पुँजी वृद्धिबारे बीमा कम्पनीका सञ्चालक र लगानीकर्तासँग छलफल गर्दै बीमा समिति



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूले बुझाएका पुँजी वृद्धिको कार्ययोजनामा छलफल गर्ने भएको छ ।

समितिले सबै बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी र कार्यकारी प्रमुखको सहभागितामा छलफल गर्ने भएको हो ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनीबाट १ जना प्रतिनिधि र कार्यकारी प्रमुखसँग समितिले (भोलि) बैशाख १५ गते छलफल गर्ने भएको हो ।

पुँजी वृद्धिका लागि बीमा कम्पनीहरूले योजना पेश गरेपछि समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै छलफलमा सहभागिता जनाउन निर्देशन दिएको हो ।

छलफल ३ः३० बजेदेखि शुरू हुने समितिले जानकारी दिएको छ ।

समितिले बोलाएको छलफलमा कम्पनी सञ्चालक समितिका अध्यक्षसहित मुख्य संस्थापक सेयरधनीबाट एक जना प्रतिनिधि र कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेतको सहभागिता हुनेछ ।

समितिको निर्देशन अनुसार सबै बीमा कम्पनीहरूले पुँजी वृद्धिको योजना पेश गरिसकेका छन् ।

समितिका अनुसार योजना पेश गरेका कम्पनीमध्ये अधिकांश कम्पनीले हकप्रद र बोनस सेयरमार्फत् पुँजी वृद्धि गर्ने योजना अघि सारेका छन् ।

तर, बीमा समिति भने कम्पनीको संख्या घटाउने पक्षमा छ ।

बीमा कम्पनीको संख्या घटाउन समितिले मर्जरको बाटो रोजिने बताएको छ ।

कम्पनीहरूबाट प्राप्त भएका पुँजी वृद्धिका योजनालाई थप अध्ययन गरिने समितिले बताएको छ ।

कम्पनीहरूले पेश गरेका पुँजी वृद्धिको योजनामा थप अध्ययन गरेर मात्रै हकप्रद, बोनस सेयर वा मर्जरमार्फत पुँजी वृद्धि गरिने भन्ने निर्णयमा पुगिने समितिको भनाइ छ ।

सोही विषयमा छलफल गर्न लागिएको समितिले जानकारी दिएको छ ।

समितिले गत चैत १० गते एक महिनाभित्र बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो ।

समितिले जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको छ ।

सो पुँजी कम्पनीहरूले आगामी चैत मसान्तसम्ममा पुरयाईसक्नु पर्नेछ ।


क्लिकमान्डु