लघुवित्तले बढाए लघु बीमा, १ महिनामा जारी भए ३१ लाख बीमालेख



काठमाडौं । पछिल्लो समय लघु जीवन बीमा गर्नेको संख्या बढ्दै गएको छ । जीवन बीमा कम्पनीहरूको अन्य बीमा योजनाको तुलनामा लघु जीवन बीमालेखको संख्या बढी देखिन्छ ।

बीमा समितिको मासिक तथ्यांकलाई हेर्दा प्रत्येक महिना जीवन बीमा कम्पनीहरुमा जारी हुने लघु जीवन बीमालेखको संख्या बढ्दै गएको देखिन्छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांक हेर्दा जीवन बीमा कम्पनीहरूमा एक करोड ११ लाख ७९ हजार ७२८ वटा पोलिसी जारी भएका छन् ।

जीवन बीमा कम्पनीहरूमा ५२ लाख २३ हजार वटा लघु जीवन बीमालेख जारी भएका छन् । जुन कुल बीमालेखको ४६.८५ प्रतिशत हुन आउँछ ।

माघ महिनाको तुलनामा फागुनमा जीवन बीमा कम्पनीहरूमा लघु जीवन बीमालेखको संख्यामा १४५.१५ प्रतिशतको वृद्धि देखिएको छ । अर्थात् एक महिनामा नै जीवन बीमा कम्पनीहरूमा ३१ लाख १ हजार १०९ वटा लघु जीवन बीमालेख जारी भएका हुन् ।

चालु आवको माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरूमा एक करोड १० लाख ८६ हजार ६८९ वटा कुल बीमालेख भएका थिए । यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरूमा २१ लाख ३६ हजार ५४५ वटा लघु जीवन बीमालेख जारी भएका थिए ।

उक्त अवधिमा कुल जीवन बीमालेखको १९.२७ प्रतिशत हुन आउथ्यो ।

यस्तै, चालु आवको मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमा १ करोड १० लाख ४१ हजार ८८ वटा कुल बीमालेख जारी हुँदा १२ लाख १९ हजार १२५ वटा मात्रै लघु जीवन बीमालेख जारी भएको समितिको तथ्यांक छ ।

लघुवित्त संस्थाले आफ्ना सदस्यहरूका लागि कर्जासँग आबद्ध गरी लघु बीमा सेवा प्रदान गर्ने गरेका छन् ।

लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरूलाई लघु कर्जा प्रदान गर्दा विभिन्न प्रकृतिका बीमालेख विक्री गर्ने नीति लिइएको पाइन्छ । त्यस्तै, लघु कर्जाको अनिवार्यरूपमा लघु बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

लघुवित्तको सहभागिताले लघु जीवन बीमाको संख्या बढ्दै गएको बीमकहरूको भनाइ छ । उनीहरूका अनुसार लघुवित्तले आफ्ना सदस्यलाई सुविधाको लागि र ऋणको सुरक्षणका लागि बीमा गरिदिने हुनाले लघु जीवन बीमाको संख्या बढ्दै गएको हो ।

लघुवित्तहरूले आफ्ना सदस्यहरूलाई बिना धितो ऋण दिएका हुन्छन् । ती ऋणीहरूले दुर्घटनाका कारणले ज्यान गुमाए भने लघुवित्तहरूलाई कर्जा उठाउन गाह्रो हुन्छ । जसले गर्दा लघुवित्त कम्पनीहरूले बीमालाई अनिवार्य गरेका छन् ।

बीमकहरूका अनुसार लघुवित्त कम्पनीहरूका सदस्यले सो लघुवित्तबाट ऋण लिँदा अनिवार्य रूपमा बीमा गरिने हुँदा जीवन बीमा कम्पनीमा लघु जीवन बीमालेखको संख्या बढ्दै गएको हो ।

लघुवित्तबाट जति पनि सदस्यहरूले ऋण लिन्छन् उनीहरू सबैको बीमा हुने जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ बताउँछन् । जसले गर्दा जीवन बीमा कम्पनीरूमा लघु जीवन बीमालेखको संख्या बढ्दै गएको उनको भनाइ छ ।

हुन त जीवन बीमा कम्पनीहरूले अन्य लघु बीमालेख पनि जारी गरेका हुन्छन् । तर, लघुवित्त वित्तीय संस्थाकै सहभागिताले लघु जीवन बीमालेखको संख्या बढ्दै गएको कम्पनीहरू बताउँछन् ।

