सेयर बजारमा विभिन्न समस्या छन्, समाधान गर्न नयाँ नेतृत्व पठाएको छुः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारमा विभिन्न खालका समस्या रहेको भन्दै त्यस्ता समस्या समाधान गर्न, बजारको गुणात्मक विकास तथा विस्तार गर्न धितोपत्र बोर्डमा नयाँ नेतृत्व पठाएको बताएका छन् ।

मन्त्री शर्माले नियामकमा देखिएको समस्या समाधान गर्नका लागि नियामक निकायका प्रमुखलाई निर्देशन दिएको स्मरण गराए । धितोपत्र बोर्डले आयोजना गरेको ग्लोबल मनी विक–२०२२ कार्यक्रमको समापनमा उक्त कुरा बताएका हुन् ।

यसका लागि अर्थ मन्त्रालयले पर्याप्त मात्रामा सहजीकरण गर्ने प्रतिबद्दता समेत व्यक्त गरे । उनले हालको नयाँ नेतृत्वले नयाँ प्रतिबद्दता सहित नयाँ संरचना तथा योजनासहित बजारको विकास तथा विस्तारका लागि कार्य गर्नुपर्ने र नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री एवं आधुनिक बनाउनुका साथै बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा विकास गर्न सम्बद्ध सबै पक्षलाई निर्देशन समेत दिए । मन्त्री शर्माले वित्तीय साक्षरताको लागि गरिने यस्ता कार्यक्रमले लगानीको सुरक्षा तथा वित्तीय क्षेत्रको जानकारी हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा उनले वित्त परिचालन गर्ने संस्थाहरूले यस्तो कार्यक्रम तल्लो जनसमूदायमा समेत लाभान्वित हुनेगरी दूरदराजसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । पछिल्लो समय धितोपत्र बजारको आकार र यसमा सर्वसाधारणको उल्लेख्य सहभागिता बढ्दै गएका कारण धितोपत्र बजारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान रहेको बताउँदै यस क्षेत्रको बारेमा सर्वसाधारणलाई बुझाउन आवश्यक रहेको बताए ।

वित्तीय अज्ञानताका कारण विविध खालका समस्या उत्पन्न हुने र आरोप प्रत्यारोपहरू लाग्ने हुँदा सर्वसाधारणलाई बुद्दिमतापूर्वक निर्णय लिन सक्षम बनाउन साक्षरता सम्बन्धी कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा बोर्डका अध्यक्ष रमेश कुमार हमालले वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रममा उल्लेख्य सहभागिता रहेको उल्लेख छ । उनले बोर्डलाई लगानीकर्ताको हक हित संरक्षण, बजारको विकास तथा विस्तारको लागि थप हौसला मिलेको बताए ।


क्लिकमान्डु