सबै बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना, हकप्रद र बोनस सेयर पहिलो रोजाइ



काठमाडौं । सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुले बीमा समिति समक्ष पुँजी वृद्धि योजना पेश गरेका छन् । समितिले दिएको वैशाख १० गतेभित्रको डेडलाइनभित्र योजना पेश नगर्ने बाँकी १४ वटा कम्पनीले वैशाख १३ गते योजना पेश गरेका हुन् ।

योजना पेश गर्न बाँकी रहेका कम्पनीमा राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, यूनियन लाइफ, ज्योति लाइफ, रिलायबल नेपाल लाइफ र प्रभु लाइफ इन्स्योरेन्स थिए ।

त्यसैगरी निर्धारित समयमा निर्जीवन बीमा कम्पनीहरू ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, हिमालयन जनरल, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले पेश गरेका थिएनन् ।

बीमा समितिको सञ्चालक समितिको बैठकले बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता साढे दुई अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

समितिकाअनुसार बीमा कम्पनीहरुले सो पुँजी २०७९ साल चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्ने छ । तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ ।

सो अवधिमा पुँजी वृद्धि गर्न अधिकांश कम्पनीहरूले हकप्रद र बोनस सेयरको बाटो रोजेका छन् । समितिका अनुसार योजना पेस गरेका कम्पनीमध्ये अधिकांश कम्पनीले हकप्रद र बोनस सेयरमार्फत् पुँजी वृद्धि गर्ने योजना अघि सारेका छन् ।

तर, समिति भने बीमा कम्पनीहरूको संख्या घटाउने रणनीतिमा छ । बीमा कम्पनीको संख्या घटाउन समितिले मर्जरको बाटो रोजिने बताएको छ ।

कम्पनीहरूबाट प्राप्त भएका पुँजी वृद्धिका योजनालाई थप अध्ययन गरिने समितिले बताएको छ । कम्पनीहरूले पेश गरेका पुँजी वृद्धिको योजनामा थप अध्ययन गरेर मात्रै हकप्रद, बोनस सेयर वा मर्जरमार्फत पुँजी वृद्धि गरिने भन्ने निर्णयमा पुगिने समितिको भनाइ छ ।


क्लिकमान्डु