आलुमा परनिर्भरता: वर्षमा साढे ७ अर्बको  आलु आयात  



काठमाडौं । हरेकको भान्साको लोकप्रिय तरकारी हो आलु । राम्रो खपत भइरहेको आलु उत्पादन गर्ने क्षमता र सम्भावना नेपालमा धेरै छ । दुर्भाग्य, नेपालमा हरेक महिना अर्बौको आलु आयात भइरहेको छ ।

तरलताको अभाव, वैदेशिक मुद्रा सञ्चितिको ठूलो समस्या भइरहेको बेला आलु जस्ता सयौं सामानहरु अर्बौं रुपैयाँका आयात भइरहेको छन् ।नेपाले एक वर्षमा भारतबाट साढे ७ अर्ब रुपैयाँ बराबरको आलु आयात भएको छ ।

साथै, करोडौँ रुपैयाँको आलु चिप्सको आयात भएको छ ।  भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ३० करोड ७० लाख रुपैयाँको आलु आयात भएको थियो । उक्त तथ्याङ्क हालसम्मकै उच्च हो । 

आयातित आलुबाट नेपालले ६८ करोड १३ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको थियो । चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा मात्रै नेपालमा ६ अर्ब ५४ करोड ५५ लाख रुपैयाँको २६ करोड २४ लाख ५१ हजार केजी आलु आयात भएको छ । उक्त आलुबाट नेपालले ६० करोड ६२ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । 

कृषिप्रधान देश भनिए पछि हरेक वर्ष आलुको आयात वृद्धि उच्च भइरहेको छ । पछिल्लो पाँच वर्षदेखि नेपालमा आलु आयातको ग्राफ बढ्दो छ । नेपालमा हरेक सिजनमा आन्तरिक कृषकहरूले उत्पादन गरेको आलु बजारमा देख्न सकिन्छ । तर, आन्तरिक उत्पादनले बजार धान्न नसक्ने भएपनि उच्च रूपमा आयात हुने गरेको सरोकारवालाहरू बताउँछन् ।

 मुलुकमा हरेक वर्ष आलु आयात उच्चदरले वृद्धि भइरहेको छ । नेपालले आव २०७६/७७ मा ६ अर्ब ३२ करोड ८५ लाख रुपैयाँको २५ करोड २२ लाख ३९ हजार केजी आयात गरेको थियो । आव २०७५/७६ मा ५ अर्ब ८१ करोड १७ लाखको २७ करोड ३९ लाख ८४ हजार केजी र आव २०७४/७५ मा ५ अर्ब ७४ करोड २४ लाख रुपैयाँको ३५ करोड ५४ लाख ४१ हजार केजी आलु आयात गरेको थियो । उक्त आलु नेपालले भारत र बंगलादेशबाट आयात गर्दै आएको छ । 

५ वर्षमा २ करोड बढीको आलुको बिउ आयात

नेपालले खानाका लागि मात्रै नभएर उत्पादनका लागि आवश्यक आलुको बिउ पनि उच्च रूपमा आयात गरेको विभागको तथ्याङ्कले उल्लेख गर्छ । नेपालले ५ वर्षको अवधिमा मात्रै २ करोड रुपैयाँ बढीको आलुको बिउ आयात गरेको छ ।

नेपालले आव २०७४/७५ देखि चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २ करोड १८ लाख ८३ हजार केजी आलुको बिउ आयात गरेको छ । नेपालले आव २०७४/७५ मा १ करोडको आलुको बिउ आयात गरेको थियो भने आव २०७५/७६ मा ७४ लाख ५९ हजारको, आव २०७६/७७ मा २ लाख ८१ हजार, आव २०७७/७८ मा २७ लाखको र चालु आवको फागुन मसान्तसम्ममा १३ लाख ४० हजारको आलुको बिउ मात्रै आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । 

वार्षिक साढे १ अर्बको आलुको चिप्स आयात आलु

आलुको बिउसँगै आलुको चिप्स ‘फ्रेन्चफ्राई’ पनि उच्च रूपमा आयात भइरहेको छ । वार्षिक रूपमा नेपालले आलुको चिप्स मात्रै करिब साढे १ अर्बको आयात गरेको तथ्याङ्कले देखाउँछ ।  गत वर्षमात्रै नेपालले १ अर्ब ४६ करोड १४ लाख रुपैयाँको ५ करोड ७६ लाख ८९ हजार केजी आलु चिप्स आयात गरेको थियो ।

 त्यस्तै, चालु आवको ८ महिनाको अवधिमा मात्रै नेपालले २६ करोड ७२ लाखको आलु चिप्स आयात गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालले १ अर्ब ९६ करोड ३९ लाखको ७ करोड ९७ लाख ५७ हजार केजी, आव २०७५/७६ मा  १ अर्ब ५० करोड ५१ लाखको ७ करोड २८ लाख ८८ हजार केजी र आव २०७४/७५ मा ६० करोड ३२ लाख रुपैयाँको २ करोड ९० लाख ६२ हजार केजी आलुको चिप्स आयात गरेको तथ्याङ्कले उल्लेख गर्दछ । नेपालले सम्पूर्ण आलुको चिप्स भारतबाट आयात गर्दै आएको छ । 


अरिष्मा मोक्तान