६६ वर्षमा १७ गभर्नर, के गर्दैछन् पूर्वगभर्नरहरु ?



काठमाडौं । तराईमा नेपाली रुपैयाँको प्रचलन र भारुको सहटी दरको स्थिरताको उद्देश्यले राजा महेन्द्रले २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना गर्दा पहिलो गभर्नरका रुपमा हिमालय शमशेर राणा थिए ।

अर्थसचिवका रुपमा ४ वर्ष ८ महिनाको कार्यकाल पूरा गरेपछि राणालाई महेन्द्रले नै नेपाल राष्ट्र बैंकको ऐन बनाउनेदेखि कार्यालय स्थापनाको जिम्मेवारी दिएका थिए ।

हिमालय शमशेर राणा २०१३ वैशाख १४ गते राष्ट्र बैंकको पहिलो गभर्नर बनेपछिका ६६ वर्षमा १७ जना गभर्नर भइसकेका छन् । गभर्नरको कार्यकाल ५ वर्षको हुने भनेर प्रथम गभर्नर हिमालय शमशेरले ऐन लेख्दै गर्दा गरेको व्यवस्था अनुसार सबैको हकमा कार्यान्वयन भने हुन सकेन् ।

गभर्नर राणा आफै पनि प्रजातन्त्रमा विश्वास राखेकै कारण राजा महेन्द्रबाट बर्खास्तीमा परेका व्यक्ति हुन् ।

नेपाल राष्ट्र बैंकले ६७औं वार्षिकोत्सव मनाउने अवधिसम्म १७ गभर्नर भइसकेका छन् ।

वर्तमान गभर्नर महाप्रसाद अधिकारी पनि सरकारको शिकार बनिसकेका छन् । सरकारले निलम्बन गरेर जाँचबुझ समिति गठन गरी कारबाही गरिसकेको अवस्था अधिकारीले त्यसविरुद्धको अल्पकालीन उपचार सर्वोच्च अदालतबाट पाइसकेका छन् । यद्यपि मुद्दाको अन्तिम टुंगा लाग्ने भने केही समय अवश्य लाग्नेछ ।

विश्वभर केन्द्रीय बैंकलाई स्वायत्ता संस्था मानिन्छ । नेपालमा पनि केन्द्रीय बैंकलाई स्वायत्त संस्था नै मानिएको छ । यति हुँदा हुँदै पनि राष्ट्र बैंकमा गभर्नरको पद समय समयमा अस्थिर भएको पाइन्छ । जसको पछिल्लो उदाहरण महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारबाहीलाई लिन सकिन्छ । विश्वको इतिहास हेर्दा अमेरिकामा एलन ग्रिनस्पानले सन् १९८७ देखि २००६ सम्ममा लगातार ५ वटा कार्यकाल पूरा गरेका थिए ।

नेपाल राष्ट्र बैंकमा राणापछि दोस्रो गभर्नरका रुपमा लक्ष्मीनाथ गौतम आए । उनले ४ वर्षभन्दा बढीसमय गभर्नरका रुपमा राष्ट्र बैंकमा बिताए । तेस्रो गभर्नरका रुपमा प्रद्युम्नलाल राजभण्डारी र चौथो गभर्नर डा. भेखबहादुर थापाको कार्याकालको कार्यकाल करिब १ वर्षको मात्रै भयो ।

त्यसपछिका गभर्नरहरु डा. यादवप्रसाद पन्त, कुल शेखर शर्मा, कल्याण बिक्रम अधिकारी, गणेशबहादुर थापा, हरिशंकर त्रिपाठी, सत्येन्द्र प्यारा श्रेष्ठको कार्यकाल पनि पूर्ण रह्यो ।

त्यसपछिका ११औं गभर्नर डा. तिलक रावलको कार्यकाल सन् २००० जनवरी १८ देखि २००५ जनवरी १७ सम्म रह्यो । यद्यपि यसबीचमा दीपेन्द्र पुरुष ढकाल सन् २००० अगष्ट २९ तारिखदेखि २००१ अप्रिल २७ सम्म गभर्नर बने । रावललाई पदमा छँदै भ्रष्टाचारको मुद्दा लागेपछि ढकाल गभर्नरमा नियुक्त बनेका थिए । तर डा. रावलको मुद्दाको किनारा लागेपछि पुनर्वहाली गरिएको थियो ।

सन् २००५ जनवरी ३१ मा गभर्नर बनेका विजयनाथ भट्टराईको कार्यकाल सन् २०१० जनवरी ३० मा सकियो । तर यसबीचमा दीपेन्द्रबहादुर क्षेत्रीले सन् २००९ जनवरी १५ देखि २००९ जुलाई २६ सम्म गभर्नरको कार्यभार सम्हाले । भट्टराईलाई भ्रष्टाचार गरेको आरोप लागेपछि सरकारले बर्खास्त गरेको थियो । तर छानिबिनपछि सफाइ पाए र फेरि गभर्नरमै रहे ।

त्यसपछि बनेका डा. युवराज खतिवडा, डा. चिरञ्जीवि नेपालले पनि ५ वर्षको कार्यकाल पूरा गरेरै विदा भएका थिए । हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल २ वर्ष पूरा भइसकेको छ । अब उनको कार्यकाल पूर्ण हुन्छ वा हुँदैन भन्ने अदालतबाट मुद्दाको टुंगो लागेपछि नै थाहा हुनेछ ।

