म्यानको नेतृत्वको लागि नबिल र लक्ष्मी बैंकका अध्यक्षबीच प्यानल बनाएर चुनावी प्रतिस्पर्धा
काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को नेतृत्वको लागि नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल र लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालबीच प्रतिस्पर्धा हुने छ । म्यानको नयाँ नेतृत्वको लागि शनिबार निर्वाचन हुने छ ।
म्यानमा सदस्यहरुले कार्यसमितिको चयन गर्ने र कार्यसमितिले पदाधिकारी चयन गर्ने छ । अहिलेका अध्यक्ष किरण श्रेष्ठले अर्को कार्यकालको लागि उठ्ने इच्छा व्यक्त नगरेपछि म्यानमा प्यानल बनाएर प्रतिस्पर्धा हुने भएको हो । म्यानमा विगतमा चुनावी प्रतिस्पर्धा हुने गरेपनि प्यानल भने बन्ने गरेको थिएन ।
उपेन्द्रको प्यानलबाट मोहन ओझा, प्रद्युम्न पोखरेल,कृष्णप्रसाद शर्मा, आशा राणा अधिकारी, मनोजकुमार लाल कर्ण, शशि सत्याल छन् । यस्तै अश्मी राणा, हिमाकुमारी अधिकारी, मिलन गुरुङ र जीवनकुमार कटुवाल पौडेलको प्यानलमा रहेका छन् ।
यसैगरी रमणको मिलन गुरुङ, डा. नरेन्द्र श्रेष्ठ, इन्द्रकुमार श्रेष्ठ, आङछिरिङ शेर्पा, सुरेन्द्र थापा, मनिष झा, सुजन आचार्य र अनु जोशी रहेका छन् ।
म्यानको अध्यक्षको दावेदार रहेका पौडेल ३० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका हुन् । नेपाल अहिले नागरिक लगानी कोषको प्रमुख छन् । उनी राष्ट्र बैंकबाट अवकास पाएपछि नागरिक लगानी कोषमा कार्यकारी निर्देशक बनेका हुन् ।