५ वर्षमा २०% जनसङ्ख्यामा मात्रै पुग्यो स्वास्थ्य बीमा, सबैले गर्दैनन् नविकरण



काठमाडौं । सरकारले स्वास्थ्य बीमा सुरु गरेको ५ वर्षको अवधिमा जम्मा २० प्रतिशत मानिसको पहुँचमा पुगेको छ ।

२०७२ मा कैलाली जिल्लाबाट सञ्चालन भएको स्वास्थ्य बीमा अहिलेसम्म ५३ लाख ४ हजार २७० जनाले मात्र गरेका छन् । अर्थात कूल जनसङ्ख्याको २०।०३ प्रतिशत जनसङ्ख्याले मात्र बीमा गरेका छन् । तीमध्ये २० लाख ८९ हजार ५९९ जना अर्थात (३९।३९ प्रतिशत) ले मात्र बीमा सेवा लिएका छन् । बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका पाइएको छ ।

स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको जानकारहरूको भनाइ छ । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताए ।

अन्य देशको तुलनामा नेपालमा पनि स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाएको भएपनि प्रभावकारी हुन सकेको छैन । तर जापान, कोरियालगायत देशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको बसौलाको भनाइ छ ।

उनले कोरोना भाइरसको कारण बीमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई वर्ष प्रभावकारी रूपमा काम गर्न नसकिएको बताए । उनले स्वास्थ्य बीमा बोर्डलाई सरकारले कानुनी रूपमा स्वायत्त संस्थाको रुपमा परिभाषा गरे पनि व्यावहारिक रूपमा संस्था स्वायत्त हुन नसक्दा काममा समस्या भएको बताए ।

तीन हजार ५०० रुपैयाँको वार्षिक बीमा गरेवापत एक लाख बराबरको स्वास्थ्य उपचार उपलब्ध हुन्छ । बोर्डले ४४१ सरकारी र निजी अस्पतालमासँग बीमा गरेवापतको स्वास्थ्य उपचारका लागि सम्झौता गरेको छ । बोर्डले बीमा कार्यक्रममार्फत अति गरिब, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, क्षयरोगी, अति अशक्त अपाङ्गता भएकालाई सरकारले नै बीमाको रकम उपलब्ध गराउने गरेको छ ।

नेपालमा अहिलेसम्म १५ लाख आठ हजार ५१४ बीमित परिवारले बीमा कार्यक्रममा सहभागी रहेका छन् । अति गरिब परिवारको चार लाख ८८ हजार चार जनाले, ज्येष्ठ नागरिक छ लाख ३४ हजार ७३५, एचआइभी सङ्क्रमित २५ हजार २८९ जना, अति अशक्त अपाङ्गता ९३ हजार ६२९ जना, कुष्ठरोग सङ्क्रमित दुई हजार ८४९, क्षयरोगी दुई हजार ४७४ जनाले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम आठ स्थानीय तहमा अझै लागू हुन सकेको छैन । जिल्लाका ७४५ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिए पनि उपत्यकाका आठ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिएको छैन । बोर्डका शाखा अधिकृत सिर्जना पौडेललका अनुसार काठमाडौँ जिल्लाको काठमाडौँ महानगर, किर्तिपुर, बुढानिलकण्ठ, शङ्खरापुर, नागार्जुन तथा ललितपुर जिल्लाको ललितपुर महानगण्रपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छैन ।

बीमा कार्यक्रमअन्तगर्त बोर्डले अहिलेसम्म १६ अर्ब ७९ करोड ६८ लाख अस्पताललाई भुक्तानी गरिसकेको छ । यो आर्थिक वर्षमा चैत २० गतेसम्म साढे छ अर्ब भुक्तानी गरिएको छ ।


क्लिकमान्डु