टेलिकममा एमडी नियुक्त गर्दा बिचौलियाको चलखेल बढ्योः वर्कर्स युनियन



काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियनले टेलिकममा बिना प्रतिस्पर्धा प्रबन्ध निर्देशक (एमडी) नियुक्त गर्दा बिचौलियाको चलखेल बढेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

यूनियनले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । सरकार परिवर्तन भएसँगै प्रबन्ध निर्देशकसमेत परिवर्तन भइरहने प्रवृत्तिको अन्त्य गर्दै २०७१ असोज १० गतेको निर्देशिका पालना गर्न आग्रह गरेको छ ।

कम्पनीलाई व्यावसायिक रुपमा अघि बढाउन व्यवस्थापन, क्रियाशील युनियनहरु र मन्त्रालयबीच असोज १० गते सहमति भई ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका-२०७२’ जारी भई सोही निर्देशिका बमोजिम कम्पनीमा दूरसञ्चार क्षेत्रमा लामो समय सेवा गरी अनुभव र विज्ञता हासिल गरेको व्यक्ति नै नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति हुँदै आएको यूनियनले स्मरण गराएको छ ।

सरकारले मंसिर २२ गते प्रकाशित सूचनामा एमडीका लागि दरखास्त माग गरेको र पुन चैत १७ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सूचनामा प्रकाशित नामावली हेर्दा मिलिभगतका साथ नेपाली जनताको नासो र सम्पत्तिमाथि धावा बोल्न खोजेको प्रष्ठ भएको यूनियनको दाबी छ ।

जारी विज्ञप्तिमा टेलिकमको प्रबन्ध निर्देशक कुनै शक्ति केन्द्रको निर्देशन वा प्रभावमा नपरी कम्पनीमा लामो समय सेवा गरेर दूरसञ्चार क्षेत्रमा विशेषज्ञता हासिल गर्दै संस्थाको विकास र विस्तारमा संलग्न रही हरेक प्रकारका समस्या समाधान गर्न सक्ने व्यक्ति हुनुपर्ने उल्लेख छ । साथै सोही अनुरुप प्रवन्ध निर्देशक नियुक्ति गर्न पनि माग गरेको छ ।


क्लिकमान्डु