूलाई छुट्टाछुटै बीमित मानिन्छ ।

त्यसकारण पनि जीवन बीमाको पहुँच बढेको समितिको दावी छ ।

नेपालमा बीमा कम्पनीको संख्या ४१ पुगेको छ । नेपालमा १९ जीवन बीमा कम्पनीले जीवन बीमा व्यवसाय गर्दै आएका छन् ।

समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/२०७३ मा जीवन बीमाको दायरामा आएको जनसंख्या १० प्रतिशत मात्रै थियो ।

आव २०७३/७४ मा आइपुग्दा ११ प्रतिशतमा जीवन बीमा पुग्यो । २०७४/७५ मा आईपुग्दा बीमाको दायरा अझै बढ्दै गयो ।

सो आर्थिक वर्षमा १४ प्रतिशतमा जीवन बीमा पुग्यो । आव २०७५/७६ मा १७ प्रतिशत, २०७६/७७ मा आइपुग्दा २२ प्रतिशत नेपालीमा जीवन बीमा पुग्यो ।

यस्तै, गत आर्थिक वर्ष २०७७/७८ मा २५ प्रतिशतमा जीवन बीमा पुगेको थियो ।


क्लिकमान्डु