नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियानबीच सम्झौता



काठमाडौं । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी)सँग सहकार्य गर्ने भएको छ ।

नबिल बैंकको तर्फबाट नायब महाप्रबन्धक आदर्श बजगाईं र (पिआईएससी नेपाल) का कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवर्द्धन गर्न उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमी लगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार प्रस्तुत गरेका थिए ।

उत्कृष्ट अवधारणा पिआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ ।कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरुलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले युवा उद्यमशीलता मार्फत आर्थिक बृद्धि तथा दिगो विकाशका लक्ष्यहरु हासिल गर्नुपर्ने बताए ।

बैंकमा दिगो बैंकिङ्ग सम्बन्धी छुट्टै विभागले यस सम्बन्धमा काम गर्दै आइरहेको उनको भनाइ छ । नबिल दिगो बैंकिङले उद्यमशीलता सम्बन्धी तालिम तथा वित्तीय साक्षरता सम्बन्धी काम गर्दै आउनुका साथै महिला, किसान र युवाहरूका लागि नबिल किसान कर्जा र उद्यमशील कर्जा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक प्रवीण खनालले राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्वपूर्ण रहेकोमा जोड दिए ।


क्लिकमान्डु