‘माइक्रो फाइनान्सबाट ऋण लिनेको संख्या हजारौँ हुन्छ । उनीहरूको बीमा पनि जोडिएको हुन्छ,’ श्रेष्ठले क्लिमाण्डूसँग भने, ‘जसले गर्दा लघु जीवन बीमालेखको संख्या बढ्दै गएको छ ।’

गाउँ गाउँमा साना पसल गर्नेहरूका लागि, न्यून आय भएकाहरूका लागि यस्तो खालको बीमा योजनाले फाइदा पुग्ने उनको भनाइ छ ।

लघुवित्तबाट ऋण लिँदा बीमा पनि जोडिएको हुँदा यस बीमालेखको संख्या बढ्दै गएको महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश पोखरेलले बताए ।

लघुवित्तरूले आफ्ना ऋणीहरूको र सदस्यहरूको बीमा गरिदिने भएका कारणले लघु जीवन बीमालेखको संख्या बढ्दै गएको उनले बताए ।

‘लघुवित्त वित्तीय संस्थाहरूले सदस्यहरू र ऋणीहरु दुवैको बीमा गरिदिन्छन् । ऋणको सुरक्षाका लागि र सदस्यहरूलाई सुविधा दिने हिसावले पनि बीमा गरिदिन्छन्,’ उनले क्लिमाण्डूसँग भने, ‘सहकारीहरूमा पनि बिनाधितो ऋण दिने गरिन्छ । त्यो लोनको सुरक्षाका लागि पनि सहकारीहरूले बीमा गर्ने गर्छन् ।’

लघुवित्तहरुले ऋणी र सदस्यहरुको बीमा गरिदिँदा क्रमशः मानिसहरूमा बीमाप्रति आकर्षण बढ्दै जाने उनको बुझाइ छ ।
लघु जीवन बीमाको अवधि सामान्यतया एकदेखि २ वर्ष अवधिको हुन्छ । तर, ऋणको अवधि जति समयसम्मका लागि हुन्छ त्यति नै अवधिको लागि लघु जीवन बीमाको अवधि हुने बीमकहरूको भनाइ छ ।

बीमा समितिले लघु बीमा व्यवसायको विकास, प्रबर्द्धन तथा व्यवस्थापन गरी बीमामार्फत् न्यून आय वर्गको जीवन तथा सम्पत्ति सुरक्षाका लागि लघु बीमा निर्देशिका गरेको थियो ।

लघु बीमालेख बिक्री गर्दा कम्पनीहरूको सञ्चालन खर्च अधिक हुने भएपछि कम्पनीहरूले पुल निर्माण गरी लघु बीमा योजना बिक्री गर्दै आएका छन् ।

बीमक संघको व्यवस्थापन, विदेशी सहयोगी संस्था सक्षमको प्राविधिक सहयोग र बीमा समितिको नेतृत्वमा लघु बीमा पुलको निर्माण गरिएको छ ।

यसमा लघुवित्त संस्थाले बीमा अभिकर्ताका रूपमा काम गर्नेछन् । जसबापत लघुवित्तले १५ प्रतिशत कमिसन र १० प्रतिशत व्यवस्थापन खर्च पाउनेछन् ।

समितिले लघु बीमा निर्देशिका संशोधन गर्दै ५ लाख रुपैयाँसम्मको लघु बीमा पोलिसी बिक्री गर्न पाउने व्यवस्था गरेकको छ ।
समितिले गरेको नयाँ व्यवस्थाअनुसार ३ लाख रुपैयाँसम्मको जीवन लघुबिमा (सावधिक, म्यादी, अन्य) गर्न सकिन्छ ।

नेपालमा बीमाको पहुँच बिस्तार गर्नमा लघु बीमाले ठुलो योगदान पुर्याउने विज्ञहरूको भनाइ छ । लघुवित्तसँगै लघु बीमालाई लैजान सके गरिबहरुको स्तर झन वृद्धि हुने उनीहरूको भनाइ छ ।

हाल ६७ वटा लघुवित्तका देशभर ५६ लाख सदस्य छन् । तीमध्ये ती लघुवित्तबाट ऋण लिने ऋणीको संख्या ३२ लाख छ ।


क्लिकमान्डु