८० हजार बीमा अभिकर्ताले गरे लाइसेन्स नवीकरण



काठमाडौं । करीब ८० हजार बीमा अभिकर्ताहरूले अनलाइन माध्यमबाट आफ्नो लाइसेन्स नवीकरण गरेका छन् ।

बीमा समितिबाट इजाजतपत्र (लाइसेन्स) लिएका साढे २ लाख अभिकर्ताहरूमध्ये हालसम्ममा करीब ८० हजार जनाले लाइसेन्स नवीकरण गरेका हुन् ।

बीमा समितिले बीमा अभिकर्ता र बीमा सर्भेयरहरूलाई चैत ८ गतेदेखि अनलाइन माध्यमबाट लाइसेन्स नवीकरण गर्न सक्ने व्यवस्था मिलाएको थियो ।

बीमा समितिले कनेक्टआइपिएसमार्फत् भुक्तानीसहित स्वचालित रुपमा नवीकरण हुने व्यवस्था मिलाएको हो ।

जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र सर्भेयरले कनेक्ट आइपिएसमा गएर आफ्नो विवरण पोष्ट गर्ने वित्तीकै नवीकरण शुल्क भुक्तानी गर्न मिल्ने व्यवस्था छ ।

साथै, शुल्क तिर्ने वित्तीकै ती अभिकर्ताहरूलाई नवीकरण भएको जानकारी प्राप्त हुनेछ ।

हालसम्म करीब ८० हजार जना अभिकर्ताले अनलाइन माध्यमबाट आफ्नो लाइसेन्स नवीकरण गरेको समितिका सहायक निर्देशक श्याम सुन्दर नगरकोटीले जानकारी दिए ।

यस्तै, उनका अनुसार हालसम्म ४०० जना बीमा सर्भेयरले आफ्नो लाइसेन्स नवीकरण गरेका छन् ।

बीमा अभिकर्ता र सर्भेयरले चैत मसान्तभित्रमा अनिवार्यरुपमा लाइसेन्स नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । यदि चैत मसान्त भित्रमा नवीकरण नभएमा वैशाख लागेसँगै विलम्ब शुल्क भुक्तानी गरी आफ्नो लाइसेन्स नवीकरण गर्न पाउने व्यवस्था समितिले गरिदिएको छ ।

अभिकर्ताहरूले चैत मसान्तसम्म आफ्नो लाइसेन्स नवीकरण गर्दा २०० सय रुपैयाँ राजस्व बुझाउनु पर्ने सहायक निर्देशक नगरकोटी बताउँछन् । वैशाखदेखि असार महिनासम्ममा लाइसेन्स नवीकरण गर्ने अभिकर्ताले ३ सय रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्छ ।

अभिकर्ताले २०७९ सालमा काम गर्न २०७८ चैत मसान्तसम्ममा इजाजतपत्र नवीकरण गरिसक्नुपर्छ । थप दस्तुर तिरेर २०७९ असोज मसान्तसम्ममा इजाजतपत्र नवीकरण गर्न सकिने प्रावधान छ ।

असार मसान्तसम्म अभिकर्ताले थप ३ सय रुपैयाँ दस्तुर तिरेर लाइसेन्स नवीकरण गर्न सक्छन् । तर, असारदेखि असोज मसान्तसम्म लाइसेन्स नवीकरण गर्दा भने अभिकर्ताले दिन गन्तिका हिसाबले ५ रुपैयाँ राजस्व थप लाग्ने समितिको भनाइ छ ।

असोज मसान्तसम्ममा पनि लाइसेन्स नवीकरण नगर्ने अभिकर्ताको लाइसेन्स खारेज गरिने बीमा समितिको नभाइ छ ।

बीमा समितिकाअनुासर साढे २ लाख अभिकर्ताले इजाजतपत्र लिएका छन् । यसवर्ष मात्रै १ लाख अभिकर्ता थप भएको बीमा समितिको भनाइ छ ।

समितिबाट इजाजतपत्र लिएका सबै अभिकर्ताले सक्रिय रुपमा व्यवसाय गरेका हुदैनन् । र, सक्रिय नभएका अभिकर्ताहरूले समयमा नै आफ्नो लाइसेन्स नवीकरण नगर्ने बीमा समितिको भनाइ छ ।


क्लिकमान्डु