केन्द्रीय बैंकको गभर्नर नोटमा हस्ताक्षर गर्ने मात्रै होइन, मौद्रिक नीति बनाउने र कार्यान्वयन गर्नेदेखि सरकारको प्रमुख आर्थिक सल्लाहकार पनि हो । केन्द्रीय बैंकले सरकारलाई सल्लाह दिने र सरकारले पनि लिनुपर्ने कानूनी व्यवस्था छ ।

राष्ट्र बैंकमा गभर्नर भएका १७ जनामध्ये कसैले कार्यकालको अवधिमै विभिन्न मुद्दा खेप्नु परेको छ भने कतिपय बर्खास्ती वा निलम्बनमा समेत परेका छन् । भ्रष्टाचारको मुद्दा समेत खेप्नु परेको इतिहास छ ।

पूर्वगभर्नरहरु कहाँ छन् ?
डा. चिरञ्जीवी नेपाल
डा. चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैंकका १६ औँ गभर्नर हुन् । डा. नेपाल गभर्नर हुनुअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार थिए । त्यसभन्दा अघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष समेत भएका थिए ।

डा. नेपाल अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार समेत भइसकेका छन् । अहिले भने उनी पाल्पा जिल्लामा राजनीति गर्ने तर्फ लागेका छन् । उनी पाल्पा जिल्लाको क्षेत्र नम्बर २ का बासिन्दा हुन् ।

डा. युवराज खतिवडा
डा.खतिवडा राष्ट्र बैंकका १५ औं गभर्नर हुन् । उनी २०६६ चैत ९ गतेबाट २०७१ साल चैत ५ गतेसम्म राष्ट्र बैंकको गभर्नर बने ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा डा. युवराज खतिवडा अर्थमन्त्री भएका थिए । उनी मन्त्रीहुँदा धेरै नै आलोचना भयो ।

डा. खतिवडा मन्त्री हुनुभन्दा पहिला राष्ट्र बैंकका गभर्नर भएका थिए । त्यसअघि उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत थिए ।

डा. खतिवडासँग कोलम्बो यूएनडीपी रिजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीको रुपमा तीन वर्ष काम गरेको अनुभव छ ।

डा. खतिवडा पनि राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् । उनले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख भएर काम गरेका थिए । उनी राष्ट्र बैंकबाट अवकास लिएर केन्द्रीय बैंकको गभर्नर हुने व्यक्तिमा पर्छन् । उनी नेकपा एमालेसँग नजिक मानिन्छ तर पार्टीले कुनै पनि भूमिकामा छैनन् । पार्टीका वित्तीय नीति तथा वित्तीय क्षेत्रमा सल्लाहकारको भूमिकामा छन् उनी ।

दीपेन्द्र बहादुर क्षेत्री
नेपाल राष्ट्र बैंकका १४औँ गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीलाई धेरैले स्वतन्त्र बामपन्थी बुद्धिजीवीको रुपमा चिन्छन् । उनी योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

क्षेत्री गभर्नरको रुपमा थोरै समयमात्रै काम गर्ने गभर्नरको रुपमा पर्दछन् । उनले २०६५ माघ २ गतेबाट नियुक्त भएर २०६६ साउन ११ गतेसम्म मात्रै काम गरे । हाल क्षेत्रीलाई सबैले अर्थविद्को रुपमा समेच चिन्ने गरेका छन् ।

डा. भेषबहादुर थापा
डा. भेषबहादुर थापा नेपाल राष्ट्र बैंकका चौथो गभर्नर हुन् । उनी डा. थापाले २०२३ देखी २०२४ सम्म गभर्नरका रुपमा काम गरे ।

पूर्वगभर्नरमात्रै नभएर पूर्व ाजदूतसमेत बनेका हुन् । थापा अमेरिकाका लागि नेपाली राजदूतका रुपमा दुई कार्यकाल र भारतका लागि नेपाली राजदूतको रुपमा एक कार्यकाल पूरा गरेका छन् ।

डा. थापा राजदूत, गभर्नर मात्रै नभएर निजामती कर्मचारी पनि हुन् । अर्थसचिव सहित डा. थापा अर्थराज्य मन्त्रीहुँदै अर्थमन्त्री तथा परराष्ट्र मन्त्री समेत बने । थापालाई धेरैले सफल कुटनीतिज्ञको रुपमा पनि हेर्ने गरिन्छ ।

डा. यादवप्रसाद पन्त
नेपाल राष्ट्र बैंकका पाँचौ गभर्नर हुन डा. यादव प्रसाद पन्त । उनको देहान्त भइसकेको छ ।

पन्त २०२५ बैशाख २ गतेदेखि २०३० बैशाख ६ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहे । उनी गभर्नर मात्रै नभएर जापानका लागि नेपाली राजदूत बने । त्यस्तै अर्थमन्त्री, वाणिज्य तथा जलस्रोत मन्त्री बनेका थिए ।

सत्येन्द्रप्यारा श्रेष्ठ
सत्येन्द्र प्यारा श्रेष्ठ राष्ट्र बैंकको १० औं गभर्नर हुन् । उनी २०५१ माघ ४ गतेबाट २०५६ सम्म राष्ट बैंकको गभर्नर बने । उनी नबिल बैंकको अध्यक्ष समेत भएका थिए ।


क्लिकमान्डु